आइतवार, कार्तिक १६, २०८३ | November 1, 2026

नागढुंगा सुरुङमार्गमा सवारीसाधनलाई शुल्क लाग्ने

नागढुंगा सुरुङमार्गमा सवारीसाधनलाई शुल्क लाग्ने

  • Naveen Sanchar

  • आइतवार, कार्तिक १६, २०८३

  • 2
    Views
नागढुंगा सुरुङमार्गमा सवारीसाधनलाई शुल्क लाग्ने

काठमाडौँ, कात्तिक १५ गते । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क सङ्कलन सुरु गरिएको जनाएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपियाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपियाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपियाँ र बाहिरिँदा ८० रुपियाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपियाँ र बाहिरिने दिशातर्फ २०० रुपियाँ निर्धारण गरिएको छ ।

यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी सवारीसाधन र उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपियाँ र बाहिरिँदा २५० रुपियाँ टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क बुझाउनुपर्नेछ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha