शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

निजी आख्यानकी शिखर शिल्पी एलिस मुनरो

निजी आख्यानकी शिखर शिल्पी एलिस मुनरो

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २, २०८१

  • 61
    Views
निजी आख्यानकी शिखर शिल्पी एलिस मुनरो

महेश पौड्याल

२०१३ का लागि साहित्यतर्फको नोबेल पुरस्कारकी विजेता क्यानिडियाली लेखिका एलिस मुनरोको १५ मे २०२४ का दिन ९१ वर्षको उमेरमा निधन भयो । कथासाहित्यमै महारथ प्राप्त मुनरोको अनुपस्थिति दशकौँसम्म खट्खिइरहने छ । हार्दिक श्रद्धाञ्जली यस शताब्दीकी सर्वश्रेष्ठ कथाकारलाई ।
मुनरोले नोबेल पुरस्कार जित्दाको आफ्नै एक रोचक किस्सा छ
“आमा, तपाईले जित्नुभो ।”
बिहान आफ्नो ओछ्यानमा सुतिरहेकी ८२ वर्षीया केनेडियाली कथाकार एलिस मुनरोलाई छोरीले समाचार सुनाउँदा के जितेँछु भन्ने कुराको हेक्कै भएन मुनरोलाई । उसले सोधिन्, “के जितेँछु, छोरी?”
“नोबेल, आम ।”
“लौ, मलाई त सूचीमा मेरो नाउँ छ भन्ने पनि थाह थिएन ।”
केनेडाकै उपन्यासकार सल बेलोले यो पुरस्कार सैंतीस वर्ष अघि पाएपछि नोबेल जित्ने दोस्रो लखक हुँदा क्यानाडाभरि मुनरोको चर्चा चरमचुलीमा पुगिहाल्यो । उनले सिबिसी टेलिभिजनलाई भनिन्, “म त छक्कै परेकी ।” फेरि जब उनले थाह पाइन, उनी यो पुरस्कार जित्ने ११० साहित्यकारहरुमा एक थिइन् र नारीमध्ये तेह्रौ, उनले भनिन्, “कस्तो नराम्रो । हामी त तेह्र जनामात्रै पुगेछौं, अहिलेसम्म ।”
नोबेल पुरस्कार पाउनु अघि नै मुनरो विश्वमा अङ्ग्रेजी साहित्य पढाइने प्रायः विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट हुँदै आइएकी र धेरै पाठकहरुको रोजाइकी लेखिका हुँदै हुन् । नोबेल पुरस्कारले उनको लोकप्रियतालाई एक वैश्विक लालमोहर लगाइदिएको छ । त्यसैले उनी साहित्यिक चर्चाको शिखरमा हुनु सर्वथा प्राकृतिक पनि हो ।
मुनरोको जन्म १० जुलाई १९३१ मा क्यानाडाको ओन्तारियो प्रान्तको विङ्घम भन्ने ठाउँमा भएको थियो । उनकी आमा शिक्षिका थिइन र बुवा पशुपालक थिए । पत्रकारिता र अङ्ग्रेजी साहित्यकी अध्येता मुनरोको अध्ययन १९५१ मा भएको उनको विवाहसँगै टुट्यो । त्यपछि उनीहरूको नयाँ गाउँ ब्रिटिश कोलुम्बियाको भिक्टोरियामा उनीहरूले पुस्तक पसल चलाए, जसले मुनरोमा साहित्यलेखनको उत्कट इच्छा जगाएको अनुमान गर्न सकिन्छ । उनले सानै छँदा द गार्जियनलाई भनेकी थिइन् रे, “किताब त मलाई जादुजस्तै लाग्छन्, र म त्यो जादूमा प्रवेश गर्न चाहन्छु ।”
हुन त मुनरोले लेख्न किशोरावस्थाबाटै शुरु गरेकी हुन्, तर पुस्तकाकारमा उनको कृति डान्स आफ द हेप्पी सेड्स १९६८ मा मात्रै प्रकाशित भयो । त्यस बेला उनी विद्यार्थी नै थिइन् । तर पहिलो कृतिबाट उनले चर्चा बटुल्न सफल भइन् । १९७१ मा उनको दोस्रो कृति उपन्यास लाइभ्स अफ गर्लस एण्ड विमेन छापियो, जसलाई अधिकांश समालोचकहरूले नैतिक शिक्षासँग नजिक भएको टिप्पणी गरे । यस उपन्यासमा एउटा हरफ छ, जसले मुरनोको लेखनको रहस्य उद्घाटित गर्दछ ः “म त्यो अन्तिम यथार्थ चाहान्छु—त्यो भाषा र विचारको अन्तिम परत, कुनै आवरण वा पर्खालमाथि परेको प्रकाशको स्पर्श—जहाँ सानोभन्दा सानो वासना, खाडल, दुस्ख, छिद्र, र विभ्रम जोडिएको हुन्छ—प्रकाशमान, र अनन्त ।”
यसपछि छोटा कथामै आफूलाई समर्पित गर्ने र तिनीहरूमै आफ्नो निजत्व खोज्ने निर्णय गरेकी मुनरोमा कृति छापिने क्रम शुरु भयो, जसपछि आजपर्यन्त उनले पछाडि फर्केर हेर्नु परेको छैन । यसपछि छापिएका उनका कृतिहरूमा हु डु यु थिङ्क यु आर (१९७८), द मुन्स अफ जुपिटर (१९८२), रनअवे (२००४), द भ्यू फ्रम केसल रोक (२००६), र टु मच हेप्पिनेस (२००९) सामिल छन् । फेरि २००१ मा उनको हेटसिप, फ्रेन्सिप, कोर्टसिप, लभसिप मेरिएज भन्ने पुस्तक छापियो, जसको कथावस्तुमा २००६ मा अवे फ्रम हर शीर्षकको चलचित्र नै बन्यो, जसलाई सारा पोलीले निर्देशन गरेकी थिइन् । मुनरोको नवीनतम कृति २०१२ मा छापिएको कथासङ्ग्रह डियर लाइफ हो ।
मुनरोको जीवनी र उनले लेखेका कृतिको सङ्ख्यात्मक विश्लेषण यस लेखको उद्देश्य होइन । यहाँनिर मुनरोको कथाकारिताको विशेषता र शैली, र उनले व्यक्त गर्न खोजेको जीवनको रहस्यबारे केही प्रयास पार्ने प्रयास गरिएको छ ।
मनोवैज्ञानिक यथार्थवादको नजिक पुगेर लेखिएका मुनरोका कथाहरूमा प्रमुख पात्र नारी र किशोरीहरू रहने गर्छन् । साना–साना मनोवैज्ञानिक विषयवस्तुलाई यर्थाथताको परिधिबाट बुन्ने मुनरोको कथाकारितालाई कतिपयले रसियाली कथाकार चेखबसँग पनि दाँजेका छन् । वेस्ट ओन्तारियो नामक सानो सहरका वरिपरि बुनिएका उनका कथामा पात्रहरू बदलँदो उमेर, समय र परिवेशसँग जुधिरहेका हुन्छन्, जसका कारण नयाँ द्वन्दहरू उत्पन्न भएर आइरहेका हुन्छन् र पात्रको मनस्थितिलाई प्रभावित पारिरहका हुन्छन् । उनका साहित्यको लोकप्रियता नै मान्नुपर्छ, मानिसहरू पश्चिम ओन्तारियोलाई “मुनरोको सहर” पनि भन्छन् ।
एलिस मुनरोको पहिलो कथासङग्रह डान्स आफ हेप्पी स्टेट्स १९८६ मा केनेडामा, र १७७३ मा अमेरिकामा प्रकाशित भयो । यसमा १५ वटा कथा समाविष्ट थिए, जसमध्ये अधिकांश यसअघि नै पत्रपत्रिकामा छाप्पिइसकेका थिए । पहिलो संस्करणमै लेखिकाको यस पहिलो कृतिले पाएको लोकप्रियताले उनी भविष्यमा होनहार हस्ताक्षर हुन्छिन् भन्ने कुराको यथेष्ट संकेत दिएको थियो । उदाहरणका लागि समालोचक डब्ल्यू जे हार्डिङ्ले लाइब्रेरी जर्नलमा यस पुस्तकको समीक्षा गर्दै लेखेका थिए, “यो किताब कुनै पाठकलाई चरम आश्चर्यमा पार्न लेखिएको होइन । यसमा समाविष्ट कथा शान्त र शालिन छन्, र पाठक तिनीहरूलाई पढ्दै जान्छ, किनकि मुनरोले अभिव्यक्त गरेको प्रभावकारी भावुकतामा ऊ समाहित हुँदै जान्छ ।” कथाको मुल बुनोटमै पाठकलाई पनि सम्मोहित गर्ने मुनरोको खुबीको अरुले पनि प्रसंशा गरेका छन् । उपन्यासकार एनी इन्राइट भन्छिने, “मुनरोका पात्रहरू तपाइजस्तै छन् या तपाइकै अलि बृहत रुप । उनीहरु जीवनका बारे जे सोच्छन् र जे बुझ्छन्, त्यसले तपाईलाई उभ्याउँछ, या हिँडाउँछ ।”
यदाकता पात्रहरूको चित्रण र कथाको सिलसिलामा क्रमिकता हुँदैन भन्ने टिप्पणीले पनि मुन्रोको लोकप्रियतालाई रोकेन । ब्रेड हुपर भन्छन्, “पहिलो सङ्ग्रहमै मुन्रोले चरित्र चित्रणमा आफूलाई एक सफल शिल्पीको रुपमा स्थापित गरेकी हुन् ।”
पात्रलाई चित्रण गर्नै र परिभाषित गर्नै उनको अभूतपूर्व कला हरेक कथामा देखिँदै जान्छ र उनको समर्ग लेखन यस कुराको पुष्टी हो । उनका कथाहरू छुट्टाछुट्टै भएर पनि एउटा अदृश्य तादाम्यको तारले जोडिएको हुन्छन् । डान्स आफ हेप्पी स्टेट्स लाई नै हेर्ने हो भने पनि पन्ध्रवटा कथाहरूको बीचमा एउटा क्रमिकता छ, र तिनीहरू पश्चि ओन्तारियोको एउटा सानो सहरको साँघुरो जिन्दगीका अभिव्यक्ति हुन् । उनको अधिकांश कथामा एउटी तरुनी किशोरीका कथा भेटिन्छन् । र उनका सबै कथालाई जोड्ने भनेको दुईवटा विषयवस्तु भेटिन्छन्  — एउटा सानी बलिक, किशोरी वा तरुणी, जो आफैंमा उसको उमेरभन्दा बढी वयस्क छे, र पौढहरुको संसारलाई बुझ्ने प्रयास गरिरहेकी छे र दोस्रो, त्यस सानो सरहको सामाजिक परिधिभन्दा बाहिर रहेको कुनै चरित्रको दिनचर्या ।” तरुण नारीहरुको मनोदशालाई अभिव्यक्त गर्ने यस कलालाई समालोचक रोजाली मर्फी बलमे अर्की केनेडियाली लेखिका मार्गरेट रलेन्ससँग पनि तुलना गरेकी छिन् ।
मुन्रोका अधिकांश कथाहरू सीधै घटनामा प्रवेश गर्छन् । पृष्ठभूमिको कुनै जानकारी गराइएको हुँदैन । पात्रहरूको पनि त्यस्तो पृष्ठभूमि र चित्रण गरिएको हुँदैन । हुन त प्रख्यात कथाकार केथेरिन मेन्सफिल्डजस्ता लेखकले पहिले नै प्रयोगमा ल्याएको शैली हो यो, तर मुन्रोले यसलाई बखुबी प्रयोग गरिन्, र आफ्नो निजत्व यसै शैलीको विलक्षण प्रयोगमार्फत स्थापित गरिन् । आज त कथालेखनको यो एउटा लोकप्रिय शैली नै बनिसकेको छ । नेपालमा रमेश विकलहरूले यस शैलीको प्रयोग गरेका थिए ।
मुन्रोका कथाभित्रको कथावाचक आफ्नो परिवेशको सधैं अधुरो र अस्पष्ट चित्रणमात्र प्रस्तुत गरिरहेको हुन्छ, जसबाट जुन पाठले पढेपनि यी अस्पष्टताले उसलाई कतै यो परिवेश उसैको पो हो कि भन्ने अनुभूति दिइरहन्छ र पाठक कथासँगै हेल्लिन पुग्दछ । उनका किशोर पात्रहरूको मनोदशा निकै अस्पष्ट भएर आइदिन्छ र लाग्छ, ऊ वयस्कहरुको संसारसँगको साक्षात्कारले अल्मल्लिएको हो कि कुनै वयस्कले आफ्नो किशोर वयका अनुभूतिहरूलाई समम्झेर अन्यमनष्क भएको हो । यो अवस्थामा किशोर होस या प्रौड, दुवै थरी पाठकले मुन्रोका पात्रको अल्मलमा आफ्नै जीवनका अल्मलहरू चित्रित भएको पाउँछ । यसरी, नियोजित रुपमा कथाक्रममा क्रमभङ्गताको अविष्कारद्वारा पात्रको मनोद्वेगलाई लगेर पाठकको सम्भावित या अनुमानित मनोद्वेगसँग जोड्ने मुन्रोको कला विलक्षण रहेको छ । इ. डी. ब्लोडगेटले मुन्रोसम्वन्धी आफ्नो अध्ययनमा यी क्रमभङ्गताहरूलाई औपचरिक रणनीति मानेका छन्, जसलाई लेखकले आफ्नो कथामा “बढी बिश्वसनीयता” स्थापित गर्न प्रयोग गरेकी हुन्, जसमार्फत उनको पात्र कुनै रहस्यको उद्घाटनतर्फ आउँदा निकै मिहिनत गरिरहेको देखियोस् । यसरी हेदा, मुन्रोका अधिकांश कथाहरू पात्रप्रधान हुन् र “केरेक्टर पोर्टेट” हुन् यद्यपि यो एक शक्तिशाली कथावस्तुकै पृष्ठभूमिमा विकसित भएर आएको हुन्छ । आफ्नो पात्रको अनुभव, विकासक्रम र मनोदशाको चित्रण गर्नु मुनरोको प्रमुख लेखकीय अभिष्ट हो, र यसका लागि उनी आफ्ना पात्रलाई अनुभवको एक शिविरबाट अर्को शिविरतिर यात्रा गराउँछिन् । बाह्य संसार— सहर, समाज र वातावरण — मा घटेका घटनाहरुको भित्री असरको कथा हो मुनरोको सम्पूर्ण लेखनको कथा ।
समयको भेगमा एकीतृत गरिएका परिवर्तनकारी अनुभवहरूकै कथा भएको हुँदा, मुनरोको कथामा समय र यसको प्रवाह निकै शक्तिशाली विम्वको रुपमा उपस्थित भएको हुन्छ । उनका पात्रको समय वृत्ताकार छ — विगतबाट वर्तमान हुँदै, फेरि विगततिरै हेलिने । ती विगत, आफ्ना पनि हुन् र अरुका पनि, र धेरैजसो ती विगतहरू अज्ञात रहन्छन्, जसलाई उप्काउन खोन्जू पात्रका प्रमुख संघर्षहरुमध्ये एक हुन आइदिन्छ । त्यसैले, धेरैजसो कथामा मुनरोका किशोरी पात्रहरू विगततिर फर्किएका छन् – आफ्नो विगत, आफ्ना बुवा–आममाको विगत, र आफूसँग सम्वन्धितहरूको विगत । विगत वर्तमानभित्रको एक शक्तिशाली उपस्थिति भएर आइदिन्छ ।
मुनरोका प्रारम्भिक चरणका कथा “वाकर ब्रदर्स काउब्वोय” तथा “द साइनिङ् सुज” मा हामी मुनरोले यसपछिका कथामा मुख्यरुपले विकास गरेको अर्को विषयवस्तुसँग पाठकको साक्षातकार हुन्छ । त्यो हो, समाजभित्र रहेर पनि बाहिरका जस्ता लाग्ने चरित्रहरुको कथा । तृतीय पुरुषी दृष्टिविन्दुबाट बुनिएका उनका प्राय कथाहरूको एउटा सुन्दर विशेषता हो देश काल परिस्थितको चित्रणमार्फत चरित्रको मनोदशामा पाठकलाई प्रवेश गराउनू । चरित्रभित्रको भन्दा पनि बाहिरको परिवेशलाई मुनसो पात्रभित्र पस्ने माध्यमको रुपमा प्रस्तुत गर्छिन उनको कथाहरूमा । यसरी हेर्दा मुनरोका कथामा कथानक, परिवेश र पात्रहरूको छुट्टाछुट्टै विशिष्ट महत्ता छ, तर पनि तिनीहरू लेखकको एउटै मूल अभिष्टमा गएर गाँसिएका छन् — मान्छेको सुख दुखको कथा लेख्नु ।
जुन समयमा मुनरोले लेखन प्ररम्भ गरेकी थिइन्, त्यो बेला विश्व विश्वयुद्धले तहसनहस भएपछि पुनः पनुर्रचनामा जुर्मुराउँन थालेको थियो । ध्वस्त सहरहरुको ठाउँमा नयाँ, र ससाना सहरहरु फेरि बस्न लागेका थिएन । पहिलेपहिलेका गाउँ, खेतबारी र खलिहानहरुमा सहरको विस्तार हुन लागेको थियो र घरहरु दिनैपच्छे बढिरहेका थिए । सहर पुराना गाउँतिर पस्दै थियो । गाउँ सरहको अतिक्रमणले आक्रान्त थियो । दुईबीच खासै सामञ्जस्य स्थापित हुन सकिरहेको थिएन । त्यस्तो परिवेशमा मुनरोका पात्रहरुको मनोदशा पनि त्यस्तै नै पाइन्छ – पुरानो ग्रमिण परिवेश र नयाँ सहरको संक्रमणकीन अवस्थामा उभिएका किशोर पात्र – जो न बालक छन, र न वयस्य छन्, तर बाहिरी संसारसँग एकाकार हुने मनोद्वेगको एउटा गजवको संयोग बोकेर उभिन्छन् । अनि यहाँनिर मुनरोका पात्रहरु वर्तमाभाथि विगतको असरलाई छताछुल्ल पारेर देखाइदिन्छन् र यसको माध्यम, विगतको सम्झना हो ।
मुनरो कुनै स्वेरकल्पना वा दार्शनिकताकी लेखिका होइनन् । उनी प्रतीकवादी पनि होइनन् । उनी समाजमै दिनपच्छिे घटित हुने घटनको चित्रण नै गर्छिन्, तर उनको चित्रणमा समय परिवर्तनका संक्रणकालीन सीमा क्षेत्र — विगत र वर्तमानको सीमाक्षेत्र, सहर र गाउँको सीमाक्षेत्र, बाल्यकाल र तरुणाइको सीमाक्षेत्र र तरुणाइ र पौड आवस्थाको सीमाक्षेत्रका सूक्ष्म अनुभूति र तिनीहरूसँगै जोडिएर आउने मनोदशाका कथा मुख्यतः मुखरित भएर आएको हुन्छ ।
तर मुनरो कथामा पछाडि फर्कने भन्दा अगाडि बढ्ने इच्छाशक्तिकै प्राचूर्य छ । त्यसैले उनी तमाम अस्तित्ववादी र शून्यवादी लेकखभन्दा फरक छिन् । शून्यवादी र अस्तिवत्ववादी बढी नै विगतबाट आक्रान्त थिए, र त्यस आक्रान्ततको सापेक्षतामा भविष्य निस्सार देख्थे । तर मुनरो भविष्यकै कार्यदिशामा आफ्ना पात्रहरूलाई हिडाँउन उद्यत आशावादी लेखिका हुन् । त्यस्तो आशावादी गोरेटोमा उनी स्वर्गका सपना देखाउने अतियथार्थवादी र अतिशयोक्तिवादी पनि होइनन् । उनले चित्रण गरेको संसार कुनै पनि कुराको पराकाष्ठा होइन । त्यो हामी सबैले बाँचेर ल्याएको यथार्थ हो । यतिमात्रै हो, उनका कथाका पानामा त्यो यथार्थ वाचाल बनेर उभिन्छ । हाम्रो यथार्थ भने सधैं अनिश्चिताले धूमिल धूमिल रहन्छ ।
मुनरोका पात्रहरू प्राय किशोरी र महिलाहरू छन्, जो ससाना असन्तुष्टीहरूबाट आफ्ना कथा प्रारम्भ गर्छन् । कुनै विवाहित महिलाका श्रीमान किन घरमा छैनन् र धेरै दिन आउँदैनन्, एउटी छोरीले आफ्ना बाबालाई कतिापय प्रश्नहरू किन सोध्न हुँदैन जस्ता साना प्रश्नहरूबाट । यस्तै बेमेल यथार्थाहरूको बीचबाट बगेको प्रेम र विवाहको सम्वन्धहरूको किनारै किनार उनका पात्रहरू जीवनको यथार्थतिर लम्कन्छन्, र मुनरोले आफ्नो सेलेक्टेढ स्टोरिसमा एकठाउँ भनेजस्तो निष्कर्ष निकाल्छन्, “प्रेम दयालु र इमान्दार हुँदैन, र कुनै पनि विश्वसनीय तरिकाबाट कसैलाई सुख थप्दैन ।” उनी आफ्ना निचोडहरूलाई पात्र र परिवेशमा सीमित राख्छिन् तर त्यो नै सार्विक हो भनेर कहीं पनि दावी गर्दिनन् । उनलाई थाह छ, त्यासे गर्नु एक कलात्मक मूर्खता हो ।
मुनरोका आलोचकहरू ठान्छन्, मुनरोका अधिकांश कथाका पात्रहरू उस्तै उस्तै लाग्छन् । यस अर्थमा उनले एक कथा र अर्को कथाको बीचको विशिष्टलाई कहिलेकाहिँ जानी जानी सम्झौता गरिदिन्छिन् । ससाना व्यक्तिगत विभन्नता भन्दा पनि स्त्री र पुरुषको समान्य प्रकृतिबारे एउटा विहंगम दष्टिकोणमा पुग्नु उसको समष्टीको अभिष्टजस्तो देखिन्छ । समालोचक हेरोल्ड बुम ठान्छन्, मुनरोमा त्यो “सूक्ष्म पागलपन” को कमी छ, जुन महान साहित्य सिर्जनाका लागि आवश्यक छ । तर जहाँसम्म पात्र र भाषा चयनको प्रश्न छ, मुनरोले आफ्ना पात्रअनुरुप पात्रको चयन गरेकी छिन् र यदाकदा डि एच लरेन्सलाई लाग्ने गरेको आरोप—उनले खडा गरेका कि पात्रको भाषा उनीहरूको जस्तो लाग्दैन—बाट मुनरो टाढै छिन् ।
मुनरोलाई जीवनमा वस्तुगत र व्यक्तितग, ठूलो र सानोको भेदमा त्यति चासो भएको देखिँदैन । उनी फगत यही प्रयास गरिरहेकी हुन्छिन्, कि मान्छेलाई हाँस्न र खुसी भएर जीवन जिउनबाट रोक्ने कुरा के हो, र त्यसलाई कसरी हटाउन सकिन्छ । यस प्रयासलाई उनले अन्तिम साससम्म जारी राखेको देखियो ।
अब त्यो उनको तर्फबाट थामिएको छ । त्यस प्रयासलाई मुकामसम्म पुर्याउने काम हाम्रो हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha