
-रोशन अर्याल/नवीन सञ्चार
दोहा, कतार : विगत करिब दुई वर्षदेखि घरेलु काम लगाइएकी एक नेपाली चेलीलाई तलब तथा सेवा सुबिधा नदिएको भन्ने खबर सामाजिक सञ्जाल तथा अन्य श्रोत बाट आए पछि गैर आवासीय नेपाली संघ (एनआरएनए), एनसीसी कतार, श्रमिक विभागले सत्य तथ्य खोज तलास गरेर नेपाली दूतावास मार्फत कालिका गाउँपालिका १, रसुवाकी तृष्णा तामाङ (नाम परिवर्तन)लाई सकुशल स्वदेश फिर्ता गर्न सफल भएको छ। १९ महिना अगाडि उनलाई नेपालको एक म्यानपावरबाट रसुवा नै घर भएका अमृत गुरुङले दुबई भिजिट भिसामा पठाएका थिए । उनी यूएईबाट कतारमा घरेलु कामदारको रूपमा बेचिएको पाइएको छ ।
श्रमिक विभागका संयोजक कृष्ण पन्थीले मासिक करिब १२ सय तलब दिने सर्तमा यूएईबाट कतार ल्याए पनि दुई–तीन महिनामा एक पटक एक हजार मात्रै दिने गरेको पीडितलाई उद्धृत गर्दै नवीन सञ्चारसँगको कुराकानीमा बताए । नेपालबाट दुबई आउदा आफुलाई घरेलु काम सम्बन्धि कुनै जानकारी नरहेको तथा सहज काम, सेवा, सुबिधा, राम्रो भएको म्यानपावरले बताएको थियो। उनले सामाजिक संघ सस्थाहरु संग सहयोगको लागि अपिल गरे पनि एनआरएनए एनसीसी कतारकी महिला उपाध्यक्ष नानु घलेमार्फत हिम्मत गरेर तामाङले घर छोडेर एनआरएनए एनसीसीको सम्पर्कमा आइसकेपछि मात्र उनको नेपाल फिर्तीका लागि सहजीकरण गर्न सहज भएको बताए ।
गत सालको डिसेम्बरमै एनसीसी कतारले यस बारेमा जानकारी पाए पनि कसरी कदम चाल्ने, कहाँबाट सत्य तथ्य बुझ्ने र कसरी नेपाल फिर्ता पठाउने भन्ने बारेमा दूतावाससँग समन्वय गर्दै अगाडि बढेको एनआरएनए, एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । यो विषय मानव बेचबिखनसँग जोडिने र अति नै संवेदनशील रहेका कारण केही समय लागेको बताउँदै उनले एनसीसीको जानकारीमा आइसकेपछि एनसीसीकै श्रमिक विभागका संयोजक र सह संयोजकले आवश्यक कदम चालेको बताए। दुबईबाट कतार पठाउने संलग्न एजेन्टको खोजी गरी पीडित लाई न्याय दिलाउन एनसीसी कतारले पहल गर्ने जनाएको छ । साथै नेपालबाट खाडी आउने श्रमिकलाई सम्बधित कम्पनीको बारेमा अध्यन गरेर काम तथा सेवा सुविधा सम्बन्धमा बुझेर मात्र आउन आग्रह गरेको छ।