दोहा, कतार : तामाङ समुदायको महान सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा कतारमा वृहत तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतारको आयोजनामा आगामी फेब्रुअरी ६, २०२६ (शुक्रबार) का दिन दोहाको अल मसुरा क्षेत्रमा अवस्थित पर्लिङ्ग सिंजन ईन्टरनेशनल स्कुलको सभाहलमा उक्त कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ। विगत वर्षहरूमा झैँ यस वर्ष पनि कतारमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य सहित सोनाम ल्होछार सामूहिक रूपमा मनाउन लागेका हुन्। विदेशी भूमिमा रहेर पनि आफ्नो सांस्कृतिक पहिचान लाई जीवित राख्नु, नयाँ पुस्तालाई मौलिक संस्कृति सँग जोड्नु तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र एकता मजबुत बनाउनु नै कार्यक्रमको मूल उद्देश्य रहेको आयोजक संस्थाले स्पष्ट पारेको छ।
कार्यक्रमलाई अझ आकर्षक र स्मरणीय बनाउन नेपालबाट ख्याति प्राप्त कलाकारहरू को विशेष सांगीतिक प्रस्तुति रहनेछ। चर्चित सेलो गायक तथा संगीतकार विश्व दोङ र लोकप्रिय म्हेंदोमाया गायिका मिना लामा विशेष सांगीतिक प्रस्तुति दिन कतार आउने निश्चित भएको छ। उनीहरूका साथै स्थानीय कलाकारहरूको प्रस्तुति, मौलिक तामाङ सांस्कृतिक नृत्य, भेषभूषा तथा परम्परागत कार्यक्रमहरूले दर्शकलाई तामाङ संस्कृतिको जीवन्त अनुभूति गराउने अपेक्षा गरिएको छ। आयोजक संस्थाका महासचिव रामबहादुर पाख्रीन तामाङका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मञ्च व्यवस्थापन, कलाकार समन्वय, अतिथि स्वागत, यातायात तथा सुरक्षा व्यवस्थापनलगायत सबै पक्षलाई व्यवस्थित रूपमा अघि बढाइएको उनले जानकारी दिए। उनले कतारमा रहेका तामाङ समुदायका साथै गैर–तामाङ समुदाय, विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, विभिन्न तह र तप्काका प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तक सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।
प्रवेशका लागि न्यूनतम स-शुल्कसहित आयोजना हुने उक्त कार्यक्रममा विहान ११ बजेदेखि कार्यक्रम स्थलको गेट खुला रहने छ। भिक्टोरिया गोल्ड एण्ड डायमण्ड मुख्य प्रायोजक रहेको कार्यक्रममा सहभागी हुन सहज होस्, भन्ने उद्देश्यले कतारका विभिन्न स्थानहरू बाट यातायातको सुविधा उपलब्ध गराइनेछ। यातायात सम्बन्धी जानकारी तथा समन्वयका लागि यातायात संयोजक बुद्ध तामाङ सँग सम्पर्क गर्न सकिने जानकारी कार्यक्रम संयोजक दिलकुमार तामाङले दिएका छन्।
सन् २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति, कतार कतारमा कार्यरत तामाङ समुदायको एक अग्रणी सामाजिक तथा सांस्कृतिक संस्थाका रूपमा परिचित छ। संस्थाले तामाङ समुदायको सामाजिक हित, सांस्कृतिक संरक्षण, आपसी सहयोग र एकताका लागि निरन्तर क्रियाशील रहँदै आएको छ। संस्थाले कतारमा स्थापित अन्य नेपाली संघ–संस्था सँग समन्वय र सहकार्य गर्दै विविध सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।उक्त वृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन, समाजका अध्यक्ष फुर्वा तामाङले दोहावासी तामाङ समुदाय सहित कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू लाई हार्दिक अनुरोध गरेका छन्। उनले सोनाम ल्होछार केवल एउटा पर्व मात्र नभई तामाङ समुदायको पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको साझा उत्सव भएकाले सबैको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउने विश्वास व्यक्त गरेका छन्।
