बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

डिजिटल लैंगिक हिंसा बढेकोमा चिन्ता

डिजिटल लैंगिक हिंसा बढेकोमा चिन्ता

  • Naveen Sanchar

  • बिहिबार, मंसिर १४, २०८०

  • 233
    Views
डिजिटल लैंगिक हिंसा बढेकोमा चिन्ता

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ : डिजिटल तथा अनलाइन माध्यमबाट लैंङ्गिक हिंसा बढ्दै गएकोमा नागार्जुन नगरपालिका–४, सीतापाइलामा बुधबार आयोजित एक समारोहका सहभागीले चिन्ता व्यक्त गरेका छन् । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा नागार्जुन नगरपालिकाद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्धको कानूनी सचेतना सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीले सूचना प्रविधिका माध्यमबाट महिलामाथि हिंसा गर्ने कार्य नियन्त्रण गर्न राज्य र सरोकारवाला सम्वेदनशील हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्नुहुँदै नागार्जुन नगरपालिकाकी नगरउपप्रमुख सुशीला अधिकारीले डिजिटल एवं सामाजिक सञ्जालका माध्यबाट हुने हिंसाले महिलालाई गम्भीर मानसिक असर पार्ने बताउँदै तीनवटै तहका सरकारले यसको रोकथामका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सामाजिक सञ्जालको दुरुपयोगको सबैभन्दा बढी प्रभाव महिलामाथि परिरहेको र सोको नियमन नभएमा भयावह स्थिति उत्पन्न हुनसक्ने उहाँको भनाई थियो ।
महानगरीय प्रहरी वृत्तकी प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले महिलाविरुद्धको हिंसा डिजिटल हिंसाका रुपमा रुपान्तरित भएको बताउनुभयो । “सामाजिक सञ्जालमा के हेर्ने, के नहेर्ने ? के गर्ने के नगर्ने? भन्ने विषयमा सचेत हुनुपर्छ ।” डिएसपी चन्दले भन्नुभयो – “ लैङ्गिक हिंसाका अधिकांश घटना चिनेजानेका व्यक्तिबाटै हुने गरेकोले आफन्तबाट पनि सचेत रहनुपर्छ ।” लैंगिक हिंसा अन्तर्गत हेराईदेखि यौन दुव्र्यवहारसम्मका घटना पर्ने भन्दै डिएसपी चन्दले घटना घट्नेबित्तिकै नेपाली प्रहरीमा उजुरी गरेमा हिंसालाई निरुत्साहित गर्न सहज हुने धारणा राख्नुभयो । बिनालगानी नाराले मात्र लैङ्गिक हिंसा अन्त्य नहुने भन्दै उहाँले हिंसाविरुद्ध शून्य सहनशीलताप्रति प्रतिबद्ध रहन सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता सीमा धामीले समानता, लैंगिक समता, आरक्षण र सकारात्मक विभेद, समावेशीकरण लगायत लैंगिक हिंसा सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नागार्जुन–४ का वडाध्यक्ष लक्ष्मीराम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगरपालिकाको महिला विकास शाखा प्रमुख सीतादेवी सोतीले गर्नुभएको थियो ।
नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आफ्ना दशवटै वडाका जनप्रतिनिधि, महिला समूह तथा बाल क्लबका सदस्य, सामुदायिक विद्यालयका विद्यार्थी लगायत नगरबासीको सहभागितामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha