सोमवार, कार्तिक १७, २०८३ | November 2, 2026

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा विकास समस्या समाधान समितिको बैठक सम्पन्न

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा विकास समस्या समाधान समितिको बैठक सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १७, २०८३

  • 1
    Views
मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा विकास समस्या समाधान समितिको बैठक सम्पन्न

 

काठमाडौँ, १६ कात्तिक। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक सम्पन्न भएको छ।

मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा मन्त्रालय तथा मातहतका निकायबाट पहिलो त्रैमासिक अवधिमा सञ्चालित कार्यक्रम, हासिल उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्याबारे समीक्षा गरिएको थियो।

समीक्षाका क्रममा पहिलो त्रैमासिक अवधिमा ५२ जना सडक बालबालिकाको उद्धार गरिएको जानकारी दिइयो। देशभर हराएका २ हजार ३५६ बालबालिकामध्ये २ हजार ७७ जनालाई फेला पारी परिवारमा पुनर्मिलन गराइएको छ। त्यस्तै, हिंसा तथा जोखिममा परेका २२६ जना बालबालिकाको तत्काल उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको र बाल हेल्पलाइनमार्फत २ हजार ९७८ जना बालबालिकालाई राहत, उपचार, मनोविमर्श तथा कानुनी परामर्शलगायतका सेवा उपलब्ध गराइएको विवरण प्रस्तुत गरिएको थियो।

बैठकमा महिला सशक्तीकरण, बालबालिकाको संरक्षण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सामाजिक सुरक्षा कोषको दायरा विस्तार, सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रका पूर्वाधार निर्माण र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी प्रगतिको समेत समीक्षा गरिएको थियो।

नीतिगत तथा कानुनी सुधारतर्फ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनका संशोधन विधेयक तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीको अवस्थाबारे जानकारी गराइएको थियो।

त्यसैगरी, विपद् प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, संरक्षण, राहत र मनोसामाजिक सहयोगका लागि भएका प्रयासको समीक्षा गरिएको थियो। अघिल्लो मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकका निर्णय कार्यान्वयनको अवस्था तथा अन्तरमन्त्रालय समन्वय आवश्यक रहेका विषयहरू पनि बैठकमा प्रस्तुत गरिएको थियो।

बैठकमा मन्त्रालयका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा देखिएका समस्या समाधान तथा नीतिगत र अन्तरमन्त्रालय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha