
-रवि सापकोटा
हाल : साउदी अरेबिया
जब हामी घरबाट पासपोर्ट बोकेर निस्कन्छौँ, समस्या त्यहीँबाट सुरु हुन्छ । पहिले हामी नेपालीबाट नै लुटिन्छौँ । लाखौँ रुपैयाँ तिरेर खाडी मुलुक आउछौँ । जब यहाँ आउछौँ अनि थाहा हुन्छ सबै कुरा । न ती मेनपावरले भनेका कुरा लागू हुन्छन्, न काम नै । नेपालबाट भनेर आएको एउटा सम्झौ गरेर आउछौँ, यहाँ अर्कै हुन्छ । साउदीमा धेरैभन्दा धेरै सप्लायर कम्पनी छन तिनले मानिस ल्याउने र अरु कुनै कम्पनीलाई कामदार सप्लाइ गर्ने कार्य गर्दछन् । जब काम भनेअनुसार हुँदैन अपेक्षा अनुसार तलब सुविधा पनि पाइँदैन कतिपय कम्पनीले परिचयपत्र पनि बनाइदिँदैन । यतिमात्रै नभएर बिना लाइसेन्स गाडी चलाउन लगाइन्छ। कैँयौ नेपाली आकाशलाई छहारी बनाएर रात कटाउन बाध्य छ्न । कतिपय व्यक्तिले घर जानको लागि कम्पनीसँग भएको सम्झौता सकिँदा पनि सास्ती खेप्नु परेको छ । यहाँ धेरै नेपालीको समस्या तलब समयमा नपाउनु र तोकिएभन्दा बढी काम गर्न लगाइनु हो । यो विषयमा नेपाल सरकारले ध्यान दिनु जरुरी छ । साउदीको न्यूनतम पारिश्रमिक पनि वृद्धि गर्नु आवश्यक छ । यहाँ जहाज चढेर आएका हजारौँ नेपाली रातो बाकसमा प्याक भएर फर्कन्छ्न् । यस्ता घटना नियमित घटी रहन्छन् । कसको कमीकमजोरी छ ?मूल्यांकन कसले गर्ने ? रेमिट्यान्सतिर मात्रै नभएर श्रामिकको हकहित को लागि पनि आवाज उठाउन अपरिहार्य छ । व्यक्तिगत रुपमा म कुनै समस्यामा छैन । मैले यहाँ सामान्य जीवन बिताइ राखेको छु । मैले देखेका सुनेका कुरालाई श्रमिक अधिकारको पक्षमा आवाज उठाउन को लागि मात्रै अभिव्यक्त गरेको हुँ ।