शनिबार, कार्तिक १५, २०८३ | October 31, 2026

आठ हजार मिटरमाथिका थप छ हिमाललाई अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउन नेपालको प्रस्ताव

आठ हजार मिटरमाथिका थप छ हिमाललाई अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउन नेपालको प्रस्ताव

  • Naveen Sanchar

  • शनिबार, कार्तिक १५, २०८३

  • 20
    Views
आठ हजार मिटरमाथिका थप छ हिमाललाई अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउन नेपालको प्रस्ताव

नवीनसञ्चार संवाददाता

काठमाडौं, कात्तिक १५ गते। नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन प्रस्ताव अघि बढाएको छ।

विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव प्रस्तुत गरेको हो।

नेपालको प्रस्ताव अन्तर्राष्ट्रिय रूपमा स्वीकृत भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। यससँगै नेपालमा मात्रै आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल हुनेछन्।

नेपालले छुट्टै हिमालका रूपमा मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।

काठमाडौंमा सुरु भएको महासभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, हिमालसम्बन्धी विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको छ।

प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको छ। यसबाट नयाँ पर्वतारोहण गन्तव्यको विकास, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको थियो। सन् २०२६ को साधारणसभा नेपालमा आयोजना हुनु नेपालको पर्वतीय पर्यटन र अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha