
नवीनसञ्चार सम्वादाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित योगदानमा आधारित निवृत्तिभरण कोषमा आर्थिक वर्ष २०७९।८० मा १७ हजार तीन सय योगदानकर्ता आबद्ध भएका छन् । ती योगदानकर्ताबाट २०८० असार मसान्तसम्म ३ अर्ब १९करोड ६०लाख १७हजार ५सय ८१ रुपैयाँ ८९ पैसा योगदान कोष रकम जम्मा भएको कोषले जनाएको छ ।
योगदानमा आधारित निवृत्तिभरण योजनामा आबद्ध योगदानकर्ता कार्यालयको संख्या एक हजार दुई सय ६१ पुगेको छ । कोषको निवृत्तिभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागका अनुसार आ.व. २०७९।८० मा २४ जना योगदानकर्तालार्ई २१ लाख ७४ हजार आठ सय ८० रुपैयाँ भुक्तानी गरिएको छ ।कोषको तथ्यांक अनुसार सुरुदेखि आर्थिक वर्ष २०७९।८० सम्म ६३ हजार २ सय ८२ योगदानकर्ता योजनामा आबद्ध भएका छन् । प्रारम्भदेखि हालसम्मको योगदान कोष रकम ६ अर्ब ५०करोड ५५लाख ४२हजार सात सय दुई रुपैयाँ १९ पैसा पुगेको छ । हालसम्म सो योजनामा आबद्ध हुने योगदानकर्ता कार्यालयको संख्या ३२११ पुगेको विभागका वरिष्ठ प्रबन्धक ध्रुव तिवारीले जानकारी दिनुभयो ।
निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम आवश्यक कानूनी व्यवस्था हुनासाथ प्रदेश सरकार का कर्मचारी र स्थानीय तहका कर्मचारीे तथा शिक्षकको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना समेत सञ्चालन गर्न कोषले आवश्यक व्यवस्था गरिसकेको छ ।
वि.सं. २०७६ श्रावण १ पछि स्थायी नियुक्त हुने निजामती सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी वल, नेपाल र नेपाल विशेष सेवाका कर्मचारीहरुका लागि योगदानमूलक निवृत्तभरण योजना लागु भएको हो । यस योजनामा सहभागी हुने कर्मचारीले मासिक तलबवाट ६ प्रतिशत कट्टा गरिने र सोही अनुपातमा नेपाल सरकारको योगदान हुने व्यवस्था छ । प्रत्येक ३ वर्षमा निवृत्तभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक सम्म बढ्ने प्रावधान छ । २० वर्ष सेवा अवधि पुरा नहुँदै सेवामा नरहेमा कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ठ भुक्तानी पाउने व्यवस्था छ ।२० बर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुको व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन, २०७५ मा भएको व्यवस्था अनुरुप भुक्तानी पाउने कोषले जनाएको छ ।