शुक्रबार, बैशाख ११, २०८३ | April 24, 2026

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख ११, २०८३

  • 4
    Views

हेमराज शर्मा आदरणीय अध्यक्षज्यू,

गैरआवासीय नेपाली संघ (NRNA),

अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC)

बिषय: वंशज नागरिकताको निरन्तरताका लागि एकीकृत पहल सम्बन्धी ध्यानाकर्षण !

सादर नमस्कार।

नेपालमा संविधान संशोधनका लागि कार्यदल सक्रिय रूपमा काम गरिरहेको यस महत्वपूर्ण समयमा, विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा र मूल मुद्दा वंशज अर्थात् जन्मसिद्ध वा साबिकको नेपाली नागरिकताको निरन्तरताको सुनिश्चिततामा केन्द्रित हुनुपर्ने अत्यन्त आवश्यक छ। यस्तो संवेदनशील घडीमा करिब दुई तिहाइ बहुमत प्राप्त नयाँ पार्टीबाट बनेको नयाँ सरकार र उक्त पार्टीको नागरिक करारपत्रको बुँदा नं. ५ को विपरीत एकाएक रूपमा पुनः गैरआवासीय नेपाली नागरिकताको विषयलाई प्राथमिकतामा राखी अघि बढाइँदै गरेको सन्दर्भप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आज मैले आफैंले संशोधित तथा परिमार्जित अन्तिम मस्यौदा अध्ययन गर्दा, केही बुँदाहरू केवल आपत्तिजनक मात्र नभई करिब ८० लाख नेपालीहरूमाथि तुषारापात हुने खालका देखिन्छन्। साथै, केही आर्थिक बुँदाहरू पनि पूर्ण रूपमा अन्यायपूर्ण रहेको पाइयो। विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचारहरूका आधारमा हेर्दा, पर्याप्त कानुनी परामर्श र नेपाल तथा विदेशमा रहेका सरोकारवालासँग समुचित छलफल नगरी पुरानै ढाँचामा गैरआवासीय नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयलाई अघि बढाउने प्रयास भइरहेको देखिन्छ। यस्तो प्रयास वर्तमान समयको आवश्यकता, वास्तविकता र विश्वभरका नेपाली डायस्पोराको भावना अनुरूप छैन। हामी सबैलाई विगतका अनुभवहरूले सिकाएको छ कि “एकपटकको नेपाली सधैं नेपाली” भन्ने मूल भावनालाई कमजोर बनाउँदै केही निर्णयहरू लिइएका थिए, जसले हाम्रो मौलिक अधिकारलाई सीमित दायरामा बाँध्ने काम गर्यो। त्यसका परिणामस्वरूप भिसा, पासपोर्ट, सम्पत्ति अधिकार तथा अन्य प्रशासनिक प्रक्रियामा अनावश्यक जटिलता र अवरोधहरू सिर्जना भएका थिए, जुन आज पनि हामीले भोगिरहेका छौं। त्यसैले विगतमा असफल भइसकेका र व्यवहारिक रूपमा अप्रासंगिक भइसकेका त्यस्ता नीतिगत प्रयासहरूलाई पुनः दोहोर्याउनु उपयुक्त हुँदैन।

आजको परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भमा ती दृष्टिकोणहरू अब सान्दर्भिक छैनन्। संविधानिक मान्यतानुसार वर्तमान संविधानसँग बाझिने गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई संविधान संशोधनमार्फत खारेज गरी, हालको नागरिकता सम्बन्धी ऐनको दफा १० मा आवश्यक संशोधन गर्दै वंशज, जन्मसिद्ध अर्थात् साबिकको मूल पहिचान सहितको नेपाली नागरिकतालाई पुनःस्थापना गरी निरन्तरता दिनु नै हाम्रो साझा मुद्दा हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ। यही धारणा विश्वभरका गैरआवासीय नेपालीहरूको साझा आवाज र अपेक्षा हो। विश्वभरका गैरआवासीय नेपालीहरूको स्पष्ट र साझा माग भनेको वंशज अर्थात् जन्मसिद्ध नेपाली नागरिकताको निरन्तरता, पुनर्स्थापना र पूर्ण कानुनी सुनिश्चितता हो। यो हाम्रो पहिचान, अधिकार र आत्मसम्मानसँग जोडिएको मूल विषय हो। गैरआवासीय नेपाली नागरिकता यसको विकल्प हुन सक्दैन। यस सन्दर्भमा, आदरणीय ICC नेतृत्वसमक्ष म विनम्रतापूर्वक तर दृढताका साथ अनुरोध गर्दछु कि वंशज नागरिकताको निरन्तरताका लागि एकीकृत र स्पष्ट रूपमा पहल गरियोस्। गैरआवासीय नेपाली नागरिकताको सीमित अवधारणालाई प्राथमिकता दिने कार्य तत्काल बन्द गरियोस्। नेपाल र विदेशमा रहेका योग्य कानुनी विज्ञ, नीतिनिर्माता तथा डायस्पोरा प्रतिनिधिहरूसँग समन्वय गर्दै पारदर्शी र समावेशी प्रक्रियामार्फत यस विषयलाई अघि बढाइयोस्। साथै, विगतका कमजोरीहरूबाट पाठ सिक्दै भविष्यमा त्यस्ता गल्तीहरू नदोहरिने सुनिश्चितता गरियोस्। यो विषय अब केवल छलफलको विषय होइन, यो हाम्रो मौलिक अधिकार र पहिचानको प्रश्न हो। यसमा स्पष्टता, एकता र दृढता अत्यावश्यक छ। हामी सबै सचेत, जिम्मेवार र एकजुट भई अघि बढ्नुपर्छ, ताकि आगामी पुस्ताले आफ्नो मूल पहिचान सुरक्षित राख्न सकोस्। यहाँको सकारात्मक पहल र प्रभावकारी नेतृत्वप्रति आशावादी रहँदै, यस विषयमा यथाशीघ्र ठोस कदम चालिने अपेक्षा राख्दछु। धन्यवाद।

सादर, सन्तोष दाहाल उपाध्यक्ष,

एसोसिएसन अफ नेप्लीज इन द अमेरिकाज (ANA) वरिष्ठ उपाध्यक्ष,

गैरआवासीय नेपाली संघ (NRNA) क्यानडा

डायस्पोरा अभियन्ता


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha