मङ्लबार, मंसिर २, २०८३ | November 17, 2026

दुई शब्द

दुई शब्द

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर २, २०८३

  • 64
    Views
दुई शब्द

सहयात्री ढकाल

दुई शब्द काफी हुन्छन्,
मनको कुरा बुझाउन,
कहिलेकाहीँ एउटा मुस्कान काफी हुन्छ,
हजारौँ पीडा लुकाउन।

दुई थोपा आँसु काफी हुन्छन्,
मनभित्रको व्यथा सुनाउन,
कहिलेकाहीँ मौनता नै भाषा बन्छ,
नबोलेका कुरा पनि बुझाउन।

शब्द त हजारौँ हुन्छन् संसारमा,
तर सबै शब्दमा भावना हुँदैन,
ओठले बोलेका हरेक कुरा सत्य हुँदैनन्,
मनले महसुस गरेका कुरा झूटो हुँदैनन्।

कहिलेकाहीँ एउटा ‘आऊ’ शब्दले,
टाढिएको मन नजिक ल्याउँछ,
कहिलेकाहीँ एउटा ‘जाऊ’ शब्दले,
जीवनभरको सम्बन्ध टाढा पुर्‍याउँछ।

कहिलेकाहीँ ‘म छु नि’ भन्ने शब्दले,
निराश मनमा आशा जगाउँछ,
अँध्यारोले घेरेको जीवनमा,
नयाँ उज्यालोको किरण छरिदिन्छ।

कहिलेकाहीँ ‘माफ गर’ भन्ने शब्दले,
टुटेको सम्बन्ध जोड्न सक्छ,
तर कहिलेकाहीँ हजारौँ माफीले पनि,
टुटेको विश्वास जोड्न सक्दैन।

कति सजिलो छ है, शब्दले कसैलाई
आफ्नो बनाउन, तर कति कठिन छ,
त्यही अपनत्व जीवनभर निभाउन।

हामी बोल्छौँ धेरै,
तर बुझ्छौँ कति कम?
अरूको मन दुखाएर हाँस्छौँ,
आफ्नो पीडामा खोज्छौँ मलम।

कसैको मौनतालाई घमण्ड ठान्छौँ,
कसैको आँसुलाई कमजोरी,
तर कसले बुझ्छ र यहाँ,
हरेक मुस्कानभित्र
लुकेको हुन्छ पीडा गहिरो भारी।

कसैले बोल्न चाहेर पनि बोल्न सक्दैन,
कसैले भन्न खोजेर पनि भन्न सक्दैन,
मनभित्र हजारौँ कुरा बोकेर हिँड्छ,
तर कसैसामु मन खोल्न सक्दैन।

कतिपय सम्बन्ध नामविहीन हुन्छन्,
तर भावनाले निकै गहिरा हुन्छन्,
न भेटघाटको बाध्यता हुन्छ,
न बोलचालको निरन्तरता,
तैपनि सम्झनामा सधैँ नजिक हुन्छन्।

कहिलेकाहीँ एउटा सानो सन्देशले,
दिनभरको थकान मेटाइदिन्छ,
कसैको ‘कस्तो छौ?’ भन्ने प्रश्नले,
मनको सारा दुःख बिर्साइदिन्छ।

तर समय पनि कस्तो निर्दयी हुन्छ,
नजिकका मान्छे टाढा बनाइदिन्छ,
सँगै हिँडेका पाइलाहरूलाई,
अलग-अलग बाटोमा पुर्‍याइदिन्छ।

हिजो घण्टौँ कुरा गर्नेहरू,
आज दुई शब्द बोल्न सक्दैनन्,
सँगै सपना बुन्नेहरू,
आज एकअर्कालाई
सम्झन पनि चाहँदैनन्।

सम्बन्ध सधैँ शब्दले बाँधिँदैन,
कहिलेकाहीँ विश्वासले बाँधिन्छ,
प्रेम सधैँ भेटमा हुँदैन,
कहिलेकाहीँ प्रतीक्षामा बाँच्छ।

जसले दुःखमा हात समाउँछ,
उसलाई सुखमा सम्झनुपर्छ,
जसले आँसु पुछिदिन्छ,
उसको मन पनि बुझ्नुपर्छ।

किनकि जीवन लामो छैन,
न त समय सधैँ हाम्रो हुन्छ,
आज साथ दिने मान्छे नै,
भोलि सम्झनाको पानामा सीमित हुन्छ।

त्यसैले बोल्नुअघि सोचौँ,
शब्दले कसैको मन नदुखोस्,
हाँस्नुअघि बुझौँ,
कसैको आँसु हाम्रो कारण नबनोस्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha