बिहिबार, कार्तिक २०, २०८३ | November 5, 2026

ओहायोमा सिहान टी. राबिनोको नेतृत्वमा पहिलो ऐतिहासिक ‘योशुकन शितो–रियु कराते गशुकु’ हुँदै

ओहायोमा सिहान टी. राबिनोको नेतृत्वमा पहिलो ऐतिहासिक ‘योशुकन शितो–रियु कराते गशुकु’ हुँदै

  • Naveen Sanchar

  • बुधबार, कार्तिक १९, २०८३

  • 38
    Views
ओहायोमा सिहान टी. राबिनोको नेतृत्वमा पहिलो ऐतिहासिक ‘योशुकन शितो–रियु कराते गशुकु’ हुँदै

द्रुक शितो–काई र ओहायो कराते डोजोको संयुक्त आयोजनामा नोभेम्बर २० देखि २२ सम्म रेनल्ड्सबर्गमा तीनदिने प्रशिक्षण शिविर

नवीनसञ्चार संवाददाता  कोलम्बस, ओहायो।

अमेरिकाको ओहायो राज्यको रेनल्ड्सबर्गमा आगामी नोभेम्बर २० देखि २२, २०२६ सम्म पहिलोपटक ‘योशुकन शितो–रियु कराते गशुकु’ आयोजना हुने भएको छ। द्रुक शितो–काई (DRUK Shito-Kai) र ओहायो कराते डोजोको संयुक्त आयोजनामा हुन लागेको तीनदिने प्रशिक्षण शिविरको नेतृत्व शितो–रियु करातेका प्रशिक्षक सिहान टी. राबिनो (७औँ डान, डब्लुएसकेएफ) ले गर्नेछन्। कराते खेलाडी, प्रशिक्षक तथा अभ्यासकर्ताको प्राविधिक ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै शितो–रियुको परम्परा र प्रशिक्षण पद्धतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले गशुकु आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

गशुकुमा काता, कुमिते र बुनकाई कुमितेलगायतका विधामा विशेष प्रशिक्षण दिइनेछ। काताका विभिन्न चाल, तिनको व्यावहारिक प्रयोग तथा आत्मरक्षासँग सम्बन्धित प्राविधिक पक्षमा केन्द्रित प्रशिक्षणले सहभागीलाई अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

बेलडाँगीदेखि अमेरिकासम्मको कराते विरासत

यस गशुकुको महत्त्व तीनदिने प्रशिक्षणमा मात्र सीमित छैन। यसले भुटानी शरणार्थी समुदायले नेपालबाट सुरु गरेको शितो–रियु करातेको ऐतिहासिक यात्रालाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासलाई समेत प्रतिनिधित्व गर्छ।

सन् १९९२ मा नेपालको झापास्थित बेलडाँगी–१ शरणार्थी शिविरबाट सीमित स्रोतसाधनका बीच सुरु भएको कराते अभ्यास समयक्रममा अन्य शिविर तथा समुदायसम्म फैलिएको थियो। यस अभियानले हजारौँ युवालाई कराते प्रशिक्षणसँगै अनुशासन, आत्मविश्वास र आत्मरक्षाको ज्ञान प्रदान गर्न योगदान पुर्‍याएको छ।

यस ऐतिहासिक यात्रालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित सन् २०२४ को सुरुवातमा द्रुक शितो–काई स्थापना गरिएको हो। मोनि के. राई, राज मगर, डम्पा मोङ्गर र तुला ढकाल यस संस्थाका संस्थापकका रूपमा संलग्न छन्। संस्थाले शितो–रियु करातेको परम्परा, प्राविधिक ज्ञान र प्रशिक्षण पद्धतिलाई निरन्तरता दिँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

शितो–काई अमेरिका र विश्व शितोरियु कराते महासंघ (WSKF) सँगको सहकार्यमा अघि बढिरहेको यस अभियानबाट पाँच सयभन्दा बढी ब्ल्याक बेल्ट उत्पादन भइसकेको आयोजक पक्षको भनाइ छ। सिहान टी. राबिनोको प्राविधिक नेतृत्वले कराते प्रशिक्षणलाई व्यवस्थित बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र सहकार्य विस्तार गर्न योगदान पुर्‍याउँदै आएको छ।

प्रशिक्षण, सहकार्य र अनुभव आदानप्रदान

आयोजक समितिका सदस्य सेन्सेई मोनि राईले कोलम्बस क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको योशुकन शितो–रियु कराते गशुकुमा सहभागी हुन सम्पूर्ण गुरु, प्रशिक्षक, खेलाडी तथा करातेप्रेमीलाई स्वागत गरेका छन्। उनले कार्यक्रम सफल बनाउन सबैको सहभागिता र सहयोग महत्त्वपूर्ण हुने बताएका छन्।

त्यस्तै, सेन्सेई राज मगरले यस गशुकुलाई अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष प्राविधिक ज्ञान हासिल गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने तथा विभिन्न डोजोबीच अनुभव र सहकार्य आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्।

आयोजकका अनुसार यस्ता प्रशिक्षण शिविरले करातेको प्राविधिक पक्षमा सुधार ल्याउनुका साथै अनुशासन, परम्परा र गुरु–शिष्य सम्बन्धको महत्त्व बुझाउन सहयोग पुर्‍याउँछन्। अग्रजबाट प्राप्त ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै समुदायको कराते पहिचानलाई निरन्तरता दिन पनि यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।

    • प्रशिक्षणस्थल र सम्पर्क विवरण

तीनदिने गशुकु ओहायोको रेनल्ड्सबर्गस्थित निम्न ठेगानामा सञ्चालन हुनेछ।

स्थान: 6589 E. Main Street, Reynoldsburg, Ohio 43068

इमेल: ohiokarateclub@gmail.com

वेबसाइट: www.drukshitokai.org

             मुख्य सम्पर्क व्यक्ति:

• सेन्सेई तुला ढकाल: (801) 577-6531

• सेन्सेई मोनि राई: (614) 318-9243
 •सेन्सि राज मगर : (520) 301-1936

नेपालको बेलडाँगीस्थित शरणार्थी शिविरमा सीमित स्रोतसाधनबाट सुरु भएको कराते अभ्यास आज अमेरिकामा अन्तर्राष्ट्रिय प्रशिक्षकको नेतृत्वमा विशेष गशुकु आयोजना गर्ने चरणसम्म आइपुगेको छ। रेनल्ड्सबर्गमा हुन लागेको पहिलो योशुकन शितो–रियु कराते गशुकु यसै ऐतिहासिक यात्राको अर्को महत्त्वपूर्ण कडी बन्ने आयोजकको विश्वास छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha