आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई

योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई

  • Naveen Sanchar

  • आइतवार, फाल्गुन १३, २०८०

  • 148
    Views
योगेश्वर वाङ्मय पुरस्कार कवि विमल वैद्यलाई, ग्रेगरी कलासाहित्य पुरस्कार भरतकुमार गुरुङलाई

काठमाडौँ, १३ फागुन

नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा विगत १७ वर्षदेखि काम गरिरहेको संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रत्येक वर्ष समर्पण गर्दै आएका दुई विशिष्ट पुरस्कारका लागि विजेताको घोषणा गरेको छ । योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने रु.२५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार वर्ष २०८० का लागि साहित्यलाई विशेष आत्मसात गर्दै साहित्यसेवी एवम् समाजसेवीका रूपमा वाङ्मयिक योगदान पुर्याउने इलामका कवि विमल वैद्यलाई र कलासंस्कृतिविद् प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकका नाममा स्थापित रु. २०,००० राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार २०८० ताप्लेजुङकै साहित्य, कला, सङ्गीत तथा संस्कृतिका साधक स्रष्टा भरतकुमार गुरुङलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । उपध्यक्ष राजेश्वर कार्कीकै अध्यक्षतामा बसेको बैठकमा यस्तो निर्णय गरिएको हो । काठमाडौँभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका यी दुवै पुरस्कार यही फागुन २६ गते ताप्लेजुङमा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारोहका बीच समर्पण गरिने प्रतिष्ठनकी अध्यक्ष, कवि तथा निबन्धकार मोमिलले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन् ।

योगेश्वर वाङ्मय पुरस्कार यसअघि स्रष्टाहरू डा. कृष्णराज डीसी., अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा. मधुसूदन गिरी, डीबी टुहुरो र पुष्कराज रेग्मीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार यसअघि शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागार्इं, मनोहर लामिछाने, नवीन विभास र राजेन्द्र गोपाल सिंहलाई प्रदान गरिसकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha