आइतवार, मंसिर ७, २०८३ | November 22, 2026

प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

  • Naveen Sanchar

  • आइतवार, मंसिर ७, २०८३

  • 2
    Views
प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

नयाँ दिल्ली (भारत), मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली आइपुग्नुभएको छ । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभयो । उहाँलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभयो ।

त्यस अवसरमा भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार र नयाँ दिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने तालिका छ ।

भ्रमणका क्रममा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha