बिहिबार, कार्तिक १३, २०८३ | October 29, 2026

धुनिवेशीमा मानवसेवा आश्रमको भवन बनाउन काठमाडौं महानगरले डेढ करोड दिने

धुनिवेशीमा मानवसेवा आश्रमको भवन बनाउन काठमाडौं महानगरले डेढ करोड दिने

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १२, २०८३

  • 11
    Views
धुनिवेशीमा मानवसेवा आश्रमको भवन बनाउन काठमाडौं महानगरले डेढ करोड दिने

करिब २०० सडकआश्रित मानवको उद्धार, उपचार र पुनर्स्थापनाका लागि भवन निर्माण गरिने

नवीनसञ्चार सम्वाददाता

काठमाडौं। धादिङको धुनिवेशी नगरपालिका–३ मा निर्माण हुने मानवसेवा आश्रमको भवनका लागि काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमबीच एक करोड ५० लाख रुपैयाँको सम्झौता भएको छ।

बुधबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा सम्झौता भएको हो।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटअन्तर्गत क्रमसंख्या ६४८ र खर्च संकेत नम्बर २६४१३ मा समावेश ‘सहयोगापेक्षी मानव व्यवस्थापनका लागि मानवसेवा आश्रमलाई घरभाडा, व्यवस्थापन तथा स्क्रिनिङ अनुदान’ कार्यक्रममार्फत उक्त रकम उपलब्ध गराइनेछ। सम्झौताअनुसार मानवसेवा आश्रमले पनि कार्यक्रम सञ्चालनका लागि कम्तीमा २० प्रतिशत लागत सहभागिता व्यहोर्नुपर्नेछ।

धुनिवेशीमा निर्माण हुने भवनमार्फत काठमाडौंका सडक किनारा तथा सार्वजनिक स्थलमा घरबारविहीन अवस्थामा जीवन बिताइरहेका सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पुनर्स्थापनालाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। आश्रमका अनुसार भवनमा काठमाडौं क्षेत्रका करिब २०० जना सडकआश्रित मानवको व्यवस्थापन गर्ने योजना छ।

भवनलाई सामुदायिक स्तरमा मानवता अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट सडकआश्रित मानवको व्यवस्थापनसँगै समाजमा मानवीय सेवाभाव, करुणा र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर: काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीच सम्झौता आदानप्रदान तथा छलफलका मुख्य दृश्यहरू।

काठमाडौं महानगरपालिकाले वि.सं. २०७४ सालदेखि मानवसेवा आश्रमसँगको सहकार्यमा महानगर क्षेत्रका सडकआश्रित मानवको उद्धार तथा व्यवस्थापन गर्दै आएको छ। यही सहकार्यलाई निरन्तरता दिँदै महानगरपालिकाले गत जेठ २६ गते मानवसेवा आश्रमसँगको सहकार्यमा काठमाडौंलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरिसकेको छ।

धुनिवेशीमा आश्रमको भवन निर्माण भएपछि सडकमा आश्रयविहीन अवस्थामा रहेका व्यक्तिको उद्धार, उपचार, संरक्षण तथा पुनर्स्थापनासम्बन्धी सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। साथै, प्रस्तावित मानवता अध्ययन केन्द्रले मानवीय संवेदना र सेवाभावलाई समुदायस्तरमा विस्तार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha