मङ्लबार, मंसिर २, २०८३ | November 17, 2026

दुःख–सुखमा नेपाली युथ युनियन 🤝

दुःख–सुखमा नेपाली युथ युनियन 🤝

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर २, २०८३

  • 37
    Views
दुःख–सुखमा नेपाली युथ युनियन 🤝

🇭🇷 क्रोएसियामा समस्यामा परेका नेपाली युवाको सफल उद्धार: नेपाली युथ युनियनको सराहनीय पहल ‼️
क्रोएसियामा व्यक्तिगत तनाव, रोजगारी तथा कागजातसम्बन्धी समस्याका कारण मानसिक रूपमा कठिन परिस्थितिबाट गुज्रिरहेका एक नेपाली युवालाई नेपाली युथ युनियन (Nepali Youth Union) ले तत्काल उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काउन सफल सहजीकरण गरेको छ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका–३ (ठुमी) निवासी प्रकाश बराम विगत १८ महिनादेखि क्रोएसियामा रहँदै आउनुभएको थियो। उनी पछिल्लो ५ महिनादेखि कानुनी कागजातको समस्यामा हुनुहुन्थ्यो भने काम तथा व्यक्तिगत तनावका कारण गहिरो मानसिक तनाब र कठिन परिस्थितिबाट गुज्रिरहनु भएको थियो।
घटना र उद्धारको विवरण:
मिति तथा समय: नोभेम्बर १३, २०२६ (शुक्रबार, दिउँसो १२:४५ बजे)
स्थान: दुब्राभा, जाग्रेब (Dubrava, Zagreb)
उहाँ मानसिक रूपमा अचानक अत्यधिक असहज भएको अवस्थामा वरिपरि कोही पनि चिनजानको मान्छे नभएपछि नजिकैको बजारमा चिनजान भएका एक नेपाली दाजु विकास थापालाई खोज्दै सहयोगका लागि पुग्नुभएको थियो। विकास थापाज्यूले तुरून्तै युनियनका प्रतिनिधिलाई खबर गर्नुभएको थियो।
जानकारी प्राप्त हुनासाथ युनियनका प्रतिनिधिहरू तुरुन्तै घटनास्थलमा पुगी उहाँको अवस्था बुझ्नुका साथै नेपालमा रहनुभएको परिवारसँग सम्पर्क स्थापित गर्नुभयो। परिवारसँगको परामर्शमा उहाँको धार्मिक आस्थाअनुसार पास्टरलाई बोलाएर प्रार्थना गराइएपछि उहाँको मानसिक तथा शारीरिक अवस्थामा उल्लेखनीय राहत महसुस भएको थियो।
साथै, क्रोएसियाकै भाराजिन (Varaždin) क्षेत्रमा कार्यरत उहाँका दाइसँग पनि सम्पर्क गरी सम्पूर्ण अवस्थाबारे जानकारी गराइएको थियो। उहाँलाई हालको बासस्थानमा बस्न असहज भएपछि युनियनको पहलमा शनिबार अर्को सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइयो भने नेपाल फर्कने हवाई टिकट उहाँकै दाजुले व्यवस्थापन गरिदिनुभएको थियो।
अन्ततः, आज नोभेम्बर १६ (सोमबार) दिउँसो १:५५ बजेको उडानमार्फत उहाँलाई सकुशल नेपालतर्फ बिदाइ गरिएको छ। युनियनका ३ जना प्रतिनिधिहरू स्वयं विमानस्थल पुगेर उहाँको सुरक्षित यात्राको व्यवस्था मिलाउनुभएको थियो।
🙏 नेपाली समुदायलाई नेपाली युथ युनियनको विशेष सन्देश:
“विदेशको कर्मभूमिमा रोजगारी र उज्ज्वल भविष्यको खोजीमा आउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हाम्रो विशेष अनुरोध छ— सानातिना तनाव, कठिनाई वा समस्याहरू आउँदा कहिल्यै पनि आवेशमा आएर वा हतारमा जीवनलाई असर पार्ने कुनै पनि गलत निर्णय नलिनुहोस्। कुनै पनि समस्या परेमा आफ्नो संस्था वा आफन्तसँग खुला रूपमा सल्लाह गर्नुहोस्।
साथै, आगामी दिनमा क्रोएसिया वा अन्य देशमा आउन चाहने नयाँ दाजुभाइ तथा दिदीबहिनीहरूले यहाँको वास्तविक अवस्था, रोजगारी, आवश्यक कागजात र कानुनी प्रक्रियाबारे राम्रोसँग बुझेर मात्रै आउनुहुन नेपाली युथ युनियन हार्दिक अनुरोध गर्दछ।”
— नेपाली युथ युनियन क्रोएसिया


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha