
महेश पौड्याल

महेश पौड्याल
अङ्ग्रेजी साहित्यको मूल भँगालोमा सायदै कसैले सम्झने एउटा नाम छ, तर साहित्यको इतिहास लेख्नेहरू त्यो नाम छुटाएर अगाडि बढ्दैनन् । ऊ सर्जक होइन । कथा, कविता, नाटक अथवा उपन्यास लेखेन उसले । तर, सर्जकहरू को हुन्, कहाँ जान्छन्, के खान्छन्, के लेख्छन्, कसरी लेख्छन् कसकसलाई भेट्छन् आदि सम्पूर्ण कुराको अभिलेख राख्थ्यो ऊ । कहिलेकाहीँ उसलाई निम्ता नगरिएको ठाउँमा पनि जन्थ्यो, र आमन्त्रित श्रष्टा भित्र रहँदा आफू बाहिर, मूल ढोककै आसपास कुरेर बस्थ्यो, र पछि त्यहाँ के भयो, कसो भयो, कसले कसलाई भेट्यो, सिर्जना वाचन भयो वा भएन आदि कुराको सोधपूछ गरेर टिपोट ग¥थ्यो । उसको नाउँ जेम्स बोसवेल थियो । उसले सबैभन्दा बढी पीछा गरेको साहित्यकार डा. सेम्यूल जोन्सन थिए, जो अठारौँ शताब्दीको मध्यतिर बेलायतमा सबैभन्दा कहलिएका समालोचक र उपन्यासकार थिए । उनीसँग धेरै लेखकको उठबस रहने हुँदा बोसवेलले उनलाई छोड्दैनथे । फलतः “लाइफ अफ जोनसन” तथा, अन्य श्रष्टाहरूका बारेमा कैयौँ संस्मरणात्मक लेख लेखे, जसले अठारौँ शताब्दीका बेलयती कविहरूका बारेमा एउटा आधिकारिक र प्रामाणिक ग्रन्थ दियो । त्यसपछि अङ्ग्रेजी साहित्यका इतिहास अर्कै भयो ।
अठारौँ शताब्दीको मध्यतिरै अर्को एउटा महत्त्ववपूर्ण र ऐतिहासिक काम भयो बेलायतमा । संसारमै पहिलोपल्ट साहित्यक पत्रिकाको प्रकाशन सुरु भयो — “द स्पेक्टेटर” र “टे्टलर” पत्रिकाको प्रकाशनसँग । सेम्युल रिचार्डसन र रिचर्ड स्टील नाम गरेका साहित्यिक पत्रकार र लेखकले यो ऐतिहासिक काम गरे । आज सर्जकहरूको सूचीमा उनीहरूको नाम आउँछ आउँदैन, त्यो एउटा छुट्टै चर्चाको विषय होला, तर साहित्यक पत्रकारिताको इतिहासमा यी दुई व्यक्तित्वको नाम सम्मानका साथ शिखरमै लिइन्छ, र उनीहरूको पत्रिकामा प्रथमपटक रचना, विशेष गरी गद्य सिर्जना प्रकाशित गरेर साहित्ययात्रा सुरु गरेका अनेक साहित्यकारले विश्वसाहित्यको इतिहासका पाना भरेका छन् । जबसम्म मानव सभ्यतामा साहित्यको महत्त्व रहन्छ, तबसम्म यी दुई व्यक्तित्वको नाम त्यही श्रद्धाका साथ लिइने छ ।
नेपाली साहित्यको हकमा साहित्यिक पत्रकारिताको शिखरमा हामी मोतीराम भट्टलाई पाउँछौँ । “गोरखा भारत जीवन” तथा “सुधा सागर” पत्रिकाको सुरुवात गरेर मोतीराम भट्टले जुन पुनित कार्य सुरु गरे, त्यसैको जगमा उभिएर नेपाली साहित्यको विशाल धरोहरकाु एउटा विश्वसनीय अभिलेख आज हामीसामु खडा छ । त्यसको महत्त्वके हो, नेपाली साहित्यका पाठक, अनुसन्धाता, इतिहास लेखक, अभिलेख सङ्कलक — सबैलाई थाह छ । त्यो एउटा यस्तो आदि उज्योलो थियो, जसको आलोकमा आजपर्यन्त हामी आफ्नो बाटो खोजिरहेका छौँ ।
वि.सं. २०१८ सालमा प्रकाशन आरम्भ गरेको “रचना” पत्रिका यसै उज्यालोको कडीमा आएको अर्को एउटा विशिष्ट घाम हो, जसको उज्यालो आजपर्यन्त हामी पाइरहेका छौँ, र साहित्यको राजमार्गमा आफ्नो बाटो पहल्यिाइरहेका छौँ । र त्यस घामको अजस्र ऊर्जाको श्रोतको नाम रोचक घिमिरे हो । अनेकानेक रङ्गारङ साहित्यक पत्रिका जन्मने, मर्ने र पुनः अर्कातिर जन्मने, र फेरि मर्ने क्रम चलिरहँदा, अथवा दैनिक पत्रपत्रिकाका साहित्यिक परिशिष्टाङ्कहरू विभिन्न आग्रह र राजनैतिक अभीष्टबाट ग्रसित भैरहँदा “रचना” आफ्नै एक शालिन गतिमा अक्षुण्ण बगिरहेको छ, आफ्नो छुट्टै तर विशिष्ट गति गति बोकेर, एक गौरवपूर्ण इतिहास बोकेर, साहित्यको उच्चताको सम्पूर्ण हेक्काका साथ । र यसका पछाडि सधैँ सधैँ प्रनिध्वनित भैरहने त्यस अविछिन्न चेतनप्रवाहको नाम हो रोचक घिमिरे ।
साहित्यकार र साहित्यक पत्रकारहरूसँगको प्रत्यक्ष भेटघाट, चिनजान र उठबसकै आधारमा एउटा सिङ्गो ग्रन्थ तयार पारे रोचक घिमिरेले, र नाम दिए “अनुहार र अनुभूति” । धेरै दशकदेखि नेपाली साहित्यको एक अग्रणी पत्रिका “रचना” को सम्पादन कार्यमा संग्लग्न साहित्यकार घिमिरे ती सम्पादकमध्येका एक हुन्, जसको पत्रिकामा प्रथमपटक रचना प्रकाशित भएपछि धेरै साहित्यकारले आफू साहित्याकाशमा विधिवत प्रवेश गरेको अनुभव गरे, र सोही अनुभवमा टेकेर उनीहरूले नेपाली साहित्याकाशका चम्किला तारा बनेर नाम कमाए । रोचक घिमिरेसँग ती अद्यअनुभवको फस्ट–हेण्ड अभिलेख छ, जुन प्रकाशित हुन बाँकी छ, र उनलेबाहेक अरूले सायदै थाह पाएका होलान् । अर्को कुरा, नेपाली साहित्यको मूलधारमा आज देखापरेको तरुण र युवा समूहले पढेका र सुनेका, तर खासै सङ्गत र उठबस गर्न नपाएका, केही दिवङ्गत भएका, र केही जीवनको उत्तराद्र्धको समय व्यतीत गरिरहेका साहित्यकार र साहित्यिक पत्रकारका बारेका अत्यन्त दुर्लभ, रोचक र प्रेरक प्रसङ्गहरू उनीसँग छन् । उनीहरूको साहित्यक जीवनको प्रस्थानविन्दु, विभिन्न मोड र उतारचढाउ, उनीहरू बारेका भ्रम र यथार्थ, र लोकले बिरलै पढ्न पाएको उनीहरूको हृदयको भित्री विशालताका साक्षी हुन् रोचक घिमिरे । यसै धरातलबाट उनले तयार गरेका हुन् “अनुहार र अनुभूति”— एउटा दुर्लभ संस्मरण–सङ्ग्रह ।
रोचक घिमिरेले यस सङ्ग्रहमा समेटेका नामहरू नेपाली साहित्य र साहित्यक पत्रकारिता फाँटमा मूर्धन्य व्यक्तित्वहरू हुन् । अच्युतरमण आचार्य, आनन्द देव भट्ट, धुस्वाँ सायमी, बालमुकुन्द पाण्डे, वासुदेव लुइँटेल, मदनमणि दीक्षित, कर्णेल डम्बर समशेर थापा, लेखनाथ पौड्याल, पुण्यप्रसाद सुवेदी, रमेश विकल, विश्व शाक्य, लक्ष्मीप्रसाद देवकोटा, रामचन्द्र गौतम, जगदीश घिमिरे, भैरव अर्याल, विजय मल्ल, क्षेत्रप्रताप अधिकारी, दधिराम पौडेल, डम्बर घिमिरे, देवकुमारी थापा, गणेशबहादुर प्रसाईं, जनकलाल शर्मा, माधवलाल कर्माचार्य, महेश्वर शर्मा, रमेश गोर्खाली, शेषराज सिवाकाटी, मोहन दुवाल, बालकृष्ण सम, हर्षबहादुर बुडामगर, राजेश्वर देवकोटा, नयराज पन्त, नारायणबहादुर सिंह, मनु ब्राजाकी, धीरेन्द्र झा, क्याप्टेन जनक राणा, रत्नदास प्रकाश, प्रकाश ए. राज लगायतका नेपाली साहित्य र साहित्यिक पत्रकारिताका मूर्धन्य साधकहरूबारेका रोचक र दुर्लभ प्रसङ्गहरू यस संस्कमरणमा समेटिएका छन् । कतिपय निबन्धहरूमा समालोचनात्मक कलेवर पनि छ, जसमा लेखकले ती विद्वानहरूका कृतिको स्वरूप र कथ्यमाथि पनि आफ्ना टिप्पणीहरू राखेका छन् । प्रत्यक्ष भेटघाटमा हुने गरेका नितान्त निजीदेखि साहित्यक, र राष्ट्रिय महत्त्वका समसामयिक विषयबारेका चर्चा यस पुस्तकमा समेटिएका छन् । व्यक्तिविशषबारेका प्रसङ्गहरूका अतिरिक्त अरु दुई उल्लेखनीय निबन्धहरू पनि छन् यस सङ्ग्रहमा । पहिलो, २०७२ सालका महाभूकम्पमा लेखकाको निजी अनुभव, तथा दुई साहित्यिक पत्रिका “नेपाल पोष्ट” र “नयाँ करेन्ट” ले नेपाली साहित्यको विकासमा पु¥याएको उल्लेखनीय योगदानको चर्चा पनि समेटिएको छ । पञ्चायतको निरङ्कुश समयमा जनपक्षीय र निर्भीक पत्रकारिताको अभाव रहेको बेला, सत्ता र शक्तिको जालो चिरेर, पटकपटक प्रतिबन्ध खेपेर पनि वस्तुनिष्ठ साहित्यक पत्रकारितामा अडिक यी पत्रकारिता नेपाली साहित्यक पत्रकारिताको इतिहासमा निर्भीकताका प्रमाण हुन्, र आजसम्म आफूलाई जीवन्त राखेका छन् ।
लेखक, सम्पादक र सङ्कलक रोचक घिमिरेको साहित्यक रुझान विरासतमै आएको एउटा स्वभावजस्तो लाग्छ । उनले आफैँबारे लेखेको संस्मरणलाई आधार मान्दा, उनी जुन परिवेशबाट हुर्किएर आए, र उनको निजी जीवनसँग जेजे कुरा गाँसिएर आए, ती सबको योगदान देखिन्छ उनको वर्तमान व्यक्तित्वको निर्माणमा । उनको जन्मको नाम “घनानाथ” हो, र उनको जन्मको खुसियालीमा उनका बुवा पं सोमनाथ शर्मा घिमिरेले “मयूरध्वज धार्मिक नाटक” वि.सं.१९९९ मा प्रकाशित गरेको कुरा लेखकले “मेरो रचना यात्रा” शीर्षकको निबन्धमा उल्लेख गरेका छन् । त्यो नाटक त्यसै साल मञ्चनसमेत भएको रहेछ । बाँसका पट्यासमा आमाको सहयोगले पहिलो अक्षर लेखेका रहेछन् घिमिरेले । लेखनाथको “पिँजडाको सुगा” को “भन्दछ तेस्रो आत्माराम” भन्ने वाक्यांशमा “आत्माराम” आफू नै होला भन्ने आभासमा हुर्किएका घिमिरेको नामै “आत्मा” पनि रहेछ बाल्यकालमा । आफ्ना पिताका साथीहरूमा त्यस बेलाका दिग्गज साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, योगी नरहरिनाथ, जनकलाल शर्मा, माधवलाल कर्माचार्य आदि घरमा निरन्तर आइरहने र साहित्यक कुरा गरिरहने हुँदा रोचक घिमिरेले सानैदेखि साहित्यक कुराकानीको रस थाह पाए । पछि २०१८ मा घिमिरेका यी सम्पूर्ण अभिरुचिहरू “रचना” को पहिलो प्रकाशनमा तबदील भए, र यससँगै रोचक घिमिरेको परिचय एक साहित्यक सम्पादकमा बद्लियो, जो आजपर्यन्त अक्षुण्ण र अविरल छ । “रचना” त्यो इतिहास बोकेको पत्रिका हो, जसबाटै नेपालका मूर्धण्य साहित्यकारहरू पारिजात, भैरव अर्याल, रमेश विकल, भूपी शेरचन, तुलसी दिवस, परशु प्रधान, शैलेन्द्र साकार, जगदीश घिमिरे, मनु ब्रजाकी, धु्रवचन्द्र गौतम आदि अनेक लेखकहरूका रचना प्रथमपटक छापिएका थिए ।
विगत ५७ वर्षदेखि, अनेक सजिला–अप्ठेराहरूको सामना गरेर पनि, र परिआउँदा श्रीमतीको गरगहना बेचेर पनिजीवित राखिएको पत्रिका “रचना” को नेपाली साहित्यको इतिहासमा जुन महत्त्व छ, त्यसका जन्मदाता र सम्पादक रोचक घिमिरेको भूमिकाको पनि त्यही महत्त्व छ । तरै पनि, आफ्ना बारेमा रोचक घिमिरे भन्छन्— “रचना पत्रिकालाई माध्यम बनाएर मातृभाषा नेपालीको स्वार्थरहित सेवा गर्न खोज्ने एउटा मामुली व्यक्ति रोचक घिमिरे हो भनेर मलाई चिनिदिए हुन्छ । आफ्नो निमित्त यत्ति पुरस्कार नै पर्याप्त ठान्दछु म !” कति निष्काम ! कति निस्वार्थ !
यस पुस्तकमा समेटिएका संस्मरणहरूको ऐतिहासिक र अभिलेखीय महत्त्व छ । रचना पढेकै आधारमा कुनै पनि श्रष्टाको स्वभाव र संघर्ष थाह हुँदैन । कतिपय सन्दर्भमा रचना पढेकै आधारमा लेखकको स्वभावको बारेमा पाठकले श्रष्टाका बारेमा गलत धारणा पनि बनाएको हुनसक्छु । उदाहरणका लागि सधैँ कटाक्ष र व्यङ्ग्य लेख्ने बासुदेव लुइँटेल र भैरव अर्यालका जीवनसङ्घर्ष र दयावान व्यक्तित्व, धुस्वा सायमिको ज्ञानको दायर र उनको अरुप्रतिको सम्मान–भाव, आनन्ददेव भट्टको मित्रप्रेम र साथीभाइको खोजखबरी गर्ने बानी, बालमुकुन्द देव पाण्डेको स्वाभिमानी र निःश्कलङ्क व्यक्तित्व, मदनमणि दीक्षितको विरोधाभासपूर्ण सत्ताप्रेम, लेखनाथको दरबार रिझाउने काइदा अदि अनेक साहित्यकार र साहित्यक पत्रकारका अनेक स्वभाव र पाटाहरू यो पुस्तक नलेखिएको भए, कहिल्यै पनि सतहमा आउने थिएनन्, र समयको गर्तमा कतै हराएर जाने थिए । यस पुस्तकले ती दुर्लभ यथार्थहरू खोलेको छ, जुन न कुनै जीवनीकारले यसअघि लेखे, न नै ती रचनाकारका रचना पढ्दा कतै खुलेर आउँछ । तर व्यक्तिको स्वभावसँग गाँसिएका ती पाटा यसरी खुलेर आउँदा, उनीहरूका रचना थप बोधगम्य हुन्छन्, र पठन अझ पूर्ण हुनसक्छ ।
अभिलेखीय महत्त्वको यस पुस्तकले नेपाली साहत्यिका आगामि दिनमा तीन प्रकारका महत्त्वपूर्ण प्रभावहरू छोड्ने निश्चित छ । पहिलो, आफ्ना प्रिय अग्रजको जिन्दगीका व्यक्तिगत, अनुकरणीय र दुर्लभ पाटाहरूसँग पाठकलाई परिचित गराउनेछ । कतिपय सन्दर्भमा, लेखकहरूको स्वभाव, चिन्तन र आनीबानीमा देखिएका सामान्य समस्याबारे पनि उनीहरूलाई परिचित गराउने छ, र आफ्ना शक्ति र सामथ्र्यसहित श्रष्टाहरूको परिचय स्थापित गर्नेछ । त्यसका आधारमा उनीहरूको सिर्जनाको पठन–विपठन थप वस्तुनिष्ठ भएर जाने निश्चित छ । दोस्रो, नेपाली साहित्य र साहित्यिक पत्रकारितामा गहन अनुसन्धान गर्न खोज्ने जोकोहीका लागि पनि यो पुस्तक एक दर्विलो, आधिकारिक र प्रमाणिक अध्ययनसामग्री हुनेछ । र तेस्रो, यस पुस्तकले यसका लेखक रोचक घिमिरेलाई पाठकीय आँखामा श्रद्धाको एक दुर्गम उचाइसम्म लानेछ, जहाँबाट यत्तिका वर्ष शान्त, हाँसमुख, निर्विवाद र अविचलित स्वभावका साथ आफ्नो लेखन, प्रकाशन र सम्पादन कर्ममा लागिरहेका रोचक घिमिरेले साहित्यक पत्रकारिताको माध्यमबाट पाठकहरूलाई जुन दुर्लभ अभिलेख दिए, त्यसको गरिमा र महत्त्व प्रमाणिक रूपमै खुलेर आउने छ ।
युवा वयका साहित्य प्रेमी र पाठकका लागि त यो पुस्तक एक मिथकीय आख्यानजस्तो पनि लाग्छ । यसले समेटेका धेरैजसो श्रष्टासँग म र मेरो पुस्ताको प्रत्यक्ष उठबस र चिनजान छैन । कतिपय दिवङ्गत भैसक्नुभएको छ । उहाँहरूबारे यस संस्मरणमा दुर्लभ कुराकानी पढ्दा, आफूले सधैँ श्रद्धाका साथ पढेका श्रष्टाहरू कुनै रङ्गञ्चमा प्रत्यक्ष देखेजस्तो अनुभूति हुन्छ, र हामी रोमाञ्चित हुन्छौँ । उनीहरूको सिर्जनामा कहिल्यै नखुलेको कुनै आकाश खुलेर आउँछ, र श्रद्धाले हाम्रो शिर निहुरिन पुग्छ । र यो सम्झिरहँदा हाम्रो शिर, यो सम्पूर्ण कुरा सम्भव पारिदिने लेखक रोचक घिमिरेप्रति पनि त्यसै गरी झुक्छ ।
हाम्रो पुस्ता साहित्यक पत्रकारिता र प्रकाशनको सजिलोअप्ठेरोसँग पनि परिचित छ । छः दशकदेखि, अविछिन्न रूपमा, त्यो पनि निष्काम भावले एउटा पत्रिका प्रकाशित गरिरहनु, लेखक–कविलाई उठाइरहनु, नयाँ नयाँ प्रतिभा खोजेर अवसर दिइरहनु, मान सम्मान र पुरस्कारको मोह र लोभबाट सधैँ टाढा रहनु, विवादहरूबाट सर्वथा मुक्त रहनु, र मौन मौन आफ्नो काम उही मृदु मुस्कानका साथ, उही खुसीका साथ गरिरहनु कुनै चान्चुने काम होइन । र त्यो कहीँकतै, कसैसँग सम्भव छ भने त्यो रोचक घिमिरेसँग सम्भव छ ।