
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण कार्यतालिकाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित एक समारोहबीच कार्यवाहक महालेखापरीक्षक काफ्लेले आर्थिक वर्ष २०८०/०८१ को संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण कार्यतालिका,स्थलगत लेखापरीक्षणका चरण तथा खटिने जनशक्ति, लेखापरीक्षण गरिने निकाय, लेखापरीक्षण विधि, कार्यालयका गतिविधि लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
समारोहमा प्रधानमन्त्री दाहालले राज्यका अङ्ग इमान्दार भएमात्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम हुने धारणा व्यक्त गर्नुभएको थियो । आमनागरिकमा राज्य र राज्यका अंगप्रतिको विश्वास कमजोर भएकाले विश्वसनीयता, पारदर्शिता र सुशासन कायम गर्न गम्भीर रुपमा सोच्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।
महालेखापरीक्षकको कार्यालयको वार्षिक कार्यतालिका अनुसार तीन चरणमा स्थलगत लेखापरीक्षण गरिने काफ्लेले जानकारी दिनुभयो । ।पहिलो चरणमा ४५ जिल्लाका निकाय, दोश्रो चरणमा १३ जिल्ला र बाँकी जिल्लाको तेश्रो चरणमा लेखापरीक्षण गरिने उहाँले बताउनुभयो । कार्यालयले स्थलगत लेखापरीक्षण टोलीमा निर्देशकको नेतृत्वमा लेखापरीक्षण अधिकारी तथा लेखापरीक्षण अधीक्षक परिचालन गर्ने जनाएको छ । २०८० चैत्र मसान्तमा महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने योजना रहेको छ ।