सहयात्री ढकाल
कोलम्बस, ओहायो।
अमेरिकाको न्यू ह्याम्पशायरमा बसोबास गर्दै आएका भुटानी शरणार्थी तथा नयाँ आप्रवासी समुदायको उत्थानमा लामो समयदेखि योगदान पुर्याउँदै आएका बिल गिलेट र १०१ वर्षीया मन माया भुजेललाई एनएच भुटानी समुदायले सम्मान गर्ने भएको छ।
इन्टरनेसनल इन्स्टिच्युट अफ न्यू इङ्गल्यान्ड (आईआईएनई) का सार्वजनिक नीति तथा पैरवी निर्देशक गिलेटलाई भुटानी समुदायसँगको दीर्घकालीन सहकार्य, सहयोग र सामाजिक सेवाको कदर गर्दै ‘कम्युनिटी एप्रिसिएसन अवार्ड’ प्रदान गरिने भएको हो।
गिलेटले अमेरिकामा भुटानी शरणार्थीहरूको पुनर्वास सुरु भएदेखि नै समुदायसँग सहकार्य गर्दै आएका छन्। नयाँ देशमा जीवन पुनर्निर्माण गर्ने क्रममा रहेका परिवारलाई आर्थिक अवसर, संस्थागत सहयोग र आवश्यक मार्गदर्शन उपलब्ध गराउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनले समुदायलाई विभिन्न अनुदान तथा आर्थिक सहयोगका अवसर खोज्न सहयोग गर्नुका साथै निःशुल्क व्यावसायिक परामर्श, संस्थागत मार्गदर्शन र समुदायको नेतृत्वमा सञ्चालन हुने कार्यक्रमलाई प्रोत्साहन गर्दै आएका छन्।
उनको जीवनयात्रा, पारिवारिक विरासत र नयाँ पुस्तासँग जोडिएको सम्बन्धलाई सम्मान गर्दै समुदायले उनलाई आदर व्यक्त गर्न लागेको हो।
त्यसैगरी, एनएच भुटानी समुदायले भुटान चिराङ जिल्लामा जन्मिएकी १०१ वर्षीया मन माया भुजेललाई पनि विशेष सम्मान गरिने भएको छ। लामो जीवनयात्रा पार गरेकी भुजेल सात सन्तान, ३२ नातिनातिना र ५६ पनाति–पनातिनाकी हजुरआमा हुन्।
एकातिर समुदायको पुनर्वास, सामाजिक उत्थान र सशक्तीकरणमा योगदान पुर्याउने गिलेट तथा अर्कातिर एक शताब्दीभन्दा लामो जीवन अनुभव र विशाल पारिवारिक विरासत बोकेकी भुजेललाई सम्मान गर्ने कार्यक्रमले समुदायमा योगदान र पुस्तान्तरण दुवैको महत्त्व उजागर गर्ने देखिन्छ।
न्यू ह्याम्पशायरमा भुटानी अमेरिकी समुदायको शिक्षा, उद्यमशीलता, सार्वजनिक सेवा तथा नागरिक नेतृत्वमा सहभागिता बढ्दै गएको अवस्थामा यस्ता सम्मानले समुदायको इतिहास, योगदान र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।