
✍ नविन सन्चार संवाददाता
रियाद, साउदी अरब – साउदी अरबको राजधानी रियादस्थित एक्जिट १३ मा यहि एक अगस्ट २०२५, शुक्रबार का दिन “रोम लामा एकल सांगीतिक कार्यक्रम” भव्य रूपमा सम्पन्न हुन गइरहेको छ। दिउँसो १२ बजेबाट सुरु भई राति ८ बजेसम्म सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक रोम लामाले जानकारी दिएका छन्।
उक्त कार्यक्रम कलाकार रोम लामाको १० वर्षे सांस्कृतिक यात्रा सम्पन्न भएको अवसरमा आयोजित हुन लागेको हो। प्रवासमा बसेर पनि नेपाली संस्कृति र संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका लामाको यो एकल प्रस्तुति नेपाली कला–सङ्गीतप्रेमीहरूका लागि एक ऐतिहासिक क्षण हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा साउदी अरबस्थित नेपाली दूतावास, रियादका महामहिम राजदूतज्यू प्रमुख अतिथि रहने छन्। साथै, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, बुद्धिजीवी वर्ग, र नेपाली समुदायका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने जानकारी आयोजकले दिएका छन्।
विशेष आकर्षणहरू:
- रोम लामाका अहिलेसम्मका चर्चित सांगीतिक कृति र सांस्कृतिक झलकहरू
- विशेष अतिथि कलाकारहरूद्वारा प्रस्तुति
- निःशुल्क बस सेवा — रियादका मुख्य स्थानहरूबाट
- सबै सहभागीका लागि खानाको व्यवस्था
आयोजक लामाका अनुसार, कार्यक्रम शुद्ध एकल नेपाली सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसमा नेपाली मौलिकपन, लोक–सांगीतिक स्वाद र समुदायबीचको एकता र सन्देश पनि समेटिएको हुनेछ ।।
साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली कला–संस्कृति र सिर्जनशीलता प्रतिको साथ र सम्मान जनाउन हार्दिक आमन्त्रण गरिएको छ।