नवीनसञ्चार संवाददाता
काठमाडौँ, मङ्सिर ७ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सोमबारदेखि सुरु भएको छ। जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा देखिएका असर न्यूनीकरण गर्दै अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो।
सप्ताहको उद्घाटन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनका चुनौती सामना गर्न छलफल र विचारविमर्शमा मात्र सीमित नभई व्यवहारमै परिणाम देखिने काम गर्नुपर्ने बताउनुभयो।
उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सप्ताहका कार्यक्रममार्फत तत्काल कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।
सप्ताहको पहिलो दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ शुभारम्भ गरिएको छ। पहिलो दिन जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा संवाद गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिबीच अनुभव आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्।
महानगरपालिकाका अनुसार सप्ताहको दोस्रो दिन जलवायु वित्त, जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ। तेस्रो दिन नागरिक विज्ञान, सम्पदा संरक्षण र जलवायु परिवर्तनका असरबारे विमर्श हुनेछ।
त्यसैगरी, सप्ताहअन्तर्गत परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण तथा ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रालगायत कार्यक्रम सञ्चालन गरिनेछन्।
जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्ने मात्र नभई विज्ञानमा आधारित र समुदायको सहभागितामा कार्यान्वयन गर्न सकिने उपायलाई व्यवहारमा उतार्ने लक्ष्य सप्ताहले लिएको महानगरपालिकाले जनाएको छ।
सप्ताहव्यापी कार्यक्रममार्फत काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ तथा बस्न योग्य सहरका रूपमा विकास गर्न साझा प्रयासको थालनी गरिने महानगरपालिकाको अपेक्षा छ।