सोमवार, असार २९, २०८३ | July 13, 2026

रचना रिमाल पहिलो पटक साउदीमा, झापाली समाजको कार्यक्रममा विशेष प्रस्तुति

रचना रिमाल पहिलो पटक साउदीमा, झापाली समाजको कार्यक्रममा विशेष प्रस्तुति

  • देबी बहादुर सुतारकार्की मध्यपुर्व संयोजक

  • सोमवार, असार २९, २०८३

  • 51
    Views
रचना रिमाल पहिलो पटक साउदीमा, झापाली समाजको कार्यक्रममा विशेष प्रस्तुति

रियाद | नवीनसञ्चार। नेपालकी चर्चित गायिका रचना रिमाल पहिलो पटक साउदी अरेबियामा सांगीतिक प्रस्तुति दिन आउनुहुने भएको छ। झापाली समाज साउदी अरेबियाले आयोजना गर्न लागेको तेस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ मा उहाँ मुख्य आकर्षणका रूपमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ।

ज्येष्ठ नागरिक सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रम ७ अगस्ट २०२६ (शुक्रबार) दिउँसो १२:०० बजेदेखि रियादको एक्सिट–१३ मा सञ्चालन हुनेछ। कार्यक्रममा साउदी अरेबियाभर रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार रचना रिमालले आफ्ना लोकप्रिय तथा चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शक–श्रोतामाझ विशेष सांगीतिक माहोल सिर्जना गर्नुहुनेछ। उहाँको यो पहिलो साउदी अरेबिया भ्रमण भएकाले नेपाली समुदायमा कार्यक्रमप्रति उत्साह थपिएको छ।

सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, लोक तथा आधुनिक नृत्य, शुभकामना मन्तव्य तथा झापाली समाज साउदी अरेबियाको तेस्रो महाधिवेशनका औपचारिक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। महाधिवेशनमार्फत संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिनुका साथै नयाँ नेतृत्व चयन गर्ने कार्यसूची पनि रहेको छ।

झापाली समाज साउदी अरेबियाले साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न सामाजिक संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई ज्येष्ठ नागरिक सहयोग अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

आयोजकका अनुसार मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमबाट संकलित सहयोग नेपालका आवश्यकतामा रहेका ज्येष्ठ नागरिकहरूको हितमा उपयोग गरिनेछ।

Screenshot


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha