कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था तथा यहाँ बसोबास गरिरहनु भएका आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ।
कतार सरकारले वर्तमान सुरक्षा अवस्था तथा समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै होटल, रेस्टुरेन्ट तथा पर्यटकीय स्थलहरूमा आयोजना हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला, सम्मेलन तथा मनोरञ्जनात्मक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
यसैगरी, पवित्र रमजान महिनाको अवसरमा सञ्चालन हुने रमजान टेन्ट, सामूहिक इफ्तार कार्यक्रम, कम्पनी तथा सरकारी निकायका कार्यक्रमहरू लगायत सर्वसाधारणको सहभागितामा आयोजना हुने सम्पूर्ण कार्यक्रमहरू पनि स्थगित गरिएको जानकारी प्राप्त भएको छ।
यस सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कतार (NRNA NCC Qatar) सम्पूर्ण नेपाली संघ–संस्था तथा समुदायका सदस्यहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछ कि कतार सरकारद्वारा जारी Emergency Alert तथा अन्य आधिकारिक सूचनाहरूलाई नियमित रूपमा पालना गर्नुहोस्। साथै, अपुष्ट वा कपोलकल्पित समाचार तथा सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण नगरी आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न अनुरोध गरिन्छ।
कुनै नयाँ निर्णय वा आधिकारिक सूचना प्राप्त भएमा NRNA NCC Qatar ले समुदायलाई समयमै अवगत गराउनेछ। सबैले संयमता अपनाउँदै आफ्नो तथा परिवारको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
-कृष्ण पन्थी
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार