– नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । राष्ट्रिय युवा परिषद्, युनेस्को तथा युथ इनोभेसन ल्याबको सहकार्यमा, सम्बन्धित सरकारी निकायहरू, युवा केन्द्रित संघसंस्था तथा विषयगत विज्ञसँग व्यापक परामर्श समेत गरी “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक गरिएको छ।
राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट पुस १७ गते स्वीकृत यस कार्यढाँचाबाट डिजिटल युगमा बढ्दो मिथ्या सूचना, दुष्प्रचार, अनलाइन उत्पीडन तथा साइबर सुरक्षासम्बन्धी चुनौतीहरूको सामना गर्न युवाहरूलाई सक्षम र सशक्त बनाउन सहजीकरण हुने अपेक्षा गरिएको छ।यस क्षेत्रको अनुभव, आवश्यकता र सुझावहरूलाई आत्मसात गर्दै यस कार्यढाँचाले युवा तथा युवाका क्षेत्रमा क्रियाशील संस्थाहरूलाई डिजिटल पद्धतिको उपयोगमा सचेत रही निर्णय लिन, जिम्मेवार अभ्यास अपनाउन र सुरक्षित रहन मार्गदर्शन प्रदान गर्नेछ।
कार्यढाँचाको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख श्री गेहनाथ गौतमले डिजिटल क्षेत्रमा सूचनाको जिम्मेवार र सुरक्षित प्रवाह प्रवर्द्धन गर्नु यस कार्यढाँचाको प्रमुख अभिप्राय रहेको बताउनुभयो। उहाँले नागरिकलाई डिजिटल प्लेटफर्मको पहुँच, बुझाइ, मूल्याङ्कन तथा नैतिक प्रयोगमा सक्षम बनाउँदै गलत तथा भ्रामक सूचनाको अनावश्यक प्रसारबाट स्वयं र समाजलाई सुरक्षित राख्न यस कार्यढाँचाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसै सन्दर्भमा युनेस्को प्रतिनिधि श्री याको दु तोइले सन् २०२५ मा कोलम्बियामा सम्पन्न ग्लोबल मिडिया तथा सूचना साक्षरता सप्ताहबाट प्रेरित हुँदै नेपालले प्रत्येक युवालाई दक्षता, जिम्मेवारी र नैतिकतासहित अनलाइन सहभागिताका लागि मिडिया तथा सूचना साक्षरताको प्रवर्द्धनलाई तीव्रता दिएको उल्लेख गर्नुभयो।
पृष्ठभूमि र औचित्य
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०८२ को भावना अनुरूप निर्माण गरिएको यस कार्यढाँचाले ज्ञानमा आधारित समाज निर्माणमा युवाको भूमिकालाई सुदृढ बनाउने उद्देश्य राखेको छ। इन्टरनेट र डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै उत्पन्न जोखिमलाई मध्यनजर गर्दै युवाहरूमा आलोचनात्मक सोच, मिडिया तथा सूचना साक्षरता, डिजिटल सीप र जिम्मेवार सूचना उपभोगसम्बन्धी क्षमता विकास अपरिहार्य भएकाले यो कार्यढाँचा अत्यन्तै महत्वपूर्ण मानिएको छ।
कार्यढाँचाका मुख्य विशेषता
यस कार्यढाँचाले मिडिया र सूचना साक्षरताका तीन प्रमुख आयाममा केन्द्रित रहेर कार्य गर्नेछः
- मिडिया साक्षरता– विभिन्न सञ्चार माध्यमहरू बुझ्ने, सामग्रीको उद्देश्य र विश्वसनीयता मूल्याङ्कन गर्ने क्षमता विकास।
- सूचना साक्षरता– विश्वसनीय स्रोत पहिचान गर्ने, मिथ्या सूचना छुट्याउने र तथ्यपरक सूचना प्रयोग गर्ने सीप।
- डिजिटल साक्षरता– डिजिटल उपकरणको सुरक्षित प्रयोग, साइबर सुरक्षा, व्यक्तिगत सूचनाको गोपनीयता र जिम्मेवार अनलाइन व्यवहार।
मुख्य उद्देश्यहरू
- युवा केन्द्रित संघसंस्थाहरूलाई मिडिया र सूचना साक्षरता अभिवृद्धिमा सहजीकरण गर्ने
- मिथ्या सूचना र दुष्प्रचारबाट बच्न तथा विश्वसनीय सूचना प्रवाह गर्न सहयोग गर्ने
- व्यक्तिगत सूचनाको गोपनीयता र डिजिटल सुरक्षाप्रति युवालाई सचेत गराउने
- सरकारी तथा गैरसरकारी निकायबीच समन्वय र सहकार्य सुदृढ गर्ने
लक्षित समूह र कार्यान्वयन
यो कार्यढाँचा प्रदेश तथा स्थानीय युवा परिषद्, युवा केन्द्रित संघसंस्थाहरू तथा युवाका क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी निकायहरूलाई लक्षित गरिएको छ। कार्यान्वयनका क्रममा महिला, सीमान्तकृत समुदाय तथा लैङ्गिक अल्पसङ्ख्यक समूहका युवाहरूलाई विशेष प्राथमिकता दिँदै समावेशीतालाई केन्द्रमा राखिनेछ।
कार्यान्वयन रणनीति
कार्यढाँचाको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत क्षमता विकास, प्रशिक्षक प्रशिक्षण (TOT) मोडेल, प्रवर्धनात्मक तथा सचेतनामूलक कार्यक्रम, तथ्यजाँच अभियान र डिजिटल सुरक्षा कार्यशालाहरू सञ्चालन गरिनेछ। अनलाइन र अफलाइन दुवै विधिमार्फत विभिन्न लक्षित समूहको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ।
अनुगमन र मूल्याङ्कन
कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गरिनेछ। कार्यढाँचामा उल्लेखित S.M.A.R.T. (Specific, Measurable, Achievable, Relevant, Time-bound) सूचकहरूको आधारमा कार्यक्रमको परिणाम र प्रभाव मापन गरिनेछ। सम्बन्धित संघसंस्थाहरूले वार्षिक प्रतिवेदन राष्ट्रिय युवा परिषद्मा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस कार्यढाँचाले नेपालमा मिडिया र सूचना साक्षरताको क्षेत्रमा एक ऐतिहासिक र मार्गदर्शक दस्तावेजको रूपमा काम गर्ने विश्वास लिइएको छ। ज्ञानमा आधारित समाज निर्माण, प्रविधिमैत्री राष्ट्र विकास तथा युवाहरूको सुरक्षित, जिम्मेवार र सकारात्मक डिजिटल सहभागिता प्रवर्द्धन गर्न यसले महत्वपूर्ण योगदान पुर्याउनेछ। राष्ट्रिय युवा नीति, २०८२ सँग पूर्ण रूपमा सुसंगत यो कार्यढाँचा प्रदेश र स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।