बिहिबार, जेष्ठ १०, २०८१ | May 23, 2024

विभूति अधिकारीलाई महेश पौड्यालको चिठी

विभूति अधिकारीलाई महेश पौड्यालको चिठी

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ १, २०८१

  • 719
    Views
विभूति अधिकारीलाई महेश पौड्यालको चिठी

प्रिय विभूति,

तिमीलाई ‘तिमी’ भन्छु, नरिसाउनू । ‘तपाईं–हजुरले’ नजिक आउनै दिँदैन । औपचारिकतामा अल्झाइराख्छ । मान्छे हदभन्दा प्यारो लाग्यो भने ‘तिमी’ भन्न पाइन्छ । भनूँ, यस्तै भयो । अभिमान गर्दिनँ भनेका छौ नि है?

नाम ‘विभूति’ अलि पहिल्यै सुनेको । मान्छे विभूति चिनेको थिइनँ । दुईवटा किताब निकालिसकेको मान्छे, बढेमानको होला भन्ठान्याथेँ । अनि बानेश्वरमा भेट्दा इत्रु…पित्रु…काँक्राका चिचिलोजत्रो । एकछिन् त पत्याइनँ । तर, नपात्याएर धरै थिएन । पत्याएँ ।

‘अर्जुनदृष्टि’ को विमोचनमा आउँछु है भनेको थिएँ, आइनँ । खै केले दिएन । भ्याइनँ होला, सायद । अस्ति भेट्दा माफ मागिसकेँ । मुद्दा सुलसाल भयो । हिसाब बराबर ।

अनि नि, चिठी त सुटुक्क, खामबन्दी गरेर जसले पाउनुपर्ने हो, उसैलाई पठाउनु पर्ने होइन र? अथवा, आजको प्रविधिको युगमा इमेल गरेको भए हुने, म्यासेन्जरमा पठाएको भए हुने । पठाउनेले पठाउँथ्यो, पाउनेले पाउँथ्यो, खेल खतम । तर, यहाँ पत्रिकामा छापेर ‘चिठी’ भन्नुपर्ने के परेछ त्यस्तो भन्ने पर्ला तिमीलाई । तर, कुरो बेग्लै छ । मैले तिमीलाई चिठी लेख्नुको कारण देशले थाहा पाओस् । यो विषय, यदि फुर्सद निकाल्न सके भने ठूलाबढाले पनि पढून् । प्रधानमन्त्री–राष्ट्रपतिले पनि पढून् । (तर, मलाई शङ्का छ ।) गुरुहरूले पढून् । (यहाँ पनि शङ्का छ ।) सप्पैसप्पैले पढून् । शङ्कै छ । त्यसैले पत्रिकामा लेखेको ।

  महेश पौड्याल, समालोचक

तिमी एक दुर्लभ प्रतिभा हौ । २०६३ मा जन्मेका तिमीले २०७७ मै ‘अद्भुट इन्द्रेनी’ खण्डकाव्य लेख्यौ । मैले आधा उमेर बाँचिसकेँ, आजसम्म एउटा खण्डकाव्य लेख्नु त के, कल्पनासम्म गर्न सकेको छैन । मैले छक्क पर्नुको विकल्प रहेन । फेरि, २०८० मा छन्द–कविता सङ्ग्रह ‘अर्जुनदृष्टि’ लेखेर छक्कै पार्यौ । मैले यी दुवै कृतिलाई अक्षरशः पढेँ । लाग्यो— तिमी प्रतिभा हौ । तिमीसँग शब्दशक्ति छ । छन्दशक्ति छ । तिमी समान्य भनाइलाई असामन्य सौन्दर्य दिन सक्छौ । धेरैले भन्दै ल्याएका कुरामाथि आफ्नोपनको कलेवर दिन सक्छौ । एउटा कथनलाई कर्णप्रिय, लालित्यपूर्ण र ओजस्वी कसरी बनाउने, त्यो तिमीबाट सिक्नुपर्छ । हेर न, म त बूढो भइसकेँ, आजसम्म एउटा पनि छन्द कविता लेख्न सकेको छैन । तिमीमा यस्तो कौशल कसरी विकसित भयो, त्यो मेरा लागि आश्चर्यको कुरो भयो । छन्द पनि, अनुष्टुप्, उपजाति, शालिनी, शिखरिणी, इन्द्रबज्रा, पञ्चचामर, मालिनी, र शादू्रलवीक्रिडितजस्ता लोकप्रिय छन्द त धेरैले चलाएको देख्छु, तर तिमी त मन्दाक्रान्ता, वसन्ततिलका, भाराक्रान्ता, पृथ्वी, धृतिरूपामाली, नार्दटक, विधाता, हारिणी, स्रग्धरा र मदिराजस्ता अप्ठ्यारा र निकै कम प्रयोगमा आउने गरेका छन्दलाई पनि सपेराले सर्प नचाएजस्तो सजिलै नचाउन सक्दा रहेछौँ । छन्दको छनोटमा तिमीले देखाएको फरक सोचले नै भन्छ— तिमी फरक बालक हौ ।

अरूले भनेजस्तै तिमी विलक्षण प्रतिभा हौ । यो कुरा म पनि भन्न आएको हुँ । म के पनि भन्न आएको हुँ भने नि, तिमी प्रतिभा त हौ, अब तिमी आविष्कारक बन्नुपर्ने देखिन्छ । तिमीले आजसम्म बाँचेको उमेर हेर्दा, अहिलेसम्म तिमीले प्रतिभाप्रस्फुटन र प्रदर्शनकै उमेर बाँच्यौ । तिमीसँग शब्दको ज्ञान छ, छन्दको ज्ञान छ, सङ्गीतको निनाद छ, शब्द र अक्षरको कुन संयोजन कर्णप्रिय हुन्छ र कुन कर्कश हुन्छ, त्यो तिमी खुट्याउन सक्छौँ । तिम्रो उमेरका धेरैजसो साथीहरू शाद्रूलवीक्रिडितको सिको गर्ने नाममा यस्ता कविता लेख्छन्, ‘गुरुले भनेर मइले एक कविता लेखर सबलाई दिएँ ।’ शब्दले वा मात्राले भन्दा पनि गलाले सकीनसकी तानेर तन्काएर शाद्रूलवीक्रिडितको लय जस्तोजस्तो केही बनाउँछन् । तिमी त यसरी लेख्दारहेछौँ—

खोलाको गतिभित्र छिर्न नसके के गर्नु हो लेखनी
फेरी पर्वत भित्र भित्र नछिरी के मिल्छ सञ्जिीवनी ।

मैले बुझेको छु— छन्द लेखक धेरैले यो स्वाभाविकता प्राप्त गर्न दशकौँ खपाएका छन् र पनि विफल छन् । म पनि ती विफलहरूमध्येको एक हुँ ।

माथि एउटा कुरा भनेको थिएँ— तिमी अब ‘आविष्कारक’ बन्नुपर्छ । तिमीलाई सुटुक्क एउटा कुरा भन्छु, कसैलाई नभन्नू । त्यो के भने, छन्द खेलाउने कलामा माहिर, मैले माथि भनेजस्तो स्वभाविकता वा सहजता प्राप्त गरिसकेका, गति, यति र लयको ज्ञान भएका, शब्दको भण्डार पनि प्रचूर मात्रामा भएका कविहरू ‘थोत्रे माल’ माथि सुन वा पित्तलको जलप लगाउँछन् र कविता भन्छन् । म तिनलाई कवि कम, ‘व्यवस्थापक’ बढी मान्छु । लोकमा छरिएको मालको तिनले व्यवस्थापन गरेका हुन्, जोडजाड गरेर नयाँ बट्टा वा प्याकेटमा राखेका हुन् । भनाँै, त्यो राम भण्डार वा बागमती स्विट्सको काम हो । झट्ट पढ्दा, वा सरर वाचन गर्दा ‘वाह!’ पनि भन्न मन लाग्छ । तर मजस्तो एउटा ठिस पाठलको मन त्यसले भरिँदैन । भनाइको सीप वा कौशलमा मात्रै होइन, कुरोमै पनि नवीनता र मौलिकताको लक्ष्य राख्नुपर्छ कविले । नत्र, त्यही भनाइ १०६३ जनाले भनिसकेको हुँदा, कुन भनाइ कसको हो, कुन कुरामाथि कसको प्याटेन्ट अधिकार छ, र कुन सूक्तिलाई कसको भनेर कण्ठ पार्नु — सब कन्फ्युज्ड । अनि, लाइफ ड्यामेज हुन्छ ।

मैले यो किन भनेको भने नि, तिमीभित्र एउटा कुशल व्यवस्थापकसँगसँगै एउटा आविष्कारक पनि छ । तर, त्यस आविष्कारकले त्यति निस्कन पाएन । तिम्रो उमेर हेर्दा, यो स्वाभाविक हो । तर, अब त तिम्रो तेस्रो पुस्तक आउँछ । तेस्रोमा आइपुग्दा त विभूति अधिकारी नाम गरेको एउटा विलक्षण आविष्कार चाहिन्छ भन्न पाउनुपर्छ । तिमीभित्रको आविष्कारले तिम्रा यी हरफहरूमा आफ्नो उपस्थिति देखाएको छ निः

खोलाको गतिभित्र छिर्न नसके के गर्नु हो लेखनी
फेरी पर्वत भित्र भित्र नछिरी के मिल्छ सञ्जिीवनी ।

दोषी दोषी सब भनिरह्यौँ दोष आफ्नै भुलेर
हामी पुग्छौँ कुन सहरमा आन्धतामा हिँडेर?

जन्मिने छन् सयौँ गीता भए अर्जुनझैँ मन
भीममा प्रण चाहिन्छ जित्न जस्तोसुकै रण ।

देवदत्त फुकोस् सत्ता निकालोस् शत्रुमा भय
जनका यज्ञमा सत्ता बन्नुपर्छ धनञ्जय

यात्रामा अविश्रान्त के रहरले हुन्छन् नदी छङ्छङ
इन्द्रेनी किन छर्छ के मन गरी सप्तरङ्गी रङ

म को भन्ने जानी प्रकट पनि होस् तागत सब
सहारा अर्काको कति दिन परी चल्छ र भव?

जस्तो छ चाह त्यस्तै आकृष्ट चित्र छर्दै
उड्छन् कहाँ कहाँ हो आह्लाद भाव भर्दै । (आदि, आदि…)

एउटा कुरा । भन्लान्— ‘धरतीमा के नै नयाँ कुरा बाँकी छ र भन्नलाई? नपत्याउनू ।’ यत्रो भव्य र रहस्यमयी सृष्टि छ । हरेक मान्छेले बाँचेको जीवन विशिष्ट छ । अनुभव नयाँ नयाँ छन् । अल्छीहरूले भनेको नपत्याउनू । चिन्तन नपुगको हाम्रो । अध्ययन नपुगेको । तपस्या, साधना र ध्यान नपुगको । नयाँ नयाँ सूक्ति र दर्शनको खोजीमा लाग्नू । भनेको मान्नू है । नत्र, वन–विनाशको अभियोग लाग्छ पछि ।

म कस्तो ठिस परेँ भनेँ नि, कवि हुँ भनेर, किताब बोकेर लोकमा आएको मान्छेलाई ‘तिमी बालखै छौ, त्यसैले जे लेखे पनि वाह, वाह’ भन्नुपर्छ भनेर सोच्दिनँ । आजै हो, अहिल्यै हो, तिमीलाई यहाँ यहाँ कुरो बिग्रियो भनेर भन्ने । तर, त्यो कुरा म यहाँ भन्दिनँ । भेटेर भन्छु । हस? अनि, कान समातेर एक हजारचोटि उठ्बस् गर्छु बानेश्वरमा । अथवा, अत्तरियामा ।

बिग्रेकै त नभनौँ, तर कतपिय कुरा मान्छेले भन्दा भन्दा भन्दा भन्दा भन्दा पुराना बनाइसकेका कुराले तिम्रा  कवितामा घुसपेँठ गरेका छन् । त्यसका कारण छन् । हामीले, यानि— हामी ‘ठूला’ले — गुरुले,  शासकले, बाआमाले, अन्य कविहरूले तिमी र तिमीहरूलाई यो संसार त्यसै गरी बुझ भनेर सिकायौँ । हामीले आलोचनात्मक दृष्टिकोण यानि ‘क्रिटकल सेन्स’ विकास गर है भनेर सिकाएनौँ । आलोचनात्मक चेत — अफैँप्रति, आफ्नो परिवेशप्रति, युगौँदेखि स्थापित तर आज अमानक बनिसकेको आदर्शहरूप्रति, देशप्रति । त्यसैले, ‘म मेरै कविताजस्तो त्यति सुन्दर होइनँ’ भनिरहँदा मेरो कविता सुन्दर छ भन्ने हल्का आत्मश्लाघा छिरिदिन्छ र मजस्ता ठिसले भन्ने मौका पाइहाल्छन् । अथवा, ‘गोर्खालीपनले दिओस् भुवनामा वीरत्वको जीवनी’ भनिरहँदा, आजको मितिमा ‘गोर्खालीपन’ ले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने रूपक अलङ्कार बनेर उभिन सक्छ वा सक्दैन, अथवा गोर्खालीपन र वीरताको पुरानो, बृटिशकालीन गीत, आज पनि त्यसै रूपमा उभिन्छ वा उभिँदैन भनेर प्रश्न गर्न हामीले सिकाएनौँ । ‘टिस्टा बग्छ कथा लिई विजयको स्वाधीनतामा बढी’ भनेर तिमीले किन लेख्यौ भन्दा नि, हामीजस्ता मास्टरले तिमीलाई टिस्टाको पुरानो कथा सुनायौँ, नयाँ, यानि आजको कथा सुनाएकै छैनौँ । आजैको टिस्टाको कथा भन्दिएको भए तिमीले यस खोलासँग ‘विजय’ र ‘स्वाधीनता’ का कुरा जोड्थ्यौ वा जोड्दैनथ्यौ, मलाई थाहा छैन । सायद जोड्दैनथ्यौ । ‘गुरु हुन् कोइलीतुल्य वसन्त मोद ल्याउँछन्’ भनेर लेख्नु तिम्रो आदर्श चिन्तन हो । म आफैँ पनि शिक्षक हुँ । तिम्रो कविता पढ्दैगर्दा मलाई ज्यादै आत्मग्लानि भयो । किनकि, विभूतिहरू गुरुलाई यसरी महान् भनेर कल्पना गर्छन् । अनि, मजस्ता हामी — तथाकथित गुरुहरू — तारिख धाउँछौँ । यसभन्दा बढी भन्दिनँ । तिमी सानो छँदैदेखि हामीले सिकायौँ— आमाचैँ ममताकी खानी, बाबाचैँ पसिना बगाउने प्राणी । यानि, भावुकता आमाको भागमा, कर्मठता बाबाको भागमा । यो पुरानो लैङ्गिक चिन्तन हो नि ।  ‘बाबा’ शीर्षकको कविताका दुई हरफ हेरौँ— ‘घरबार समालेर आमा छिन् सबकी भर / सङ्घर्षशील बाबामै आमासमेत निर्भर ।’ यहाँ, तिमीले आमालाई घरमा सीमित पार्यौ र बाबामाथि निर्भर पनि पार्यौ ।’ आजको मितिमा, तिम्रो घर, मावल, छिमेकतिर यो सत्य नै होला, तर बाबू, हामी त कवि हौँ नि । हाम्रो भनाइको अर्थ सानो घेराभन्दा माथि उठ्नुपर्छ, र हामीले आगतको आकलन पनि गर्न सक्नुपर्छ ।  तिमीले नै भन्यौ कतै— ‘उठ उठ उठ सारा क्रान्तिको बाल्न ज्योति’ । कारण, हामीले नै भनेका थियौँ — क्रान्तिले ज्योति बाल्छ । बाल्यो बालेन, तिमीलाई नै थाहा छ । देश कहाँ छ, तिमीलाई पनि धेरथोर थाहा छ । फेरि भन्यौ, ‘सबै अडेको छ जगत् कलाभरि’, तर कला अभिव्यक्ति हो, जमिन होइन । अड्ने जमिनमा हो, यानि जमिनी यथार्थमा हो । पूर्वाधारमा हो । कला अति–आधार हो । आधारलाई सुन्दर साजसज्जासहित प्रस्तुत गर्ने चैँ कलाले हो । दसैँ तिमीलाई मन पर्छ । मलाई पनि । त्यसैले तिमीले दसैँलाई ‘नेपाली जनको सगोल मनको’ चाड भन्यौँ । यो दसैँको छुट्टी चैँ मान्ने, तर दसैँ नमान्ने जातजाति पनि छन् नेपालमा । जस्तो कि यहाँका मुस्लिम । त्यसो भए, तिम्रो ‘सगोल’ मा सबै नपर्ने भए । तिमी यहाँ भावुक भयौ, क्रिटिकल हुन सकेनौ नि कान्छा । दसैँकै कवितामा भन्यौ, ‘ऊर्जा शून्य छ व्योम फेरि नभमा’, तर व्योममा ऊर्जा शून्य भएको मैले अनुभव गरेको छैन । अँ, मान्छेको आँट खस्किएको चैँ हुन सक्छ है । ‘कान्ति फैलियोस्’ शीर्षकको कवितामा भन्यौ, ‘समरबाट नै अन्त्य लोक होस्’ । म डराएँ । कस्सम ।

मैले यहाँ घुमाउरो पाराले तिम्रो आलोचना गरेँ । तिमीले थाहा पायौ । अब, ‘यस्तो प्रतिभाशाली बालकलाई यसरी आलोचना गर्ने?’ भनेर अलिकति मानिसले मेरो सत्तोसराप गर्छन् । त्यो कुरो मलाई थाहा छ । तर मैले किन भनेको भने नि, मैले तिमीभित्र आलोचनात्मक चेत देखिसकेको छु । तिमी परिवर्तित समयको आवाज सुन्न सक्छौँ । तिमी पुराना मान्यतालाई चिरेर प्रगतिशील र परिवर्तनशील बन्न सक्छौ । सबैले भन्ने गरेका सत्य, तर अतिप्रशारित कुरामा लोभ गर्न छोड्छौ । मात्र के भने नि, त्यस चेतलाई थप जगाउनुपर्यो । तिमीभित्रको कविलाई अतिशय असल, अतिशय आज्ञाकारी, कतिशय देशभक्त, अतिशय गुरुभक्त, अतिशय वीरभक्त, अतिशय आदर्शवादी हुन लाउने काल्पनिक र हामीजस्ता ठूलाबढाले घर र स्कुलमा थोपरिदिएको ‘पुरानो झुट’ बाट सञ्चालित हुन दिनु भएन । तिमीभित्रको फरक, आलोचनात्मक र सत्यनिष्ठ चेतनालाई तिम्रो कविताको सारथि बनाउनु जरुरी देखेको छु । तिमीभित्र आलोचनात्मक चेत नभएको भए तिमीले यी हरफ कसरी लेख्थ्यौ—

१. भाग्छन् आशा कविमनहरू चाकरीभित्र पर्दा ।

२. यी द्रौपदीले अब न्याय पाऊन्, त्यो रक्त दुःशासन बगाउन् / जन्मोस् त्यही भीम अठोट गर्ने, ‘मामा’ छलीको छल जाल हेर्ने ।

३. अन्याय गर्ने गुरु द्रोणजस्तो, कोही यहाँ बन्नु हुँदैन त्यस्तो / थालौँ कुरुक्षेत्र प्रवेश गर्न, यो सत्यताको कलि युद्ध छेड्न ।

४. नबस भयो भयो कमलरी थरुनी घरमा / प्रिय सजियो अहो धनगढी पुस पन्नरमा ।

५. कहर हटून्, बधू बढिरहून्, सब छाउ ढलोस् / अधर छरून्, खुसी धनगढी बलियो अझ होस् ।

६. खोलेर कलिला आँखा थियो नियाल्न जीवन / कोपिलामै निमोठेर म फूल फुल्न पाइनँ ।

७. सीताले नै दिने जाँच यही छ रामशासन / कहाँ पो सजिलो हुन्छ छोरी भएर हुर्कन ।

तिम्रा दुई कृतिः ‘अदभुत इन्द्रेनी’ खण्डकाव्य र ‘अर्जुनदृष्टि’ कवितासङ्ग्रह पढेपछि यति कुरा फुरेका हुन् । ‘अद्भुत इन्द्रेनी’ मा तिमीले नेपालका हिमाल, पहाड र तराईका भूगोल, रहनसहन, समाज र संस्कृतिका दुर्लभ सूचना दियौ । त्यति कुरा त मलाई उत्तिको उमेरसम्म थाहै थिएन । अब तिमी बढ्दै जाँदा, तिमीले लेखेका यी  हिमाल, पहाड र तराईका जिल्लामा पाइला टेक्नेछौँ, र सूचनासँग अनुभूति, र त्यहाँका सभ्यताको गुह्य कुरा लेख्नेछौ भन्ने विश्वास छ । अनि, कि, पैसा जोगाउनू । चुरोट नपिउनू, पैसा खर्च हुने कुनै अमलमा नलाग्नू । आज जोगाएको पैसाले पछि, अलि पछि क्या, देश दर्शन गर्न हिँड्नुपर्छ । घरबाटै पनि कति माग्नु, नि? आफैँसँग पैसा भयो भने, क्या मज्जा । किताब बेचेर पैसा आएको होला अलिअलि, वचत गर्नू । हिँडन्ते कविमा अतिरिक्त शक्ति हुन्छ । धेरै नयाँ कुरा हुन्छ । आत्मविश्वास बढ्छ ।

अन्तिम कुरा । अघि माथि भनेको थिएँ नि, यो चिठी ठूलाबढाले पनि पढून् । प्रधानमन्त्री–राष्ट्रपतिले पनि पढून् । गुरुहरूले पढून् । सप्पैसप्पैले पढून् । त्यो किन? तिम्रो मनमा प्रश्न होला । किन भने नि, तिम्रा कविताभित्र मैले एउटा कलिलो बालकको देशप्रतिको आस्था र विश्वास पढे । गुरुप्रतिको आदर भाव पढेँ । जगत श्रेष्ठ होस् भन्ने भाव पढेँ । हाम्रा गौरव, हिमाल, नदीनालाको जयगान पढेँ । सहिदप्रतिको आदर पढेँ । देशको वीरताप्रतिको गौरव गान पढेँ । वातावरणको विनास नहोस् भन्ने भाव पढेँ । कसैले कुल्लतमा लोगेर जीवन बर्बाद नगरोस् भन्ने भाव पनि पढेँ । यानि, एक किशोरको कल्पनाको देश पढेँ । कति स्निग्ध ! कति निर्दोष ! अब, यो कुरा ठूलाबढाले पनि पढून् भन्छु । र बुझून् भन्छु— विभूति र विभूतिहरूले भगावन् जस्तै मानेका ‘गुरु’ हरू केकेमा लिप्त छन्? तिनले कत्तिको छल गरिरहेका छन् बालकहरूलाई ? सेना–पुलिसले सोचून्— के उनीहरू विभूतिहरूले कल्पेको ‘वीरत्वको जीवनी’ बाँचिरहेका छन्? ‘हाम्रो देश अखण्ड हुन्छ जहिल्यै हार्दैन कोहीसित’ भन्ने उनको बुझाइलाई हामीले जमिनमा कति प्रतिशत उतारेका छौँ? अनि सत्ता नि? ‘जनका यज्ञमा सत्ता बन्नुपर्छ धनञ्जय’ भन्छन् विभूति । यानि, अर्जुनको जस्तो सत्यको रक्षक र कल्याणकारी । सत्ता कस्तो छ? केकेमा लागेका छन्? कुन कुन आफन्तलाई राजदूत बनाउँदैछन् । कसकसले पायो नियुक्ति? के साइने थियो ठूलासँग? सोचून् न ।  ‘माला गाँसी कवि प्रणयको बोल्दछन् प्रेमभाषा’ भन्ने, हामी कविहरूका बारेमा विभूतिको बुझाइ छ । छातीमा हात राखौँ, र हामीले बनाएको गुटबन्दी, र राजनीतिक चाकडीको बाटो समाएर हामीले ओगटेका कुर्सी, पाएका पुरस्कार र थापेको दोसल्ला पनि सोचौँ । यनि, देशलाई ठेलेर, विभूतिहरूको कल्पनाभन्दा कोसौँ पर, खाल्डोको मुखैमा पु¥याउने हामीले सोचौँ न । त्यसैले पढौँ यो चिठी, र पढौँ विभूतिका पुस्तक । खोजौँ । दुवै पुस्तकको वितरक ऐरावती प्रकाशन, काठमाडौँ हो । पछिल्लो त छापेकै पनि उसैले ।  खोजी गरियो भने पाइन्छ ।

प्रिय विभूति, मेरा कुरा नसक्किने भए । तिमीलाई निद्रा लागिसक्यो होला । आराम गर । मलाई चैँ छटपटीले निन्द्रै लाग्दैन । गाउन मन लाग्छ एउटा पुरानो गीत— ‘छोपेर थाकेँ यो कालो मुटुलाई, म जन्मेकै भेषमा तिमी आज हेर…’

म छिट्टै भेट्न आउँछु र साथमा राखेर भन्छु भन्नुपर्ने थप कुरा । (थप कुरा? अझै बाँकी छन् र कुरा?) । अनि सेल्फी खिच्नुपर्छ । बरु अचेल, फोटोमा भाव उस्तैउस्तै देखिन्छन् कविहरूका । हैन?

 

उही तिमीले झकझक्याइदिएको एउटा बूढो मास्टर र एक सिकारु कवि
महेश पौड्याल

 

 

 

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha