बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेपाल राष्ट्र बैंक र महासंघबीच समझदारी, आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गरिने

नेपाल राष्ट्र बैंक र महासंघबीच समझदारी, आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गरिने

  • Naveen Sanchar

  • शुक्रबार, कार्तिक १७, २०८०

  • 181
    Views
नेपाल राष्ट्र  बैंक र महासंघबीच समझदारी, आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गरिने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा राष्ट्र बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गर्नुभयो । उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् ।
त्यसको निम्ति महासंघले उद्योगसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ । साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा
विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ ।
महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन/विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन
गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिने बैंकले जनाएको छ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ । त्यसरी उपलब्ध गराइएको तथ्याङ्क र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन÷अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग/व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै गरी, महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोख्रेल तथा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha