नवीनसञ्चार संवाददाता
काठमाडौँ, मङ्सिर ८ गते । सिख धर्मका संस्थापक गुरु नानकको ५५७ औँ जन्मयन्ती आज विश्वभरी मनाइँदै छ । नानक एक धार्मिक गुरु मात्र नभई एक महान् रहस्यदर्शी, कवि र संगीतज्ञ हुनुहुन्थ्यो ।
संस्कृतिविद लेखनाथ शास्त्रीका अनुसार संसारलाई त्याग्ने होइन, प्रेम गर्ने नानकको स्वभाव थियो । गृहस्थ र संन्यासको सन्तुलन जोड्ने नानक अनौठा आध्यात्मिक गुरु हुनुहुन्छ । संस्कृतिविद शास्त्रीले गुरु नानकको जीवन र दर्शनबारे व्यक्त गर्नुभएका प्रमुख विचार देहाय बमोजिम प्रस्तुत गरेका छौँ :
‘एक ओंकार सतनाम’
गुरु नानकको मूल मन्त्र ‘एक ओंकार सतनाम’ अर्थात ‘परमात्मा एक हुनुहुन्छ र उहाँ नै सत्य हुनुहुन्छ’ हो । नानकका अनुसार ईश्वर कुनै व्यक्ति नभई सम्पूर्ण ब्रह्माण्डमा व्याप्त एक निराकार ऊर्जा र सत्य हुनुहुन्छ ।
संगीत र भक्ति
गुरु नानकको साधना पद्धति प्रेम र संगीतको मार्ग हो । नानक आफ्ना शिष्य मर्दानासँग ‘रबाब’ नामक बाजा बजाउँदै गाउँ गाउँ डुलेर ईश्वरको गुणगान गर्नुहुन्थ्यो । नानकले परमात्मालाई पाउन तपस्या वा शरीरलाई कष्ट दिने बाटो रोज्नु भएन । उहाँले उत्सव, गीत र प्रेमको बाटो अवलम्वन गर्नुभयो ।
गृहस्थ जीवनमै संन्यास
नानकले संसार छोडेर जंगल जानुलाई सन्यास मान्नुभएन । उहाँको दृष्टिमा परिश्रम गरी बाँडेर खानु र ईश्वरको स्मरण गर्नु जीवन जिउने सर्वश्रेष्ठ कला हुन् ।
धार्मिक कट्टरताको विरोध
नानकले हिन्दू र मुस्लिम दुवै धर्मका कट्टरता र अन्धविश्वासको विरोध गर्नुभयो ।
गुरु नानकको संक्षिप्त जीवनी
गुरु नानकको जन्म १५ अप्रिल, १४६९ मा हालको पाकिस्तानस्थित ननकाना साहिबमा भएको थियो ।
करिब ३० वर्षको उमेरमा बेईं नदीमा तीन दिनको आध्यात्मिक अनुभवपछि उहाँले ‘एक ओंकार सतनाम’ अर्थात एक ईश्वर र मानवताको एकताको सन्देश दिनुभयो।
उहाँले जात, धर्म र सामाजिक भेदभावलाई अस्वीकार गर्दै सामूहिक भोजनको लङ्गर परम्परालाई अघि बढाउनुभयो । उहाँका काव्य रचना गुरु ग्रन्थ साहिबमा सङ्कलित छन् । तिनमा ‘जपुजी साहिब’, ‘आसा दी वार’ र ‘सिद्ध गोष्ठ’ प्रमुख छन् ।
बाल्यकालदेखि नै उहाँको झुकाव अध्यात्मतर्फ थियो । उहाँले विभिन्न भाषा र धार्मिक ग्रन्थको अध्ययन गर्नुभयो । केही समय सुल्तानपुर लोधीमा लेखापालका रूपमा पनि काम गर्नुभयो । उहाँले दक्षिण एसिया, मध्य एसिया र मध्यपूर्वका विभिन्न क्षेत्रको यात्रा गरी आफ्नो उपदेशको प्रचारप्रसार गर्नुभयो । जीवनको उत्तरार्धमा उहाँ करतारपुरमा बस्नुभयो । त्यहाँ उहाँले खेतीपाती र शिक्षण कार्य गर्नुभयो । नानकले भाइ लहणा (गुरु अङ्गद) लाई आफ्नो उत्तराधिकारी नियुक्त गर्नुभएको थियो ।