नवीनसञ्चार सम्वाददाता काठमाडौं, १ नोभेम्बर २०२६। एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा काठमाडौं २७.११ प्रतिशतले बढी हो।
बैंकको नाफामा भएको वृद्धिसँगै प्रतिशेयर आम्दानी (ईपीएस) र शेयरधनीलाई वितरण गर्न मिल्ने नाफामा समेत सुधार आएको छ। बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २५.४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यस्तै, वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ ६४ पैसा पुगेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले वृद्धि भई ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा वृद्धिदर समग्र बैंकिङ क्षेत्रको औसतभन्दा उच्च रहेको जनाइएको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) समेत सामान्य घटेको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको बैंकले जनाएको छ।
त्यस्तै, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (इम्पेयरमेन्ट चार्ज) भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत कायम रहेको छ। बैंकका अनुसार यसले पुँजीगत अवस्था, वित्तीय स्थायित्व र दिगो बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।
पहिलो त्रैमासको वित्तीय विवरणले एनएमबी बैंकको खुद नाफा, सञ्चालन नाफा तथा प्रतिशेयर आम्दानीमा सुधार देखाएको छ। साथै, कर्जा विस्तार र खराब कर्जाको अनुपातमा आएको सामान्य गिरावटले बैंकको समग्र वित्तीय अवस्थालाई सकारात्मक संकेत गरेको छ।