
(दिवङ्गत मनोचिकित्सक डा. सुदिप अर्यालको उपन्यास ‘क्रान्ति’ मा उनकी आमाको भनाइ)
मेरो छोरो जो स्वयम् कृति भएर बाँच्यो अब !
यस उपन्यासको लेखक डा. सुदीप अर्याल अर्थात् मेरो छोरो । मलाई उसको नामका अगाडि स्वर्गीय लेख्ने आँट नै आउँदैन । पहिलो कुरा त मेरो आफ्नै कोख फोरेर जन्मेको मेरो मुटुको टुक्रालाई म कसरी स्वर्गीय भनूँ ? मेरा पनि चाहना थिए– म ऊभन्दा पहिले बितूँ र उसले मेरो काँधीकाठ गरोस् । तर दैवको लीला, बाटो उल्टियो र मैले नै त्यो बालकलाई आर्यघाट लगेर जानुप¥यो र आफ्नै आँखाअगाडि आफ्नै प्रिय सन्तान खरानी भएको देख्ने अभिशप्त आमा भएर फर्किनुपर्यो ।
दोस्रो कुरो, मेरो छोरो अब डाक्टर रहेन । उसैले मनोपरामर्श दिएर ज्यान जोगाइदिएका हजारौँ मान्छे छन् यही समाजमा । तर उही मनोचिकित्सक डाक्टर सुदीपचाहिँ अब रहेन । तर पनि मैले के सुनेकी छु भने अक्षरको साधना गर्नेहरू अमर हुन्छन् । उनीहरूको नश्वर देह नासिएर गएपनि उनीहरू आफ्नै कृतिका कारणले कहिल्यै पनि मर्न पाउँदैनन् ।
अचम्म लाग्छ, सधैँ व्यस्त रहने एउटा डाक्टरले कहिले समय निकाल्यो र यो कृतिको रचना ग¥यो । एमबीबीएस गरुञ्जेलसम्म पनि ऊ पढि नै रहन्थ्यो । एमडी गरुञ्जेल पनि पढि नै रह्यो । दुवै समयमा ऊ यति व्यस्त हुन्थ्यो कि खाना खुवाउनका लागि पनि म आमा उसलाई कुरिरहेकी हुन्थेँ ।
कसरी समय मिलायो थाहा छैन, तर यो उपन्यास लेखेछ । लेख्न पनि आफ्नै विषयसँग मिल्ने यस्तो अद्भुत कथा लेखेछ । कथा पढेर मन फेरि भग्न भयो । हृदयका भित्तामा लागेका घाउका पाप्राहरू फेरि उक्किए र म फेरि अर्कै प्रकारले घाइते भएँ ।
कल्पन्छु— यस कथामा उसैद्वारा लेखिएकी नायिका ‘क्रान्ति’ लाई मनोउपचार गरेर बचाउन सफल भएको मेरो छोराले आपूmलाई पनि त्यसरी नै बलियो बनाउन सकेको भए ! दुनियाँको जीवनलाई अनमोल ठानेर मनोपरामर्श दिने मेरो छोराले आफ्नो जिन्दगीलाई पनि त्यस्तै अमूल्य ठानिदिएको भए !
तर…तर भगवान्को इच्छा अर्कै रहेछ ।
अब मेरो छोरो एक चिकित्सक भएर होइन, एक उपन्यास बनेर बाँच्ने भयो । शहीदको सन्दर्भको कुरो गर्दा अरूहरूले भनेको सुन्थेँ— मर्नेहरू अमर हुन्छन् ।
हो, मेरो छोरो पनि अल्पायुमै बित्यो । बित्यो पनि होइन, आफूले आफैँलाई बितायो । के भयो, कसो भयो, केही थाहा नहुँदै बिहे गरेको दुई महिनामै ऊ आफैँले महाप्रस्थानको बाटो रोज्यो ।
मेरो छोरो डाक्टर सुदीपको भौतिक उपस्थिति अब कतै छैन यो संसारमा । मेरो छोरो त स्वयम् यो कृति भएर बाँच्यो अब मनोचिकित्सकीय साहित्यको संसारमा ।
छोरा सुदीप, यी अक्षरहरूमा म तिमीलाई नै देखिरहेछु । तिम्रा यी अक्षरकै ऐनामा अब मैले पनि आफ्नो बुढ्यौलीलाई हेर्ने अभ्यास गरिरहनेछु ।
प्यारो छोरा ! तिमी अक्षर भयौ । ठानेकी छु, तिमी अमर भयौ ।
तिम्रो आत्मालाई चीरशान्ति मिलोस्, प्रिय छोरा !
सरस्वती अर्याल
बबरमहल, काठमाडौँ ।