नवीनसञ्चार संवाददाता
काठमाडौं । मंसीर ७ ; त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले चारवटै अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने उद्देश्यले अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरुसँग अन्तरक्रिया गर्नुभएको छ। विगतमा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र गरिमाका रुपमा परिचित अनुसन्धान केन्द्रहरुलाई सोही हैसियतमा फर्काउन स्रोत र साधनयुक्त बनाउने, दक्ष मानवसंशाधन उपलब्ध गराउने र नीतिगत जटिलताहरुलाई सम्बोधन गर्न त्रिवि पदाधिकारीहरु सकरात्मक हुनुभएको छ ।
बल्खुस्थित शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरीड) मा आयोजित अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले अनुसन्धान केन्द्रका निर्देशकहरुलाई अनुसन्धान केन्द्रका बारेमा विस्तृत जानकारी लिनुका साथै भोगिरहेका आर्थिक, भौतिक, प्रशासनिक, मानवसंशाधन लगायतका जटिलताहरुका बारेमा गहिरो समिक्षा गर्नुभएको थियो । अन्तरक्रियामा शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंह, रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी, नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्र बहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र ( सेडा) का कार्यकारी निर्देशक प्रा.डा अर्जुन कुमार बराल, व्यावहारीक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र ( रिकास्ट) का कार्यकारी निर्देशक प्रा.डा मीना राजभण्डारी एवं शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरीड)का कार्यकारी निर्देशक प्रा.डा राजेन्द्र कुबँर, उपकुलपतिका सल्लाहकार डा.ज्योती तण्डुकार एवं उपकुलपति कार्यालयका प्रमुख डा. रेणुका बस्नेत लगायतको उपस्थिति रहेको थियो ।