
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल मेडिकल एसोसिएसनले कर्णाली प्रदेशको जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पबाट ठूलो मानवीय क्षति भएकोमा नेपाल चिकित्सक संघ हार्दिक समवेदना व्यक्त गर्दै सो घटनाबाट घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा हुन गएको जनधनको क्षतिले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । उक्त प्राकृतिक विपत्तीका कारण विपतमा परेका नागरिकहरुको यथाशीघ्र उद्धार गरी घाइते नागरिकहरुको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरुलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको व्यहोरा एसोसिएसनले एक विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखाहरुसँग नियमित सम्र्पक भईरहेको र सोही अनुरुपको व्यवस्था गर्न शाखा कार्यालयहरुलाई परिचालित गरिएको व्यहोरा समेत अवगत गराइएको छ ।यस्तो प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अबिलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरुको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन नेपाल चिकित्सक संघले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।