आइतवार, बैशाख २७, २०८३ | May 10, 2026

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

  • Naveen Sanchar

  • बिहिबार, माघ १६, २०८२

  • 238
    Views
राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

ललितपुर, १५ माघ

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा शुक्रबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ ।

त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसै गरी स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलार्ई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार प्रसिद्ध लोक गायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ । उक्त पुरस्कार तथा सम्मान आगामि फाल्गुन ४ गते काठमाडौँको प्रदर्शनीमार्गमा अवस्थित पर्याटन बोर्डको प्रेक्षालयमा एक विशेष कार्यक्रमका बीच अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

स्मरण रहोस्, प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १७ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha