बिहिबार, कार्तिक २०, २०८३ | November 5, 2026

गण्डकी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रम नोभेम्बर २० मा, नेपालबाट लेकाली ब्याण्ड आउने

गण्डकी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रम नोभेम्बर २० मा, नेपालबाट लेकाली ब्याण्ड आउने

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • बुधबार, कार्तिक १९, २०८३

  • 95
    Views
गण्डकी प्रदेश समन्वय परिषद् कतारको कार्यक्रम नोभेम्बर २० मा, नेपालबाट लेकाली ब्याण्ड आउने

रोशन अर्याल
दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतार र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुने सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रमको मिति परिवर्तन गरिएको छ। यसअघि नोभेम्बर ६, शुक्रबारका लागि तय गरिएको कार्यक्रम अब आगामी नोभेम्बर २०, शुक्रबार आयोजना हुने भएको छ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अध्यक्ष नन्दलाल बि.क. (अजय) लाई परेको मातृशोक तथा केही प्राविधिक र व्यवस्थापकीय कार्यहरू निर्धारित समयभित्र सम्पन्न हुन नसकेका कारण कार्यक्रमको मिति परिवर्तन गरिएको हो।नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्ने र प्रवासमा रहेका नेपाली श्रमिकहरूको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक र सांगीतिक बनाउन नेपालबाट सुप्रसिद्ध लेकाली ब्याण्ड दोहा आउने भएको छ। ब्याण्डले आफ्नो लोकप्रिय सांगीतिक प्रस्तुति मार्फत दर्शक तथा श्रोताहरूलाई लाईभ प्रस्तुति सहित मनोरञ्जन प्रदान गर्नेछ। साथै कतारमा रहेका नेपाली कलाकारहरूको विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि कार्यक्रममा समावेश गरिने आयोजकले जानकारी दिएको छ।

यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा भिक्टोरिया डायमण्ड एण्ड ज्वेलर्स रहेको छ। आयोजकले मुख्य प्रायोजक सहित कार्यक्रमलाई सफल बनाउन सहकार्य गर्ने सम्पूर्ण संघ–संस्था, व्यवसायी तथा सहयोगीहरू लाई धन्यवाद व्यक्त गरेको छ।कार्यक्रम नोभेम्बर २०, शुक्रबारका दिन डिपिएस मोनार्च इन्टरनेशनल स्कुलको सभाहल, अल वाकिर, कतारमा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार कार्यक्रम केवल चाडपर्वको शुभकामना आदानप्रदान र मनोरञ्जनमा मात्र सीमित नभई प्रवासमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, सहयोग र कल्याणका लागि दीर्घकालीन कोष निर्माण गर्ने उद्देश्यसँग समेत जोडिएको छ।परिषद्ले कतारस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको आनन्द लिनुका साथै श्रमिक कल्याणकारी कोष स्थापनाको अभियानमा साथ र सहयोग गर्न हार्दिक अपिल गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha