काठमाडौँ, २४ चैत्र
‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने गोष्ठी मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ । शैली थिएटर तथा काठमाडौँस्थित रुसी सदनको संयुक्त आयोजनामा रुसी भवनमै आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित अनेक कार्यक्रम शृङ्खलामध्येको एक कार्यक्रम हो ।
शैली थिएटरका सल्लाहकार साहित्यकार महेश पौड्यालको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा काठमाडौँस्थित रुसी राजदूतावासका कार्यवाहक राजदूत श्री रिनचेन रक्षायेभ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । स्वागत मन्तव्यका क्रममा रक्षायेभले यस्ता अन्तरक्रियाको महत्त्व औँल्याउँदै दुवै देशमा एक–अर्काको कला र साहित्यसम्बन्धी अध्ययन अझै सीमित रहेको सन्दर्भमा यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्यिक तथा सांस्कृतिक समझदारीले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
मुख्य वक्ता समालोचक, प्राध्यापक तथा कूटनीतिज्ञ प्रा. डा. जङ्गब चौहानले दशकौँदेखि रूसमा नेपालप्रति देखिएको साहित्यिक रुचिको ऐतिहासिक अवलोकन प्रस्तुत गर्नुभयो । उहाँले लक्ष्मीप्रसाद देवकोटाको रूस भ्रमण, ल्युडमिला अगानिनासँगको मित्रता तथा त्यसपछिका अनुवाद कार्यहरूको लहरलाई नेपाल–रूस साहित्यिक सम्बन्धका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । साथै कृष्णगोपाल श्रेष्ठ, राहुन साङ्कृत्यायन तथा डा. बलराम अर्याललगायतका विद्वानहरूको योगदानको विशेष प्रशंसा गर्नुभयो ।
शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले विगत डेढ दशकमा रङ्गमञ्चन गरिएका अठार रुसी नाटकहरूको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । रुसी वा अन्य माध्यमिक भाषाबाट अनूदित तथा रूपान्तरण गरिएका ती नाटकहरूमा आन्तोन चेखभ, निकोलाई गोगोल, लियो टोल्स्टोयका कृतिहरूका साथै केही लोककथाहरू पनि समावेश छन् ।
गोष्ठीलाई सम्बोधन गर्दै रुसी भवनकी निर्देशक अनास्टासिया खोख्लोभाले नेपालको साहित्यिक तथा सांस्कृतिक समृद्धिलाई रुसी दृष्टिकोणबाट बुझ्ने प्रयासले दुई देशबीचको मित्रतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यमान सांस्कृतिक कूटनीतिमा देखिएको रिक्तता पूर्ति गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेकोमा शैली थिएटरको प्रशंसा गर्नुभयो र वर्षभरि यस्ता अर्थपूर्ण कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा व्यक्त गर्नुभयो । मस्कोस्थित नेपालसँगको सहयोग तथा मैत्रीसम्बन्धी रुसी समाजका प्रतिनिधि दिपेश दाहालले भर्चुअल माध्यमबाट सहभागी भई शुभकामना व्यक्त गर्नुभयो ।
सिलाश थापा तामाङले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा प्राध्यापक, अनुसन्धानकर्ता, साहित्यकार, रंगकर्मी तथा साहित्यका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शैली थिएटर र रुसी भवनबीच विगत अठार वर्षदेखि सहकार्य रहँदै आएको छ र उक्त कार्यक्रम वर्षभरि सञ्चालन गरिने संयुक्त कार्यक्रमहरूको शङ्खलाअन्तर्गत आयोजित गरिएको हो ।