शनिबार, मंसिर ६, २०८३ | November 21, 2026

कोलम्बसमा डिसेम्बर ५ मा साहित्यिक समारोह हुँदै, आर.बी. खड्काको ‘फर्केर हेर्दा’ लोकार्पण गरिने

कोलम्बसमा डिसेम्बर ५ मा साहित्यिक समारोह हुँदै, आर.बी. खड्काको ‘फर्केर हेर्दा’ लोकार्पण गरिने

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 210
    Views
कोलम्बसमा डिसेम्बर ५ मा साहित्यिक समारोह हुँदै, आर.बी. खड्काको ‘फर्केर हेर्दा’ लोकार्पण गरिने

सर्जक अगम गुरुङ सम्मानित हुने, १३ जना स्रष्टा तथा कलाकारका कविता र साङ्गीतिक प्रस्तुति रहने

सहयात्री ढकाल
कोलम्बस, ओहायो, नोभेम्बर २०। प्रवासमा नेपाली भाषा, साहित्य, कला र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित साहित्य परिषद् भूटानले अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा ‘कोलम्बस साहित्यिक समारोह–२०२६’ आयोजना गर्ने भएको छ।

आगामी डिसेम्बर ५ मा आयोजना हुने समारोहमा गीतकार  आर.बी. खड्काद्वारा लिखित कृति ‘फर्केर हेर्दा’ को लोकार्पण गरिनेछ भने कला तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएका वरिष्ठ कलाकार अगम गुरुङलाई विशेष सम्मान प्रदान गरिनेछ।

साहित्य परिषद् भूटानको आयोजनामा कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्च र बामा (BAMA) को सहकार्यमा हुन लागेको समारोह १६४ ब्रुकहिल ड्राइभ, कोलम्बस, ओहायो ४३२३० स्थित सभाहलमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार समारोहमा कृति लोकार्पण, स्रष्टा सम्मान, कविता वाचन तथा विविध साङ्गीतिक प्रस्तुतिहरू समावेश गरिएका छन्। यसले प्रवासमा रहेका नेपालीभाषी स्रष्टा, साहित्यकार र कलाकारलाई एउटै मञ्चमा जोड्दै सिर्जनात्मक आदानप्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

समारोहमा शिव दाहाल, तिला आचार्य, अर्जुन रसाइली, लीला निशा, खेम रिजाल, मनोज ढकाल, सुचिता गुरुङ, धर्मेन्द्र टी., नेत्रआचार्य, विष्णु रामदाम, सर्वजित राई, जोशन रामदाम र मदन रसाइलीलगायत १३ जना स्रष्टा तथा कलाकारको प्रस्तुति रहनेछ।

साहित्य परिषद् भूटानका अध्यक्ष खेम रिजाल ‘ऊर्जा’ले समारोहमा साहित्यिक सिर्जना, प्रतिभा र साझा सांस्कृतिक विरासतलाई उत्सवका रूपमा प्रस्तुत गरिने बताएका छन्। उनले कृति लोकार्पण, स्रष्टा सम्मान तथा विविध साहित्यिक र साङ्गीतिक प्रस्तुतिसहितको कार्यक्रममा सहभागी हुन साहित्यप्रेमी तथा सम्पूर्ण समुदायलाई आमन्त्रण गरेका छन्।

प्रवासमा नेपाली भाषा र साहित्यको निरन्तरता, नयाँ पुस्तामा पठन तथा सिर्जनशील संस्कृतिको विकास र समुदायको मौलिक पहिचान संरक्षणका दृष्टिले यस्ता कार्यक्रमको महत्त्व रहेको छ। विशेषगरी भूटानी नेपाली समुदायका स्रष्टाहरूलाई आफ्नो सिर्जना र प्रतिभा प्रस्तुत गर्ने साझा मञ्च उपलब्ध गराउनु समारोहको अर्को महत्त्वपूर्ण पक्ष हो।

साहित्यप्रेमी तथा सर्वसाधारणका लागि खुला रहने समारोहको ध्वनि व्यवस्थापन आर.जे. साउन्डले गर्नेछ। कार्यक्रमसम्बन्धी थप जानकारी साहित्य परिषद् भूटानका आधिकारिक वेबसाइट www.lcob.org र www.bhutaneseliterature.com मा उपलब्ध रहेको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha