मङ्लबार, कार्तिक ११, २०८३ | October 27, 2026

भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 3
    Views
भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

काठमाडौँ, कात्तिक १० गते । आजकल भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। यस सन्दर्भमा हामीले कन्सल्ट्यान्ट फेमिली फिजिसियन डा. विश्व राज दवाडीसँग कुराकानी गरेका छौँ । प्रस्तु्त छ, उहाँसँगको वार्तालापमा आधारित सामग्री :

परिवर्तनशील मौसम, विशेष गरी जाडोबाट वसन्त वा वर्षातको ऋतुमा प्रवेश गर्दा मौसमी फ्लू (भाइरल ज्वरो) एक सामान्य समस्याको रूपमा देखा पर्ने गर्छ। नेपालमा पनि मौसम फेरिने क्रमसँगै रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याले हरेक घरलाई प्रभावित पार्ने गरेको छ। समयमै सतर्कता अपनाउन सके यसबाट छिटो छुटकारा पाउन सकिन्छ।

​मौसमी फ्लूमा संलग्न मुख्य भाइरस

​मौसमी फ्लू मुख्यतया इन्फ्लुएन्जा भाइरस मुख्यतः टाइप ‘ए’  र ‘बी’ का कारण फैलन्छ। यसबाहेक, राइनोभाइरस र एडिनोभाइरस परिवारका सामान्य भाइरसहरूले पनि यस्तो संक्रमण गराउँछन्। यी भाइरसहरू बिरामीले हाछ्युँ गर्दा वा खोक्दा हावामा फैलिने थोपा  मार्फत वा संक्रमित व्यक्तिले छोएका वस्तुहरू छुँदा स्वस्थ मानिसमा छिटो सर्छन्।

​प्रभावित हुने मुख्य उमेर समूह

​यो संक्रमण जुनसुकै उमेरका मानिसलाई हुन सक्छ तर केही समूह यसबाट बढी जोखिममा हुन्छन् ।

५ वर्षभन्दा कम उमेरका ​बालबालिकामा यसको जोखिम उच्च रहन्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले संक्रमण छिटो हुन्छ।

६५ वर्ष वा सोभन्दा माथिका ​वृद्धवृद्धाको उमेर ढल्किँदै जाँदा रोग प्रतिरोधात्मक घट्ने र  मधुमेह, मुटुरोग, दम जस्ता अन्य दीर्घ रोग हुने हुँदा फ्लूले छिटो गाँज्छ।

​रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति,  गर्भवती महिला र क्यान्सर वा मृगौलाको उपचार गराइरहेका बिरामीलाई यसको जोखिम बढी हुन्छ ।

प्रमुख लक्षण

​भाइरल ज्वरो वा मौसमी फ्लूका लक्षण अचानक देखिन थाल्छन् ।

-​उच्च ज्वरो र शरीरमा काडा उठ्ने , काँप्ने वा जाडो महसुस हुने।

-​टाउको दुख्ने र लगातार थकान वा अल्छीपन महसुस हुने।

​-जोर्नी तथा मांसपेशीहरूमा कडा दुखाइ।

-​सुख्खा खोकी, घाँटी खसखस गर्ने वा दुख्ने।

-​नाक बन्द हुने वा पातलो पानी बग्ने र हाछ्युँ आउने।

​कसैकसैलाई वान्ता हुने वा पखाला लाग्ने समस्या पनि हुन सक्छ।

​बच्ने उपाय

​मौसमी फ्लूबाट जोगिन केही सामान्य तर प्रभावकारी नियम पालना गर्नुपर्छ :

​-बाहिर हिँड्दा वा भिडभाडमा जाँदा मास्कको नियमित प्रयोग गर्ने।

-​साबुनपानीले बारम्बार हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।

-​संक्रमित व्यक्ति वा रुघाखोकी लागेका मानिसबाट सुरक्षित दूरी कायम राख्ने।

​-घरको झ्याल-ढोका खुला राखेर कोठामा ताजा हावा आवतजावत गराउने।

​-रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषिलो खाना, ताजा फलफूल र पर्याप्त मात्रामा पानी पिउने।

घरेलु उपचार 

​सामान्य लक्षण देखिँदा अस्पताल दौडिहाल्नुको सट्टा घरमै बसेर यसो गर्न सकिन्छ :

​आरामः शरीरलाई पूर्ण विश्राम दिनुहोस् ताकि शरीरले भाइरसविरुद्ध लड्ने ऊर्जा पाओस्।

​झोलयुक्त पदार्थः तातो पानी, झोलिलो सुप, र नरिवल पानी प्रशस्त पिउने। यसले शरीरमा पानीको कमी हुन दिँदैन।

​बाफ लिने : तातो पानीले बाफ लिँदा नाक बन्द भएको खुल्छ र घाँटीलाई राहत मिल्छ।

​नुनपानीले कुल्ला गर्नोस्:  मनतातो पानीमा नुन मिसाएर दिनमा २-३ पटक कुल्ला गर्दा घाँटीको खसखस र दुखाइ कम हुन्छ।

​औषधिको प्रयोग

​सामान्य लक्षणका लागि चिकित्सकको प्रेस्क्रिप्सनबिना लिन सकिने  औषधिहरू प्रयोग गर्न सकिन्छ।

​ज्वरो र शरीर दुख्खा प्यारासिटामोल  सुरक्षित मानिन्छ। चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन, किनभने भाइरस विरुद्ध एन्टिबायोटिकले काम गर्दैन।

​रुघा र नाक बन्द भएमा चिकित्सक वा नजिकको फार्मेसीको सल्लाहमा सामान्य  एन्टी एलर्जी औषधि लिन सकिन्छ।

डाक्टरलाई कहिले भेट्ने ?

सामान्यतया मौसमी फ्लू ५ देखि ७ दिनभित्र आफैँ निको हुन्छ। तर निम्न अवस्थाहरू देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ :

– ​ज्वरो १०३ डिग्री फारेनहाइटभन्दा बढी पुगेको र ५-७ दिनसम्म पनि नघटेको।

– ​श्वास फेर्न गाह्रो हुने वा छाती दुख्ने समस्या देखिएमा।

– ​ओठ वा नङ निलो हुन थालेमा।

​- धेरै चक्कर लाग्ने वा बेहोश हुने जस्तो महसुस भएमा।

​मौसम परिवर्तनको यस समयमा सचेत र सावधानी अपनाएर हामी मौसमी फ्लूलगयत अन्य भाइरल संक्रमणबाट सुरक्षित रहन सक्छौँ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha