बिहिबार, फाल्गुन २१, २०८२ | March 5, 2026

मुक्तक दोहोरीमा नवीनसञ्चारकर्मी सहभागी

मुक्तक दोहोरीमा नवीनसञ्चारकर्मी सहभागी

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन २१, २०८२

  • 27
    Views
मुक्तक दोहोरीमा नवीनसञ्चारकर्मी सहभागी

नवीनसञ्चार, काठमाडौँ ।

सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको मुक्तकदोहारीको शुक्रबारको बसाईँमा नवीनसञ्चार अनलाइनका अमेरिका क्षेत्रीय संयोजक केशव बैरागी माइलो र सम्वाददाता नारद प्रसाद आचार्य सुदामाले सहभागिता जनाउनुभएको छ । नवीनसञ्चारकमी माइलो र आचार्यले मुक्तक दोहरीमा पालैपालो प्रेमी र प्रेमिकाको भूमिकामा मुक्तक प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत छ समारोहमा वाचन गरिएका मुक्तक :

१) सधैँ सधैँ चौतारीमा बोलाउँछौ किन?

एक्लै बसी देउरालीमा टोलाउँछौ किन?

यता यो मुटु चसक्क चस्कन्छ, प्राणनाथ

आजभोलि यसरी तिमी लोलाउँछौ किन?

✍️नारदप्रसाद आचार्य ‘सुदामा’ अमेरिका

प्रतिउत्तर

१. मनका कुरा तिमीलाई देखाउन मन छ

तिमीलाई देउरालीमा भेटाउन मन छ

जवानीका रहरहरु कुद्न थाले मुटुभित्र,

तिम्रो त्यो न्यानो काखमा झुलाउन मन छ।

✍️केशब बैरागी माइलो, अमेरिका

२) गुलाबी उमेर रूप गोरी छौ

चञ्चल आँखाले मन चोरी छौ

पूर्णिमाको जूनझैँ निष्कलङ्क ,

मस्तिष्क हल्लाउने मोरी छौ। ✍️नारदप्रसाद आचार्य ‘सुदामा’ अमेरिका

प्रतिउत्तर

२. आँखा राम्रो मुस्कान मिठो रुप झनै गोरो तिम्रो

दिइसके जीवन पुरै ससुराको छोरो तिम्रो

सागरको गहिराइ पहाडले कहिले नाप्छ होला,

बुझ्नै सकिनँ माया मैले एकोहोरो तिम्रो।

✍️केशब बैरागी माइलो, अमेरिका

३) प्रिय,बौँसको झरीले मताएको छ

तिम्रै यादले सताउनु सताएको छ

नबोलाए पनि आउँछु लौ लुरूलुरू,

प्रेमको रसले तताउनु तताएको छ।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’, अमेरिका

प्रतिउत्तर

३ तिमी जस्तै मलाई पनि बैंस चढेको छ

थाम्नै नसक्ने गरि यौवन ममा बढेको छ

बिना खबर आउँला सानु तिम्लाई भेट्न ,

तिम्रो न्यानो स्पर्शले मनमा माया गढेको छ।

✍️केशब बैरागी माइलो, अमेरिका

४) मायामा माया मिसाएर गयौ

मनको भारी बिसाएर गयौ

थोरै घुर्क्याएर, गरेर मनपरी,

बिदामा आखाँ चिसाएर गयौ।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’, अमेरिका

प्रतिउत्तर

४. माया! तिमी जस्तै म पनि पागल भएको छु त्यो मनमा तिमी पानी म बादल भएको छु बुझेको छु तिम्रो मनको बेथा मैले पनि, तिम्रो मायाले अस्ति भन्दा अझ चन्चल भएको छु। ✍️केशब बैरागी माइलो, अमेरिका

५) तिमीले भन्दाभन्दै भोलिभोलि

यता सजिँयो बिहेको डोली

हाँस्ने खेल्ने रहर हुँदाहुँदै पनि,

भाग्यको रेखाले खेल्यो होली।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’, अमेरिका

प्रतिउत्तर ५.

समय आउँछ ए बुद्धु चढ्नलाई डोली

रमाउनु पर्छ त्यो दिन मनको ढोका खोली

मनमा हतार तनमा हतार लागी राछ मलाई पनि,

सिलाउँदै छु तिम्रो लागि फरिया र चोली ।

✍️केशब बैरागी माइलो, अमेरिका

६) हजुर अब त्यो मन कतै सारेर जाऊ

मुनाफा जति सबै आफ्नै पारेर जाऊ

सन्तुष्ट रहन्छु जे छ म सँग त्यसैमा,

म हिड्ने पथमा काँडेतार बारेर जाऊ।

✍️नारदप्रसाद आचार्य ‘सुदामा’, अमेरिका

प्रतिउत्तर

६. सताउ जति सताउनुछ घुर्की धम्कि लाएर मलाई

जान्छौँ कति नै टाढा बारम्बार सताएर मलाई

तिमी आधा म आधा सन्तुष्ट नै कहाँ हुन्छौँ?

तिमी खुसी कहाँ हुन्छौँ पागलप्रेमी बनाएर मलाई।

✍️केशब बैरागी माइलो, अमेरिका


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha