मङ्लबार, मंसिर ९, २०८३ | November 24, 2026

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई ८ हजार थान कम्बल र ६ हजार म्याट्रेस हस्तान्तरण

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई ८ हजार थान कम्बल र ६ हजार म्याट्रेस हस्तान्तरण

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 3
    Views
साउदी अरबद्वारा नेपाल रेडक्रसलाई ८ हजार थान कम्बल र ६ हजार म्याट्रेस हस्तान्तरण

नवीनसञ्चार सम्वाददाता
काठमाडौं, मङ्सिर ८ गते । साउदी अरबको ‘किङ सलमान ह्युम्यानिटेरियन एड एन्ड रिलिफ सेन्टर’ ले नेपाल रेडक्रस सोसाइटीलाई न्यानो कम्बल तथा म्याट्रेस सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मनिखरले सोसाइटीका अध्यक्ष डा. विशाल कुमार भण्डारीलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
बाढी प्रभावित तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी संस्थाले ८ हजार थान न्यानो कम्बल र ६ हजार थान म्याट्रेस उपलब्ध गराएको हो । यो सहायताबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित तथा उच्च जोखिममा रहेका २ हजार घरपरिवार लाभान्वित हुनेछन् ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै जतिसक्दो चाँडो प्रभावित समुदायमा प्राप्त सहयोग सामाग्री वितरण गरिने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित समुदायका लागि नेपाल सरकार, आइएफआरसी, आइसीआरसी र साझेदार राष्ट्रिय सोसाइटीहरूलगायत सरोकारवालाको सहयोगमा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मनिखरले न्यानो सामग्रीहरू हस्तान्तरण गर्नुहुँदै साउदी अरब पनि मानवीय सहायता प्रदान गर्ने साझा उद्देश्यका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले रेडक्रसजस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पु¥याउन पाउँदा खुसी व्यक्त गर्दै सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरेकोमा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ(आइएफआरसी) नेपालका प्रमुख डेभिड फिसरले विपद्पश्चात् नेपाल रेडक्रस सोसाइटीले प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै निरन्तर रूपमा मानवीय सहायता प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) नेपालका प्रमुख सन्देश श्रेष्ठले विशेषगरी विपद्पश्चात् बाढीबाट प्रभावित परिवारका बेपत्ता सदस्यहरूको खोज तथा पहिचान र शव व्यवस्थापनका लागि आवश्यक शव व्यवस्थापन ब्याग उपलब्ध गराउनेलगायतका कार्यमार्फत नेपाल रेडक्रस सोसाइटी तथा नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले प्राप्त न्यानो सामाग्रीहरू छनोटमा परेका प्रत्येक घरपरिवारलाई ४ थान कम्बल र ३ थान म्याट्रेसका दरले वितरण गरिने बताउनुभयो । लाभग्राहीहरूको छनोट तथा प्रमाणीकरण प्रक्रिया नेपाल रेडक्रस सोसाइटीका सम्बन्धित जिल्ला शाखाहरू र स्थानीय सरकारको समन्वयमा गरिने महामन्त्री खनालले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको बाढी प्रतिकार्य कार्यक्रमका संयोजक रूद्रनारायण अधिकारीले बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेका गतिविधिहरूको बारेमा कार्यक्रममा प्रस्तुतीकरण गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा नेपालस्थित साउदी राजदूतावास तथा केएस रिलिफका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, सोसाइटीका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
किङ सलमान ह्युम्यानिटेरियन एड एन्ड रिलिफ सेन्टर,साउदी अरबको मानवीय सहायता तथा राहतसम्बन्धी प्रमुख संस्था हो । यस संस्थाले विश्वका विभिन्न देशमा विपद्, द्वन्द्व तथा अन्य मानवीय सङ्कटबाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha