काठमाडौँ । संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्।
पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति डा. बिन्दा पाण्डे, राष्ट्रिय सभा सदस्य रेनु चन्द, संविधानसभा सदस्य परशुराम रम्तेल, शिखण्डी पुस्तकका लेखक सुशील रिजाल, कानुनकी विद्यार्थी अञ्जली कार्की, शिखा बुक्सका पुष्पराज पौडेल र एक बौद्ध गुरुले संयुक्त रूपमा गरे।
वक्ताहरूले समाजमा लैङ्गिक तथा यौनिक विविधताबारे रहेको अन्योल हटाउन, पूर्वीय दर्शन र इतिहासमा रहेका सन्दर्भलाई बुझ्न तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनको अवस्था पहिल्याउन पुस्तक उपयोगी हुने बताए।
संविधानसभाको मानवअधिकार समितिकी सभापति डा.बिन्दा पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार संविधानमा समेट्न लामो छलफल भएको बताइन्। संविधानमा ‘तेस्रो लिङ्ग’ वा ‘थर्ड जेन्डर’ लेख्ने कि ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ भन्ने विषयमा छलफल भएको र अन्ततः पछिल्लो शब्दावली प्रयोग गर्ने निष्कर्षमा पुगेको उनले बताइन्।
पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने वर्गीकरणबारे पनि संविधानसभामा छलफल भएको पाण्डेले स्मरण गरिन्। महिला आन्दोलनका क्रममा महिलालाई दोस्रो दर्जाको नागरिक बनाइएको गुनासो उठ्ने गरेको उल्लेख गर्दै उनले लिङ्गका आधारमा पहिलो, दोस्रो र तेस्रो भन्ने वर्गीकरणलाई उच–नीचको श्रेणीका रूपमा बुझ्न नहुने बताइन्।
नागरिकतामा महिला, पुरुष र अन्य उल्लेख गर्ने तथा ‘अन्य’ भित्र आफ्नो पहिचान खुलाउन चाहने व्यक्तिका लागि कोष्ठमा थप विवरण राख्न सकिने अवधारणाबारे पनि छलफल भएको उनले बताइन्।
संविधानसभामा सबै सदस्यलाई लैङ्गिक तथा यौनिक विविधताबारे पर्याप्त जानकारी नभएको पाण्डेले बताइन्। उनले सुनिल बाबु पन्तले संविधानसभाभित्र भोगेका अनुभव र उहाँप्रति गरिएका टिप्पणीको आफू साक्षी रहेको बताइन्।
विभिन्न दलका नेताहरूको सहयोगले अधिकारलाई संवैधानिक रूपमा स्थापित गर्न सहज भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसका गगन थापा, रमेश लेखक र डीना उपाध्याय, नेकपा एमालेका प्रदीप ज्ञवाली तथा तत्कालीन माओवादीका सीपी गजुरेल र रेनु चन्दलगायतको भूमिका स्मरण गरिन्।
पाण्डेले नेपाली शिक्षा प्रणालीमा पूर्वीय दर्शनलाई पर्याप्त महत्त्व नदिइएको बताइन्। पूर्वीय दर्शनमा तृतीय प्रकृतिसम्बन्धी अवधारणा रहेको उल्लेख गर्दै लैङ्गिक विविधतालाई पनि सकारात्मक दृष्टिकोणबाट बुझ्नुपर्ने उनको भनाइ थियो। पुस्तकले पूर्वीय दर्शन, इतिहास र मानव प्रकृतिका विषयलाई जोडेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले भोगेका विभेद बुझ्न सहयोग गर्ने उनले बताइन्।
पाण्डेले ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तकले संविधानमा स्थापित अधिकारबारे आम नागरिकमा जनचेतना फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
अरूको प्रगतिलाई नकारात्मक रूपमा लिनुभन्दा सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिँदै पाण्डेले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई विभिन्न राजनीतिक दलभित्र छलफलका रूपमा अघि बढाउनुपर्ने बताइन्।
पाण्डेले पन्तलाई पुस्तक प्रकाशन गरेकोमा बधाई दिँदै समुदायका लागि गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गरिन्। दसैँ, तिहार र छठजस्ता चाडपर्वमा उपहारका रूपमा पुस्तक दिने चलनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो। उनले शिखा बुक्सलाई यस्ता पुस्तक निरन्तर प्रकाशन गर्न आग्रह गरिन्।
राष्ट्रिय सभा सदस्य रेनु चन्दले पुस्तकको आवरणले आफूमा जिज्ञासा उत्पन्न गरेको बताइन्। आवरणमा रहेको कङ्काल र छालासहितको मानिसको आकृतिको प्रसङ्ग पुस्तक पढ्दै जाँदा खुल्दै जाने उनले बताइन्। उनका अनुसार आवरणले शिव र पार्वतीले एक्लाएक्लै मानिस जन्माउन खोजेको कथामार्फत एक्लै पूर्ण हुन नसकिने भाव प्रस्तुत गर्छ।
पन्तले विवाद सिर्जना गर्न नभई संवादको ढोका खोल्न पुस्तक लेखेको उल्लेख गर्दै चन्दले पश्चिमी लैङ्गिक ढाँचा सबै समाजका लैङ्गिक अनुभव बुझ्ने एक मात्र आधार नहुने तर्कसँग आफू सहमत रहेको बताइन्। पूर्वीय दर्शनमा पनि लैङ्गिक अनुभव बुझ्ने बहुआयामिक ढाँचा रहेको उनको भनाइ थियो।
चन्दका अनुसार पुस्तकले समयक्रममा शब्दहरूको अर्थ कसरी संकुचित हुँदै जान्छ र त्यसले सामाजिक सोचमा कस्तो असर पार्छ भन्ने विषय उठाएको छ। पहिलो, दोस्रो र तेस्रो लिङ्ग भन्ने शब्दलाई क्रम वा श्रेणीगत उच–नीचका रूपमा नभई वर्गीकरणका रूपमा बुझ्नुपर्ने तर्क पनि पुस्तकमा प्रस्तुत गरिएको उनले बताइन्।
पुस्तकले यौन विशेषता, लैङ्गिकता, लैङ्गिक पहिचान र लैङ्गिक अभिव्यक्तिलाई एउटै अर्थमा बुझ्न नहुने विषय स्पष्ट पारेको चन्दले बताइन्। उनका अनुसार लैङ्गिक पहिचान व्यक्तिको आत्मबोध हो भने लैङ्गिक अभिव्यक्ति त्यसको बाह्य प्रस्तुति हो। पुस्तकमा जैविक तथा चिकित्सकीय पक्ष र पौराणिक पात्रका उदाहरणसमेत समेटिएको उनले उल्लेख गरिन्।