बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

तिहारमा पटका नपड्काउन आँखा डाक्टरको सल्लाह

तिहारमा पटका नपड्काउन आँखा डाक्टरको सल्लाह

  • Naveen Sanchar

  • आइतवार, कार्तिक २६, २०८०

  • 386
    Views
तिहारमा पटका नपड्काउन आँखा डाक्टरको सल्लाह

-डा तेजसु सिंह मल्ल

तिहार आईसकेको छ । तिहारमा मिठोमिठो खाना खाने, नाचगान गरेर रमाइलो गर्ने र बत्ति बालेर झिलिमिली पार्ने गरिन्छ। केहिले पटका, रकेट, भुईंचम्पा, आलुबम, झिरझिरे, अनार जस्ता आतिसबाजी गर्ने गर्छन्। यो एकदमै खतरनाक हो र यसको प्रयोगले आँखामा चोट लाग्ने अधिक सम्भावना हुन्छ। समयमा उपचार नभए स-सानो चोटले पनि ज्योति गुम्न सक्छ।

प्रत्येक वर्ष विश्वमा ३३-५७ लाख बालबालिकालाई कुनै न कुनै प्रकारले आँखामा चोट लाग्ने गर्छ। साना नानीहरुभन्दा बाबुहरुमा यस्तो घटना अधिकतम हुने गर्छ।

पटका प्रयोग गर्ने मान्छेलाई मात्र नभई हेर्ने वा बाटोमा हिँड्ने मान्छेलाई पनि चोट लाग्न सक्छ। हाम्रो मानसिकतामा ठूला मान्छेहरुको निगरानीमा बच्चाहरुलाई पटका प्रयोग गर्न दिएमा सुरक्षित हुन्छ भने भ्रम छ तर यो सही होइन।

पटकाले आँखाको कन्जक्टिवा, कोर्निया, पर्दा (रेटिना), नशामा चोट लाग्न सक्छ। साथै मोतिबिन्दु, लेन्स सर्ने, प्वाल पर्ने वा आँखाभित्र रगत जम्ने हुन सक्छ। झिरझिरे कम खतरनाक हुने एउटा भ्रम मात्रै हो। यसमा माग्नेसियमको प्रयोग हुनाको कारण यो बल्दा एकदमै तातो हुन्छ। साथै झिरझिरे घुमाउँदा स-साना आगोका झिल्का आँखामा पस्न सक्छ। चश्मा नलाउनुको कारण पनि चोट धेरै हुनसक्छ। पटका बिस्फोट नभएमा फेरि बाल्न खोज्ने, बहादुर देखाउन टिप्न जाने गर्दा चोट लाग्न सक्छ।

आफ्ना छोरा-छोरीको रहर पूरा गर्नको लागि अभिभावकहरुले पटका किनदिनु हुँदैन। साथै कसैले जिद्धि गरेको देखेमा त्यस्तो गर्नु हुँदैन भनेर सम्झाउनु पर्छ। विद्यालयमा पनि पटका पड्काउनु हुँदैन भनेर सिकाउनु पर्छ। साथै पत्र -पत्रिकाहरु मार्फत सन्देश दिनुपर्छ।

 

पटका पड्काउँदा चोट लागेमा के गर्ने?

१) तुरुन्तै विशेषज्ञकहाँ वा आँखा अस्पताल जानुहोस।

२) आँखा नमिच्नुहोस।

३) आफैंले आँखामा गएको पदार्थ हटाउन प्रयास नगर्नूस्।

४) कुनै प्रकारको दबाउने काम नगर्नूस्।

५) आँखामा आफैं कुनै पनि ‍औषधि नराख्नूस्।

६) टाउको सक्दो चलाउनु हुँदैन।

७) सफा कपडाले छोप्नु तर दबाउने काम नगर्नूस्।

८) आत्तिनु पर्दैन भनेर सहानुभूति दिनूस्।

 

(डा. मल्ल नेत्र रोग विशेषज्ञ हुन्।)

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha