नवीनसञ्चार संवाददाता
काठमाण्डाै
नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।
करिब डेढ घण्टाभन्दा बढी समय चलेको वार्तामा नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउँदै दुई देशको साझा समृद्धिका लागि सहकार्यलाई थप बलियो बनाउने विषयमा दुवै प्रधानमन्त्रीबीच सहमति भएको छ ।
वार्तामा दुई देशबीचको सम्बन्धलाई युगसुहाउँदो रूपमा रूपान्तरण गर्ने विषयमा मतैक्यता भएको जनाइएको छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफल र सहमतिका विषय सार्वजनिक गर्ने कार्यक्रम छ ।
भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नेपालमा जनकपुरदेखि भारतको अयोध्यासम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ ।
यसअघि आज बिहान प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट सम्मान गारत प्रदान गरिएको थियो । त्यसपछि उहाँले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।
संयुक्त पत्रकार सम्मेलनपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा उहाँ सहभागी हुने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यसूची रहेको छ । भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।