शुक्रबार, माघ १०, २०८२ | January 23, 2026

गद्यकविता

गद्यकविता

  • Naveen Sanchar

  • बिहिबार, माघ ९, २०८२

  • 87
    Views
गद्यकविता

गद्यकविता

कविता : जागरण

नाराले होइन, निश्चल मौनताले देश थाकेको छ
चिच्याइ रहेका ओठ बीच
सोचको जिब्रो काटिएको छ।
हामी मान्छेको भिडमा छौं तर असल नागरिक हुन सिकेनौँ
झण्डा बोक्यौँ काँधमा जिम्मेवारी कहिल्यै बोक्न सकेनौ
हो
नेतृत्व ऐना हो त्यसमा देखिने अनुहार
हाम्रो नै हो ।
फर्केर हेर्ने साहस हामीसँग छ
तर
मतपत्रमा औँठाछाप
हामीले होइन, हाम्रो अन्ध निष्ठाले छाप्छ
त्यसैले शासन अपाङ्ग भएर जन्मियो, नीति धरमर हुँदै हिड्यो।
संसद् शब्दले बजारको भाउ खोज्यो
जहाँ विचार सस्तोमा बिक्यो
ताली बज्यो व्यङ्ग्यलाई
सत्य ठहरै मर्यो
प्रशासनको कुर्सीमा योग्यता ढलेको छ
झण्डा कुर्सीमा बसेको छ
संस्था ढल्दा पनि हामीले ताली बजाएकै छौँ
युवाको सपना पासपोर्टमा हिमनदि भएर जमिरहेछ
देशभित्र बाँकी रह्यो भाषणको धुवाँ र भोलिको आश्वासन मात्र।
इतिहासले प्रश्न गर्छ: तँ कहाँ थिइस् जब भविष्य निर्णय माग्दै थियो?
यो प्रश्नको जवाफ छैन हामीसँग
मत कागजी दस्तावेज मात्र होइन
समयसँग गरिएको करार हो
विवेक बिनाको छाप आफ्नै भविष्यमा लाग्ने अभिशाप हो
न उमेर दोषी हो न नाम न अनुहार
दोष सोचको हो
जसले चेतनालाई आरामको कम्बलले छोपि सकेको छ ।
जाग, अब नागरिक हुन सिकन अन्ध भक्त र भेडा भएर होइन
प्रश्न गर छान सहि मानव
जसले निकास दिन सकोस् उत्तरदायी बन यहीँ लोकतन्त्रको बीज हो।
जहाँ विवेक जाग्छ त्यही राष्ट्र उठ्छ
जहाँ मौन डर बन्छ, त्यहा इतिहास रुन्छ।
आजको क्षण सानो छैन
यो युगले खोजेको परिवर्तन हो
एक कदम सचेत भयौँ भने भोलि सम्भावनाको बाटो खुल्छ ।

प्रेम घिमिरे
पेन्सलभेनिया ,अमेरिका । Prem Ghimire


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha