आइतवार, मंसिर ७, २०८३ | November 22, 2026

१५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल’ काठमाण्डाैमा

१५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल’ काठमाण्डाैमा

  • Naveen Sanchar

  • शनिबार, मंसिर ६, २०८३

  • 26
    Views
१५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल’ काठमाण्डाैमा

काठमाडौँ, मङ्सिर ५ गते । युरोपेली र नेपाली चलचित्रका उत्कृष्ट सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ ‘१५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल’ शनिबारदेखि राजधानीमा सुरु भएको छ।

नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको आयोजनामा ठमेलस्थित क्युएफएक्स छाया सेन्टरमा दुई दिनसम्म महोत्सव सञ्चालन हुनेछ।

महोत्सवमा दैनिक दिउँसो १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु हुने र सर्वसाधारणका लागि ‘पहिला आउनेलाई प्राथमिकता’ का आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

काठमाडौँको प्रदर्शनपश्चात् मङ्सिर १२ र १३ गते जनकपुरको कदम चोकस्थित गिरिजा चलचित्र मन्दिरमा महोत्सव आयोजना गरिनेछ।यस वर्षको महोत्सवमा ११ देशका कुल २९ वटा चलचित्र समावेश गरिएका छन्। जसमा १२ वटा युरोपेली कथानक चलचित्र , ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) मनोनयनमा परेका छ वटा लघु चलचित्र, नौ वटा नेपाली विद्यार्थी चलचित्र, इन्सेसन्ट रेनद्वारा निर्मित एक नेपाली एनिमेटेड लघु चलचित्र र बहुचर्चित कथानक चलचित्र ‘एलिफेन्ट्स इन द फग’ रहेका छन्। ‘एलिफेन्ट्स इन द फग’ जनकपुर संस्करणमा मात्र विशेष प्रदर्शन गरिनेछ।

महोत्सवमा प्रदर्शन हुने प्रमुख युरोपेली चलचित्रहरूमा लक्जमबर्गका ‘अ बोट इन द गार्डेन’ र ‘ब्रिदिङ अन्डरवाटर’, आयरल्यान्डका ‘फोर मदर्स’ र ‘अ क्वाइट लभ’, आयरल्यान्ड, लक्जमबर्ग र फ्रान्सको संयुक्त निर्माण ‘उल्फवाकर्स’, फिनल्यान्डको ‘लङ गुड थर्सडे’, फ्रान्सको ‘राइड अवे’, अस्ट्रियाको ‘रोज’, जर्मनीका ‘२२ लेन्थ्स’ र ‘साइलेन्ट फ्रेन्ड’, स्पेन र फ्रान्सको ‘सिरात’ तथा डेनमार्क, जर्मनी, चेक गणतन्त्र र बेलायतको संयुक्त निर्माण ‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’ रहेका छन्।

महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा नेपालका लागि युरोपेली सङ्घका राजदूत चार्ल्स ह्वाइटलीले यस महोत्सवले दुई क्षेत्रबिचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। राजदूत ह्वाइटलीले भन्नुभयो, “१५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सवमार्फत युरोपेली र नेपाली चलचित्रकर्मीको सिर्जनशीलताको उत्सव मनाउन, नवप्रतिभालाई प्रोत्साहन गर्न तथा संवाद र सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गर्न पाउँदा हामी निकै हर्षित छौँ। काठमाडौँ र जनकपुरका दर्शकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूका सिर्जना अनुभव गर्न स्वागत गर्न हामी उत्साहित छौँ।”


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha