बुधबार, कार्तिक १९, २०८३ | November 4, 2026

नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजकको सहकार्यले बढ्यो उत्साह

नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजकको सहकार्यले बढ्यो उत्साह

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १९, २०८३

  • 61
    Views
नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजकको सहकार्यले बढ्यो उत्साह
– रोशन अर्याल
दोहा, कतार।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र बन्दै गएको छ। आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा संघका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहका पदाधिकारी, व्यवसायी र सामाजिक व्यक्तित्व कार्यक्रम साझेदार तथा प्रायोजकका रूपमा जोडिने क्रम बढेसँगै आयोजकमा थप उत्साह थपिएको छ।
‘सहयात्रा – जर्नि टुगेदर’ भन्ने मूल थिम तथा ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउने लक्ष्य लिएको छ।
आयोजक समितिका अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन सम्मेलनको इभेन्ट पार्टनर का रूपमा जोडिएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष बुद्धिसागर सुवेदी को–इभेन्ट पार्टनर तथा अर्का उपाध्यक्ष खगेन्द्र न्यौपाने प्लाटिनम पार्टनर का रूपमा सहकार्य गरिरहेका छन्।
यसैगरी, सम्मेलनको मुख्य प्रायोजक अर्थात् प्लाटिनम स्पोन्सर का रूपमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान र मध्यपूर्व क्षेत्रीय संयोजक तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ जोडिएका छन्।
संघको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरू नै साझेदारी र प्रायोजनमार्फत सम्मेलनसँग जोडिनुले कार्यक्रमप्रतिको संस्थागत प्रतिबद्धता, अपनत्व र सामूहिक सहकार्यको भावनालाई थप बलियो बनाएको आयोजकको विश्वास छ। उनीहरूको सहभागिताले सम्मेलनको तयारीमा आर्थिक सहयोगसँगै नैतिक समर्थन, उत्साह र ऊर्जा प्रदान गरेको छ।
मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका साझा समस्या, श्रम अधिकार, सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा तथा भविष्यका सम्भावनाबारे साझा धारणा निर्माण गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। साथै, मध्यपूर्वमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
‘सहयात्रा’ अर्थात् सँगै अघि बढ्ने भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको यस सम्मेलनले नेपाली समुदाय, श्रमिक, व्यवसायी तथा संघसंस्थाबीच साझा जिम्मेवारी र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ।
सम्मेलनलाई सफल बनाउन आर्थिक, नैतिक तथा संस्थागत रूपमा सहकार्य गर्ने सम्पूर्ण साझेदार तथा प्रायोजकहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ। सम्मेलनको मिति नजिकिँदै जाँदा अन्य संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा सामाजिक व्यक्तित्वहरू पनि सहकार्यका लागि जोडिने क्रम जारी रहेको आयोजकले जनाएको छ।
आयोजक समितिले सबै पक्षको साथ, सहयोग र सक्रिय सहभागिताबाट सम्मेलनलाई व्यवस्थित, उपलब्धिमूलक तथा प्रभावकारी बनाउँदै मध्यपूर्वमा रहेका नेपालीहरूको साझा आवाजलाई थप सशक्त रूपमा उठाउन सकिने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha