शनिबार, बैशाख १, २०८१ | April 13, 2024

‘आकाश ओढेको डोल्पो’सँग डोल्पो-यात्रा

‘आकाश ओढेको डोल्पो’सँग डोल्पो-यात्रा

  • Naveen Sanchar

  • बिहिबार, चैत्र २२, २०८०

  • 1.1K
    Views
‘आकाश ओढेको डोल्पो’सँग डोल्पो-यात्रा

गायत्री श्रेष्ठ

नियात्रा विधा आफैँमा, असाध्यै रमाइलो विधा हो । मेरो दृष्टिमा रमाइलो, यस अर्थमा कि आफू नगएको, जान नसकेको ठाउँमा अक्षरको माध्यमबाट भए पनि विचरण गर्न पाइन्छ । नियात्राप्रति मेरो पनि उत्तिकै लगाव छ । नियात्राकार प्रतीक ढकालज्यूको ”त्यो उज्यालो कर्णाली“ पढ्दा म औधी नै प्रभावित भएकी थिएँ र छु पनि । किनकि म कर्णाली जानु सक्तिनँ कमसेकम घुमे जस्तै अनुभव प्राप्त गर्न सकेँ । अझ यो ”आकाश ओढ़ेको डोल्पो“ पढ्दा त त्यो समूहमा आफू पनि संलग्न छु जस्तो अनुभव गर्न पुगें । हुनत यात्रा गर्नु आफैमा कठीन काम हो त्यसमा पनि नारीहरूलाई त झनै कठीन काम हो । किनभने हरेक यात्रामा श्रीमानले साथ दिन सक्दैनन्, चाहना मिल्दैनन्, समय मिल्दैन आदि आदि ।

तर एउटी नारी यात्रा गर्ने चाहना राख्दछे भने ऊ निक्कै साहसिक हुनु पर्दछ किनभने उसले केवल आफ्नो चाहना पूरा गरेर सुख पाउँदैन ऊ कसैकी छोरी, कसैकी पत्नी, कसैकी बुहारी, कसैकी आमा र समाजको सदस्य हो । उसले यी सबैको व्यवस्थापन गरेर मात्र आफ्नो इच्छा पूरा गर्न सक्छे । तर ”जहाँ इच्छा त्यहाँ उपाय“ भने जस्तै हाम्री नियात्राकार भवानी खतिवडा यी सब व्यवस्थापन गर्नमा सिद्धहस्त रहिछन् । उनी समस्या सँग जुध्न रुचाउँछिन् । त्यसको साथै उनी चितायो कि बितायो भने जस्तै आँटे पछि छोरीले आँट्यो आँट्यो गर्ने स्वभावकी रहिछन् । त्यसैले त त्यस्तो विकट यात्रामा पाइला राख्न आँट गरिन् । यो यात्रामा साथ दिने अन्य तीन नारीहरूलाई पनि मेरो सलाम । एक्लो यात्रा त्यति रमाइलो र सुरक्षित पनि हुँदैन । यो पुस्तक पढेपछि थाहा भयो, भवानी खतिवडा भनेको बल र बैंश, जोश र जाँगरको ठूलो पेटारो रहिछन् । आफू मात्र नभएर अरूमा पनि त्यही उत्साह थप्ने कला रहेछ भन्ने बुझें । बाल वृद्ध वनिता सबैसँग तुरुन्तै घुलमिल हुन सक्ने क्षमताकी धनी भवानीलाई शहरिया परिवेश होस् या ग्रामीण, यात्री होऊन् या खेतबारीमा काम गर्ने किसान नै किन नहोऊन् केही फरक नपर्दो रहेछ । मान्छे अनुसारको बोली व्यवहारले लरक्कै पार्ने खुबी यी नियात्राकारमा रहेछ ।

कृषि विषयकी विज्ञ भएकोले जहाँ गए पनि खेतीपाती, फलफूलको स्याह्रार सम्भार गर्ने तरिका बाँडिहाल्ने स्वभाव, किनकि आफू कृषि विज्ञ भएकीले कृषि क्षेत्र सबल भए देश पनि सबल हुन्छ भन्ने धारणा बोकेकी उनी किसानी गरामा मात्र होइन । भीर, पाखा पखेरा डाँडा काँडा, उकाली ओह्रालीसँग असाध्यै रमाउँदी रहिछन् । धरतीप्रतिको उनको प्रेम, प्रकृतिप्रतिको प्रेम र परिश्रमीप्रतिको प्रेमको त कुरै नगरौँ । जुनसुकै नयाँ ठाउँमा टेकेपछि धरती र प्रकृतिलाई शिर ननिहुर्याई चित्तै बुझ्दैन । टाढैँबाट सही आउन बस्न नपाएकोमा क्षमा माग्दै धरतीलाई ढोग्छिन्, मन्दिरलाई ढोग्छिन् । जुन जुन प्रतिकूल छ त्यसैमा होम्मिने उनको स्वभाव रहेछ । पाइतालामा सायद ठूलै कोठी होला उनी एकठाउँमा अडिन सक्तिनन् । जस्तो सुकै विकटमा गए पनि शब्दकी जादुगर्नी भवानी आफ्नो अनुभवको पेटारो खोलेपछि सबैलाई मन्त्रमुग्ध पार्ने कलाकी धनी रहिछन् । मैले उनको ”चारखोलाको आगँनीमा“ पुस्तक पढ्दैमा उनलाई शब्दकी जादूगर्नी रहिछन् भन्ने सोचेकी थिएँ । यो पुस्तकमा आएपछि त शङ्कै निवारण भयो ।

गाउँघर हाम्रो देशको प्रायः सबैको जीवन कष्टकर हुन्छ नै ती कष्टकर जीवन गुजारिरहेका प्रति उनी अति संवेदनशील, बन्दछिन् । यही यात्रामा बाटोमा वास बस्दा कोही भरखरकी विधवा, कोही प्रेम विवाह गरेको, केही वर्ष पूरा नहुँदै शहर पसेर आफू एक्लिएको तर पनि फर्केर आउने विश्वासमा प्रतीक्षारत भएका, जस्ता महिलाहरू जो पाहुना आउँदा सामान्य भात तिहुन पस्केर होटल व्यवसाय गरिरहेकी छिन्। आखिर जीवन त धान्नै पर्‌यो नि । तर उनी तिनको जीवन देखेर भावुक हुन्छिन र सोध्छिन् पनि । ”खलरुपी“ गाउँमा एकजना बृद्धालाई देखेर बडो विनयीभावमा परिचय माग्छिन् । ती वृद्ध व्यक्तिले आफ्नो नाम पदमबहादुर मगर हो भने । त्यतिमात्र के भनेथे चारैजनालाई छोरीको साइनो लगाएर दशैंको पूर्णिमाको जमरा नौ दुर्गा भवानीको प्रसाद भनीकन लगाइदिए । उनले पनि केही पुछनी गरे ”ताल जानु हिँडेको हो?“ यो व्यवहार देख्नासाथ भवानीमा भाव फुरिहाल्यो र लेख्छिन् !

बाबुआमा दिदीबैहिनी, नेपाली हुनुको मन
चोखो आत्मीयता ज्यूदाँ गर्नै पर्दैन दोमन
नमाने देवता ढुङ्गो मानेमा पूज्य ईश्वर
पहिचान स्वयं दिन्छन् वृद्ध हुन् जगदीश्वर ।

पदम बाले राम्रैसँगै छोरीहरू सम्बोधन गरी आशीर्वाद दिएपछि त भवानी झनै पग्ली हालिन् । सबैजना पदम बाको व्यवहारले द्रविभूत हुन्छन् । ”फैलेको पानी खुम्चेका स्याउ“ शीर्षक मा नियात्राकार प्रवित्र ग्रामीण जीवनप्रति सम्मान पोख्छिन् । पदम बाको सोचको अभिव्यक्ति व्यक्त गर्दछिन् । पेन्सनको महत्त्व बुझाउँछन्, पदम बा । त्यसपछि पो  पेन्सनको वास्तविक महत्त्व बुझ्छन् । चारैजनाले चिन्नु न जान्नु कहाँको कहाँको केटीहरूलाई एकैछिनमा छोरी बनाएर आफ्नो घरमा जाने आग्रह गर्दछन् जुन काट्नै नसकिने आग्रह थियो । पदम बाको खास थातथलो कागुने रहेछ । बाटैको छेउमा ”छमकुनी “नामको होटलमा लान्छन् र भन्छन् ”यो हाम्रो कान्छी बुहारी अस्मिताले चलाएको हुटेल हो । यसले एक्लै दुःख गरेर चलाइराखेको छ अहिलेसम्म ।“ पदम बाका मिल्ने साथी पनि अपर डोल्पाबाट आएका रहेछन्, परिचय भलाकुसारी सबै भ्याइन् भवानीले ।

खाना पस्किंदै गर्दा अस्मिताले भनिन्  “मेरो बूढा पनि काठमाण्डौमै बस्छ ।”

के गर्नुहुन्छ तपाइँको बूढा ?

“खै त्यो त भन्दोइना । मलाई थाहा हुने कुरै भएन । अनि आफ्नो बुढाले के गर्छ भन्ने पनि थाहा हुन्न र ? सात वर्ष भयो मलाई छोडेर गएको उतै बसेको । आर्को ब्या गरेर बसेको खबर पायाको हो । के गर्छ, कुन ठाउँमा बस्छ, क्यै पनि था छोइना । एउटा छोरो जन्मेको थ्यो । त्यो पनि सानैमा मरिगयो । त्यसपछि बूढाले छोडिगयो ।” अस्मिताको यी कुराहरू सुनेर सबै द्रविभूत भए सायद । सबैको मनमा अनेक कुराहरू खेले होलान तर भवानी भने यसरी व्यक्तिन्छन्—

समाज भन् तँ मान्यता स्वयं परम्परा बनी
तँ हेर् विजोग बैंसको छ धन्य आस तैपनि
सुमेरू गल्छ बैंसको उचाल्न सक्तछस् पुन ?
बनून् स्वतन्त्र अस्मिता फुलून् झपक्क बागमा ।

यी सबै देखेर, सुनेर चिन्तित हुनुको विकल्प पनि के थियो र । पदम बालाई अस्मिताले पति फर्कने आसमा आफ्नो डल्लै बैशँलाई त्यसै खेर फाल्नु दिनु भन्दा उसलाई उड़ान भर्न दिनोस्, उन्मुक्ति दिनोस् । तपाईं जस्तो समाजसेवी, आफ्नो पेन्सन समेत परसेवामा लगाउने व्यक्तिले अझै अर्थपूर्ण काम गरिदिनोस् । अस्मितालाई आफ्नै छोरी सम्झेर योग्य वर खोजेर विवाह गरिदिनोस् भन्ने सल्लाह दिन्छिन्। योभन्दा ठूलो पुण्यकर्म अरू केही पनि हुँदैन भन्छिन् ।

यी वाक्यहरू पढ्दा पाठकको हृदय व्याकुल बन्दछ ।

यसरी कागने आएपछि फोक्सुण्डो खोला तर्दा देखिएको पानीको शाश्वत सौन्दर्यले नियात्राकारलाई लट्ठै पार्छ । उनले बयान गरेको त्यो सुन्दरतालाई मैले उद्धरण गरिनं । तर पनि उनी त्यहाँको जललहरका अद्धितीय सौन्दर्यले भावशून्य भएकी छन् । नियात्राकारका अनुसार पद यात्राको मुख्य आकर्षण भनेको नै फोक्सुण्डो रहेछ । उनी भन्छिन् “जतिपटक हेरे पनि उस्तै नवीन, नीलाम्य र कञ्चन छ, फोक्सुण्डो । यसैको सञ्जीवनी पाएर बैसालु बनिरहेछ यहाँको प्रकृति । नीलो पानीले सबै सबैलाई उत्साही बनाइरहेछ । हामी पदयात्रीलाई हिँड्दा हिँड्दै टक्क अडिन बाध्य बनाएर उसैको सुन्दरता नियाल्न लगाइरहेछ फोक्सुण्डोले (पृ.११३)।” गन्तब्य ताकेर हिँड्ने यात्रीले यसरी एकोहोरिएर मैलाई हेरिरहन मिल्छ र? भन्छ यात्रीहरूलाई फोक्सुण्डो ।”यर्थाथमा हो पनि त्यो एकैठाउँको अलौकिक सुन्दरतालाई मात्र हेरेर बसे अरू सौन्दर्य कहिले हेर्ने? आखिर यात्रालाई निरन्तरता त दिनै छ ।

अत्यन्त प्राञ्जल भाषामा बयान गर्छिन् नियात्राकार “लागिरहेछ म एउटा स्वर्गभूमिमा उभिएकी छु र भोगिरहेछु सुखको चरम आनन्द । झण्डै झण्डै तालकै आकारमा फैलिएको फोक्सुण्डाको अद्धितीय सौन्दर्यलाई नयनले सुम्सुम्याउदै गमिरहेछु साँच्चौ सुन्दर रहेछ शे–फोक्सुण्डो । झन् कस्तो होला शे–फोक्सुण्डो ताल?    (पृ.११५–११६) यस्तो अर्ग्यानिक सौन्दर्यले मन्त्रमुग्ध हुन्छिन् नियात्राकार साँच्चै साँच्चै अन्य अर्थ नलागे “आकाश ओडेको डोल्पो” पूरै भवानीमय बनेको जस्तो लाग्दछ । किनकि उनी प्रकृतिसँग एकाकार भएकी छन्  र सबैलाई हाँक दिन्छिन् । सक्छौ भने शहरमा फोक्सुण्डो रचेर देखाऊ न त १ त्यसै गरी राष्ट्रकवि माधव धिमिरेको नदी शिर्षक कविता सुनाउँछिन् फोक्सुण्डोलाई —

सानी नदी पर्वतबाट झर्छिन्
हा हा र हू हू मन भित्र गर्छिन्
खोला र नाला सँगिनी हजार
आएर भेट्छन् वनको पुछार

वरिपरि देखिने पहाड, हिमालको वन जंगलको बयान गरेर साध्यै छैन । हिँड्दा हिँड्दै बुद्ध धर्मको परिचय पाउँछिन् । सानो भन्दा सानो ठाउँको नाम पनि याद गरेर उल्लेख गर्न सिद्धहस्त देखिन्छन् । कतै कुन छन्दमा कतै कुन छन्दमा अनि कतै मनमा नअटाएका भावलाई मुक्तकमा व्यक्तिन्छिन् नियात्राकार ।

गाउँ घरमा पनि अन्तर्जातीय विवाह भएर जात परिवर्तन भएको, समाजले जात खसाइदिएको, शिक्षिका पेशा गरिरहेको, गाउँका बालबालिकाहरू पर्यटकहरू देखेपछि दौडेर चकलेट, विस्कीट, पैसा माग्ने गरेको पनि चित्रण गर्न भ्याएछिन् । त्यतिमात्र हो र पूर्वी पहाडतिर पाइने देऊराली र यता पाइने देऊरालीको भिन्नता पनि छुट्याएकी छन् । नेपाली र विदेशी पर्यटकको भिन्नता पनि थाहा पाइन्छ यसवाट । त्यहाँका वासिन्दा (होटलवाला)हरू भन्छन् नेपाली पर्यटक आए पैसा अलिक कमाइन्छ । उनीहरू खर्च गर्न डराउँदैनन, विदेशीहरू अडकलेर खर्च गर्छन् । होटलवालाको आम्दानी बड़ेमा होटलमा लगानी गर्न सकिन्छ । यहाँ यस्तो विकटमा होटल गरेर कमाएको पैसाले सन्तानलाई कसैले काठमाण्डौ, कसैले दार्जिलिङ्गमा पढाइरहेका छन् । यसको अर्थ उनीहरूले शिक्षाको महŒव बुझेको छन् । अन्तरजातीय (लामा र गुरुङ) विवाह गरेर भागेर यस्तो विकट ठाउँमा पनि खुशी छन् उनीहरू ।

बाटो छेउको रुखको डालीमा बसेको एकजोड़ी चरा देख्छिन् र उनीहरूको प्रेमलीलामा चुर्लुम्म हुन्छिन् । एकैपलमा साटासाट भएको उनीहरूको प्रेमलीला देखेर छक्क पर्छिन् र आफ्नो प्रेमीसित प्रणयसुख भोग्न ओर्लिएका अप्सरा हुन कि कालिदासका यक्ष यक्षिणी ? लेखिका अग्रजका भनाइहरू प्रस्तुत गर्न पनि सिद्धहस्त देखिन्छन् । जस्तै “वस्तु खेद्नु पछि लगेर, मान्छे खेद्नु अघि लागेर ।” साथीहरू अलिक हिड्न सुस्त हुन थालेको देखेपछि आफूहरू दुईजना अधिलागेर अरुलाई परोक्षरुपमा हुटहुटी जगाउछिन् । यो यात्रा गर्दा आफूले पहिला पहिला अरुतिर गरेको यात्रालाई पनि सम्झिन्छन् । “शूलीगाड” झरनाले उनलाई मन्त्रमुग्ध पार्छ । आफूलाई त्यो झरनाले “फेरि फर्की चाँडै आऊ है” भने जस्तो अनुभूति गर्छिन् ।

शे–फोक्सुण्डोको सौन्दर्यको अगाडि नियात्राकार प्रकृतिसँगै हार स्वीकार्छिन् । आफ्नो ठुटे कलमले यो सौन्दर्यको बयान गर्न असमर्थ मान्दै “हे स्थिरगङ्गे माफ गर है मलाई (पृ.१५३) ! ” भन्न पुग्छिन् । यस्तो अनुपम स्थानहरूमा विचरण गर्न सक्ने क्षमता प्रदान गर्नुहुने, जन्मदिने मातापिताप्रति अत्यन्त अनुगृहित हुदै कल्पनामा उड्दै, भावनामा डुबुल्कीदै, किलो ठोके झैँ  एकटक तालको छेउमा उभिएर बस्छिन् । तालको सौन्दर्यले सबैलाई ”मदहोश“ बनाएको अभिव्यक्ति दिन्छीन् । रिग्मो गाउँ, काङ्तोकातुङ हिमाल, काञ्जिरोवा हिमालको कञ्चन हाँसोलाई मनभरि, मुटुभरि लिएर अधि बढ़छिन्। सुत्नेवेलामा सिद्धार्थ गौतमका उद्गारलाई मनमनै सम्झदै सुत्छिन “ ये च बृद्धा अतीता च ये च बुद्धा अनागता पच्चुपन्ना च हे बुद्धा अहं वन्दामि सब्बदा” अर्थात “विगतमा जति पनि बृद्धहरू हुनुभयो, अहिले जति पनि बुद्धहरू हुनुहुन्छ र भविष्यमा जति पनि बुद्धाहरू हुनुहुनेछ, उहाँहरू सबैलाई म प्रणाम गर्दछु  (पृ.१६५)।”

स्कन्दपूराणमा उल्लेखित भैरवकुण्ड नै शे–फोक्सुण्डो रहेछ र त्यहाँको अत्यन्त महनीय दृश्यहरू देखिने कुराको जानकारी गराउछिन्  । केही मास्तिर सुन्दर गुम्बा रहेछ त्यहाँ शिर झुकाएर नमन गरेर विदा माग्छिन् । जहाँ बस्छिन त्यहीं अपनत्वको आभा बाँड़न सफल देखिन्छिन् लेखिका । के नाता लाउनुपर्ने हो टाकटुक्क मिलाउछिन् । यस्तो साथीसँग यात्रा गर्नु पाउनुको मजा नै वेग्लै । जहाँ पुगेपनि त्यो ठाँउको मानिस, रहन, सहन, रीतिरिवाज, त्यहाँको आर्थिक अवस्था, परम्परा, त्यहाँको किंवदन्तीहरू सबै सोधपुछ गरेर जानकारी राख्न माहिर भवानीले मुसिकोटको नाम कसरी रह्यो । भन्ने पनि कथा सहित जानकारी लिइन् । जुन कथाले निरक्षर भएर पनि एउटी दासीको बुद्धिमत्तालाई प्रस्तुत गरेकी छन् । त्यस्तै नौ थान पुतलीको कथा रसिलो लाग्यो । त्यत्रो बाटो ज्यान नै जोखिममा पर्ला जस्तो ज्वालामुखीको पहिरोमुनि शीर्षक पढ्दा त आङ्कै जिरिङ्ग हुने जस्तो । तर पनि उनी भने हिम्मत नहारी अधि बढेर सबैको हौसलाको केन्द्र बन्छिन् । भेरीको तीरै तिर हिँड्दा फोकसुण्डो खोलाको गडगडाहटको बयान अत्यन्त प्राञ्जल भाषामा चित्रण गर्नमा सफल भएकी छन् ।

समग्रमा भन्नु पर्दा पाठकलाई साँच्चै साँच्चै आफूपनि लेखिका सँगैसँगै, यात्रा गरिरहेछु भन्ने भान पार्न सफल भएकी छिन् । जस्तो शीर्षक उस्तै दुरुस्तै लेख्ने डोल्पोको नाङ्गा डाँडाकाँडालाई लाज छोप्ने, ओड्ने बनिदिएको छ आकाश भने हिमालको चिसोलाई छेक्ने न्यानो ओडने बनेको छ नीलो आकाश । यसरी अत्यन्त प्रतिकात्मक शीर्षक राख्न सफल देखिएकी छन् । कतै कतै पूर्वेली भाषाको प्रभाव जीवितै देखिन्छ ।  कता कतै ”मद्होस“ शब्दले अलिक धेरै प्रश्रय पाएको देखिन्छ । जता जुन शीर्षक पढे पनि जादुगर्नी भवानी छताछुल्ल भएको देखिन्छ, लेखिका कल्पनामा उड्नु र भावानामा डुबुल्किन सिपालु देखिन्छिन् । जुन शीर्षक पढे पने पाठकलाई एकदम संवेद्य बनाउन सफल भएकी छन् । यो कृति एकपल्ट पढेपछि सबैको मनमा एकपल्ट त डोल्पो जानै पर्ने रहेछ, पदन बा र उनकी बुहारी अस्मितालाई त भेटनै पर्ने रहेछ भन्ने भावना सायदै कसैको मनमा नआउला ।

लेख्ने क्रममा यो लेख के भयो म भन्न सक्तिनँ किनकि कुनै वाद वा सिद्धान्तमा टेकेर लेख्ने मेरो बानी छैन र भाषिक क्लिष्टता मेरा रुचिभित्र पर्दैन । यसको जिम्मेवारी पाठकज्यूहरूलाई नै सम्पिएकी छु ।

(साभारः साहित्यपोस्ट)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha