नवीनसञ्चार संवाददाता गोदावरी, अक्टोबर ३१। गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व क्षमता र संस्थागत कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा सञ्चालित MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा कार्यशाला आयोजना गरिएको थियो।
कार्यशालामा खाडी सहयोग परिषद् (जीसीसी) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र कतारसहित मलेसियाका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल माध्यमबाट सहभागी भएका थिए। कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष गंगा खतिवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेतलगायत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको उपस्थिति थियो।
त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय संयोजक रोनी धौभाडेल र सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समापन समारोहमा कार्यशालामा सहभागी एनसीसी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
तीनदिने कार्यशालामा संस्थागत नेतृत्व तथा व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता र जवाफदेहिता, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, श्रमिक उद्धार तथा सहयोगलगायतका विषयमा छलफल र प्रशिक्षण सञ्चालन गरिएको थियो।
कार्यशालाले विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूको संस्थागत क्षमता र नेतृत्वदक्षता अभिवृद्धि गर्नुका साथै आपसी अनुभव आदानप्रदान, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।