
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा यही मिति २०८० कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको अकल्पनीय एवं दुःखद निधनले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) परिवार स्तब्ध एवं मर्माहत भएको जनाएको छ । उहाँको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको हामीले महसुश सिबिफिनले महसुस गरेको छं ।
कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएको छ । भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरकोरुपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याउनु भएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको छ ।
‘नेपालको बैंकिङ क्षेत्रमा उहाँले पु-याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरु हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन् ।’- सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।यस दुःखद घडिमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति सिबिफिनले गहिरो समवेदना व्यक्त गरेको छ ।