
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा योजना अन्तर्गत आर्थिक वर्ष २०७९।८० मा २२ हजार छ सय सात सञ्चयकर्तालाई ३९ करोड चार लाख ८३ हजार चार सय ४९ रुपैयाँ भुक्तानी गरेको छ । सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा योजना, काज किरिया अनुदान योजना, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु स्याहार सुविधा र कल्याणकारी योजना अन्तर्गत सञ्चयकर्ता तथा सञ्चयकर्ताको हकवाला समेतलाई गरी सो रकम वितरण गरिएको कोषले जनाएको छ ।जसमध्ये स्वास्थ्योपचार सुविधा शीर्षक अन्तर्गत एक हजार नौ सय १७ जना सञ्चयकर्तालाई सात करोड छ लाख ५५हजार पाँच सय ९६ रुपैयाँ २२ पैसा भुक्तानी दिइएको कोषले जनाएको छ । घातक रोगतर्फ पाँच सय ४० जना सञ्चयकर्तालाई ९करोड ५९ लाख ७५हजार तीन सय ५२ रुपैयाँ ४२ पैसा भुक्तानी गरिएको कोषको निवृत्तिभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागका वरिष्ठ प्रबन्धक ध्रुव तिवारीले बताउनुभयो ।
सुत्केरी तथा शिशु स्याहार योजना अन्तर्गत १९ हजार ८७ सञ्चयकर्ताले १४ करोड ३१लाख ५२ हजार पाँच सय रुपैयाँ भुक्तानी पाएका छन् । सात सय ९० सञ्चयकर्ताका हकवालाले काजक्रिया अनुदान सुविधावापत ३ करोड १५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत एक सय ६४ सञ्चयकर्तालाई ३करोड २८ लाख रुपैयाँ वितरण गरिएको कोषले जनाएको छ । सामाजिक सुरक्षा सुविधा शीर्षक भुक्तानी भएको रकमको दायित्व कोषबाटै व्यहोर्ने गरिएको छ । कोषको तथ्याङ्क अनुसार कल्याणकारी योजना अन्तर्गत एक सय नौ सञ्चकर्तालाई एक करोड ६३ लाख ५० हजार रुपैयाँ दिइएको छ ।