सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

  • Naveen Sanchar

  • बिहिबार, साउन १८, २०८०

  • 57
    Views
कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

 रमेशमोहन अधिकारी

१. विषय

कवि निमेष निखिलको तेस्रो कविता सङ्ग्रह हो ‘शोकगीतको पोस्टमार्टम’ । उनका यस अघि प्रकाशित ‘मनहरूको परिसर’ छोटा कविताहरूको सङ्ग्रह हो भने ‘उमेरको नदी’ लामा कविताहरूको । माघ २०७१ मा प्रकाशित ‘शोकगीतको पोस्टमार्टम’ भने अगिल्ला दुई कृतिहरूभन्दा अलि पृथक् छ ।

उनी यस कविता सङ्ग्रहमा पनि अन्य सङ्ग्रहमा झैँ राष्ट्रियताप्रति चिन्तित छन् । मानिसका कुण्ठाहरू प्रकट गर्न नपाइएको तिक्तताको अभिव्यक्ति गर्ने कवि हाम्रो देशका बासिन्दाहरूमा दलीय, जातीय, साम्प्रदायिक तथा विविध प्रकारका द्वन्द्वले सिर्जना गरेको आतङ्क तथा सन्त्रास आफ्ना कवितामा व्यक्त गर्दछन् । आम नागरिकका असन्तुष्टि कवितामा व्यक्त गर्दै भोका, नाङ्गा, चेलीहरू तथा सम्पन्नहरूका विविध प्रकारका सपनाहरू पुरा हुन नसकेकामा चिन्ता प्रकट गर्दछन् ।

सर्वत्र अँध्यारो भविष्य रहेको अभिव्यक्ति गर्ने उनी देशमा उज्यालो ल्याउन नसकेकामा आफैँप्रति समेत असन्तुष्ट छन् र निराश नागरिकहरूमा आशावाद स्थापना गर्ने कल्पना गर्दछन् :

देश, जहाँ बिसाएर सबै सबै वेदनाहरू
मान्छे निद्र्वन्द्व ‘मान्छे’ बाँच्न सकून्
फुकालेर आदिम पीडाको कालो आवरण
एउटा सिङ्गो हिमाल हाँस्न सकून् बिम्ब एउटा देशको (पृ. ३१)

मिहिनेतले देश उठाउनु पर्छ भन्ने सोचाइ राख्ने कवि निमेष कवितामा सामान्य नागरिकका समस्याप्रति चिन्तित पाइन्छन् ।

२. विचार

पहाडी ग्राम्य जीवन तथा सुन्दरताको स्मरण र व्याख्यान गर्न रुचाउने कवि निमेषका कविताहरू निराशावादी पनि छन् । उनी नेपालीहरू पीडामा परेको तथा चिन्तित रहनु परेको देख्न चाहँदैनन् । त्यसैले उनले शोकगीतको पोस्टमार्टममा लेखेका छन् :

अब गर्नु छ —यी सबै शोकगीतको पोस्टमार्टम
र निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाट
खोज्नु छ नयाँ समयका लागि नयाँ नयाँ भाकाहरू
गीत त फेरि पनि हामीले गाउनै छ शोकगीतको पोस्टमार्टम (पृ. ५३)

प्रेमको अस्तित्व स्विकार्ने यी कवि सम्पूर्ण बेथितिहरूको अन्त्यको चाहना गर्दछन्, सुखको संसारमा रमाउने अभीप्सा राख्तछन्, सम्पूर्ण नेपाली बिच सद्भाव र आत्मीयता कायम रहोस् भन्ने चाहना राख्तछन् । कविको सचेतता कवितामा यसरी व्यक्त भएको छ :

आँखामा आगो नभएको भए
म पनि निदाउँथेँ होला—सपनाहरू सिरानी हालेर
निदाउँथेँ होला—ओढेर लामो समय चुपचाप चुपचाप अनिद्रा (पृ.१०)

राष्ट्रियताप्रति सचेत यी कवि आफ्नो देश सही बाटामा हिँड्न नसकेकामा, देशको सुरक्षा स्थितिप्रति तथा नेपालीहरूका बिदेसिने प्रवृत्तिप्रति चिन्तित पाइन्छन् र पनि भोक, रोग र शोकहरूमा विजय प्राप्त गर्ने कल्पना गर्दछन् । जीवनवादी यी कवि मूलतः आशावादी छन्:

समृद्धिको जून फुलेको आकाशमा
आशाका तारा टिल्पिलाएको परिदृश्य हेर्न
अझै आतुर छन् मान्छे आँखा एउटा आकाशको खोजी (पृ.४३)

मानिसको आदिमकालदेखिको सुखको अभीप्सा पुरा हुन सकेको छैन । आजको मानिसले यसो गरे पनि सुख पाएको छैन, उसो गरे पनि सुख पाएको छैन । यस्ता कुराहरूले कविलाई निराशातर्पm डो¥याउँछ । राष्ट्रिय विसङ्गति र विडम्बनाहरूबाट मुक्तिको चाह राख्ने यी कवि मान्छेका हर प्रयास असफल भएपछि बाध्य भएर विद्रोही बन्छ भन्ने धारणा राख्तछन् र संयमित हुन खोज्दाखोज्दै कवि आक्रोसमा समेत आउँछन् :

ए राज्य !
भन् कहिलेसम्म उभिरहन्छस् ?
हाम्रा सपनाको विपक्षमा

कवि त्यागको बदलामा सुन्दर जीवन प्राप्त हुन नसकेको अभिव्यक्ति गर्दछन्, सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्न नदिनेतर्पm सजग छन् । कविको आफ्नो देशका सारा विसङ्गतिहरू तोड्ने सङ्कल्प ज्यूँका त्यूँ छ । यसप्रति उनी दृढ छन् र लक्ष्योन्मुख पनि:

जितेरै छोड्छु दुखहरूलाई एक दिन
पराजित गरेरै छोड्छु आँसुहरूलाई एक दिन
म त यसै भनेर हिँडेको छु आजसम्म
एउटा प्रश्न (पृ. ६७)

कवि मुर्दा शान्तिप्रति असहमत छन् । रूढिवाद विरोधी मानसिकताका यी कवि नास्तिक लाग्दछन् । चाकडीवादप्रति असन्तुष्ट यी कवि अत्याचारप्रति विमति राख्तछन् ।

कविता आफैँभित्र हुने धारणा राख्ने यी कवि हार्दिक मानवीय सम्बन्धको अपेक्षा राखे पनि प्राकृतिक सौन्दर्यका मात्र कविता नलेख्ने धारणा व्यक्त गर्दछन् । भावनात्मक कविता मात्र लेख्न नसकिने धारणा राख्ने यी कवि कवितामा सामाजिक यथार्थ ब्यक्तिनुपर्छ भन्ने धारणा राख्तछन् । पीडामा कविता लेख्न कठिन हुने धारणा राखे पनि पीडाका कविता मात्र यथार्थ कविता हुन् भन्ने धारणा व्यक्त गर्दछन् ।

सम्पूर्ण विसङ्गति तथा विडम्बनाहरूको पूर्ण समाप्तिको कामना गर्ने यी कवि प्रतिकूलतामा बिब्ल्याँटाहरू नै बढ्न सक्ने धारणा व्यक्त गर्दछन् । विचारहरूलाई निषेध गरेमा विद्रोह हुने धारणा राख्ने यी कवि आमूल परिवर्तनकारी हुन् । त्यही भएर समाजलाई बदल्न खोज्ने यी कविमा प्रमिथसीय चिन्तन पनि देखिन्छ:

खोसेर हावाबाट जीवनको सुवास
पानीबाट जीवनको लय र ताल
लुटेर हिमालबाट मान्छेका मुस्कान
म मान्छेसम्मै फर्काउने अभियानमा लागेको छु यात्रामा (पृ. ७७)

३. व्यङ्ग्य

कविता लेख्नु भनेको भावनाहरूको सुललित प्रकटन हो भने विसङ्गत पक्षहरूप्रति प्रहार गर्नु पनि हो । वर्तमानका सशक्त कवि निमेषले पनि आपूmलाई यसबाट अलग्ग राखेका छैनन् । यसै क्रममा उनले मानिसका आडम्बरी प्रवृत्ति, आजका मान्छेको नकच्चरोपन तथा विसङ्गतिहरू बोकिरहनु पर्ने आजका मानिसको विवशताप्रति व्यङ्ग्य गरेका छन् । यसै गरी संवेदनहीनताको पराकाष्ठा, मानवताको उपहास, अत्याचार सहेर बस्ने नेपाली प्रवृत्ति, मानिसको लक्ष्यहीनता, आजका मानिसमा आएकोे वैचारिक विचलन, विचारहीनता, चिन्तनहीनता तथा गैरजिम्मेवारीपन तथा घाती वर्तमानप्रति व्यङ्ग्य गरेका छन् ।

चुनावहरूले देशको मुहार फेर्न नसकेको यथार्थप्रति तीक्ष्ण व्यङ्ग्य गर्ने उनले चुनाव जितेर जाने नेताको गैरजिम्मेवारीपन, राजनीतिज्ञहरूले कविताको मर्मबोध गर्न नसकेका कुरा, बन्द गर्ने प्रवृत्तिप्रति, द्वन्द्वकालीन विसङ्गतिहरूप्रति तथा शब्दहरूको दुरुपयोग गरिएकामा तीक्ष्ण व्यङ्ग्य गरेका छन् ।

४. कोमलता

कवि निमेषका कतिपय कविताहरू सरल छन् र ती कोमल पनि :

१. समय यस्तो होस्
बाटोभरि हाँसून् सद्भावका पूmलहरू
र चलिरहोस् सुगन्धको शान्त बतास
मनहरूको वायुमण्डलभरि समय यस्तो होस् (पृ. १५)

२. आज लाग्दै छ—
सायद पानीको रङ
तिम्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ

सम्बन्ध जसको कुनै नाम छैन
पानी जसको कुनै रङ छैन पानीको रङ (पृ. ६९)

५. शैली

कवि निमेष गद्य कविता लेख्छन् र पनि उनका कवितामा पद्यताको आभाष पाइन्छ । शैली विज्ञानको शब्दमा समानान्तरता भनी चिनिइने यो शैली निमेषका कविताको वैशिष्ट्य हो:

दुखका जुलुसहरू आइरहेछन् मौनता ओढेर
दुखका जुलुसहरू गइरहेछन् मौनता ओढेर । अँध्यारोका विरुद्ध (पृ. ३३)

निमेष कविताका कुशल शिल्पी हुन् । तसर्थ उनका कविताहरूमा बिम्बहरूको सुन्दर प्रयोग पाइन्छ र विचलन पनि । उनका कवितामा पाइने विचलनहरू अज्ञानतावश आएका छैनन् । ती त कवितामा सुन्दर बान्की थप्न प्रस्तुत भएका छन्:

अभाव निदाएका उदास मझेरीहरूमा
उमार्नृ छ बिम्बहरू सम्पन्नताका
अनि थमाउनु छ—
भर्भराउँदो निख्खर सूर्य उज्यालोका नाममा
विजय यात्रामा निस्केका हत्केलाहरूमा बिम्ब एउटा देशको (पृ. ३१)

कवि निमेष प्रयोगमा रुचि राख्छन् र त उनले फुटकर कविताका साथै लामा कविताहरू लेखेका छन् । उनी कवितामा झर्रा र तत्सम शब्दहरू नै प्रयोग गर्दछन् र पनि आगन्तुक शब्दहरूको प्रयोग पनि मज्जैले गरेका छन्:  टिक मार्क, मर्निङ वाक, मोबाइल, अलार्म, फोन कल, मर्निङ वाक, टिन एज, बेकरी, आइटम, साइकल, म्याजिक भ्यान, सेलिब्रेटी, फ्यान, लाइन, फ्रेस, मुड, मस्जिद, मौलबी, चर्च, पादरी, साबिक, अफिस, क्वार्टर, ह्याक, जिनिस, अरेबियन, प्लास्टिक, मोनोटोनस, ट्वाइलेट पेपर, क्यानभास आदि ।

उनका कविताहरूमा प्रतीकात्मकता, समस्तीकरण तथा निबन्धमा काव्यात्मकता पाइन्छ । उनका सबै कविताहरू न ‘पानीको रङ’ जस्ता सुन्दर छन् न ‘माछा बेच्ने दाइ’ जस्तै ठिकठिकै खालका ।

आलस्त, सिकन्जा, उकेर्दै, नियोन, बुर्की जस्ता अप्रसिद्ध शब्दहरू प्रयोग गर्ने निमेषका कविताहरूमा ‘म हराएको सूचना’, ‘आगो टेकेर’ जस्ता असम्प्रेष्य कविताहरू पनि छन् । यस्तै वितग, बनेरे, ओच्छन, धरालत जस्ता मुद्रा राक्षसीय त्रुटिहरू पनि पाइन्छन् ।

६. निष्कर्ष 

कवि निमेष निखिल वर्तमानका सशक्त कवि हुन् । उनले जुन विधामा कलम चलाए पनि सशक्त रूपमै प्रस्तुत भएका छन् । निमेषले कथा वा लघुकथा लेखे पनि, छोटा वा लामा कविता लेखे पनि समीक्षा वा समालेचना लेखे पनि स्तरीय नै लेखेका छन् । उनी धेरथोर अन्य विधामा समेत छरिन खोजे पनि परिमाण तथा स्तर दुवै दृष्टिले कविता विधामै अब्बल ठहरिने छन् । अस्तु ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha