१०, असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाको नवौं नगरसभा सुरु भएको छ । आज असार १० गते बुधवार एक समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र वानियाले नगरसभाको उद्घाटन गर्नुभयो ।
पांगा पार्टी भेन्यूमा बिहान आयोजित नगरसभा समारोहको समुद्घाटन गर्नुहुॅदै मुख्यमन्त्री वानियाले कीर्तिपुर रमणीय सहर भएको विचार राख्नुहुॅदै कीर्तिपुर मिलेर बसेको सहर भएको धारणा राख्नुहुॅदै कीर्तिपुरको विकासमा बागमती प्रदेश सरकार संगसंगै रहने बताउनुभयो । मुख्यमन्त्री वानियाले कृष्णमान डंगोलको नेतृत्वमा रहेको कीर्तिपुरले समृद्धिको गन्तव्य तय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

समारोहमा विशेष अतिथि पूर्वमन्त्री एवं सांसद पुकार महर्जनले कीर्तिपुर नगरको विकासमा प्रदेश सरकार र मुख्यमन्त्रीको सहयोग स्मरणीय रहेको कुरा बताउनुभयो । समारोहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक शुभलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम र नयॉ आव २०८३–०८४ सालको अनुमानित आयव्यय प्रस्तुत गनुृभएको थियो । प्रस्तुत बजेट वक्तव्यमा चालुतर्फ ५१ करोड ४२ लाख र पुंजिगततर्फ ९६ करोड ७० लाख ५५ हजार गरि कूल जम्मा १ अर्ब ५० करोड २ लाख ५५ हजार बजेट विनियोजन प्रस्ताव गरिएको उल्लेख छ ।
समारोहमा प्रमुख प्रशासकिय अधिकृत राम दत्त भट्ट, राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरु, वडाअध्यक्ष एवं कार्यपालिका सदस्य, नगरसभा सदस्य, शाखा प्रमुख तथा अन्य कर्मचारी, विद्यालय र विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रवक्ता एवं ७ नं वडाअध्यक्ष दिवाकर अधिकारीले स्वागत तथा नगर प्रमुख कृष्णमान डंगोलले आफ्नो मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संचालन जनस्वास्थ्य अधिकृत अमृतजंग बस्नेतले गर्नुभएको थियो ।